जनता टाइम्स

२२ भाद्र २०८२, आईतवार १०:१६

राजनीतिक परिवर्तनपछि भएका उपलब्धिमा निजामती सेवाको महत्त्वपूर्ण योगदान : भगवती न्यौपाने 


काठमाडौं, भदौ २२ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीलाई देश विकास र समृद्धिको मेरुदण्डका रूपमा व्याख्या गर्नुभएको छ।

आइतबार काठमाडौंमा आयोजित निजामती सेवा दिवस–२०८२ को मूल समारोहलाई सम्बोधन गर्दै उहाँले राजनीतिक परिवर्तनपछि भएका उपलब्धिमा निजामती सेवाको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो। मन्त्री न्यौपानेले राजनीतिक परिवर्तनका क्रममा हासिल भएका सफलताहरू कर्मचारीहरूको साथबिनाको सम्भव नहुने स्पष्ट पार्नुभयो। ‘संसारका विकसित मुलुकहरूको स्तरमा पुग्ने सम्भावना हाम्रो देशमा छ, हामीले गरेका राजनीतिक परिवर्तनका उपलब्धि कर्मचारीहरूको साथबिना सम्भव हुने थिएन, त्यसैले अब थप उपलब्धि हासिल गर्न निजामती सेवाको भूमिका अझ आवश्यक छ’, उहाँले भन्नुभयो ।

कर्मचारीलाई प्रोत्साहन र कार्यक्षमता अभिवृद्धिका लागि प्रणालीमा सुधार आवश्यक रहेको बताउँदै उहाँले सरुवाको विद्यमान प्रक्रियामा परिवर्तनको आवश्यकता औँल्याउनुभयो। अब निवेदन र व्यक्तिगत सिफारिसका भरमा होइन, अनलाइन प्रणाली र चक्रीय आधारमा कर्मचारी सरुवा हुने व्यवस्था विकास गर्नुपर्ने उहाँको धारणा छ । ‘कर्मचारीले सरुवा गरिदिनुपर्‍यो, मलाई यहाँबाट त्यहाँ पुर्‍याइदिनु पर्‍यो भन्ने भीड अन्त्य गर्नुपर्छ, भौतिक रूपमा सिफारिस लिएर धाउने संस्कृतिलाई अन्त्य गर्दै स्वतः प्रणालीमार्फत सरुवा हुने व्यवस्था मिलाउनुपर्छ’,  मन्त्री न्यौपानेले भन्नुभयो ।

उहाँले सार्वजनिक सेवामा जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो। जनताको सेवामुखी प्रशासन नै सुशासन र समृद्धिको आधार हुने उल्लेख गर्दै उहाँले निजामती सेवामा प्रविधिमैत्री सुधार आवश्यक रहेको बताउनुभयो ।