जनता टाइम्स

२२ भाद्र २०८२, आईतवार १५:४३

अहिलेको पुस्ता स्वाभिमान, कानुन र राष्ट्रियता बुझ्न सक्षम छ : केपी ओली 


काठमाडौं, भदौ २२ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको पुस्ता देशको स्वाभिमान, कानुन र राष्ट्रियता बुझ्न सक्षम रहेको बताउनुभएको छ ।

ललितपुर, गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनमा समूहगत छलफलको प्रस्तुतीकरणपछि आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जाल नियन्त्रणको विषयमा स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले सामाजिक सञ्जाल बन्द गर्न खोजेको होइन, दर्ता मात्र गराउन भनेका हौँ।’

अध्यक्ष ओलीले गत एक वर्षदेखि निरन्तर ताकेता गर्दा पनि दर्ता नगरेकाले अहिलेको अवस्था आएको बताउनुभयो । उहाँका अनुसार सामाजिक सञ्जालको दुरुपयोग रोक्न आवश्यक सावधानी अपनाउनु जरुरी छ । उहाँले भन्नुभयो, ‘जेन जी पुस्तालाई दुरुपयोग गर्न सकिन्छ, त्यसप्रति सचेत हुनुपर्छ ।’

अध्यक्ष ओलीले हालको पुस्ताले मुलुकका प्रमुख मूल्य र मान्यताप्रति सजगता देखाउन थालेको भन्दै त्यसलाई सकारात्मक रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

जेनेरेसन जेड’ भनेर चिनिने नयाँ पुस्ताले भोलि थापाथलीस्थित माइतीघरमा विरोध कार्यक्रम गर्दै छ । सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेपछि भर्चुअल दुनियाँमा रमाइरहेका उनीहरूले भोलि भौतिक रूपमै आन्दोलन गर्न लागेका हुन् । सोही सन्दर्भमा ओलीको यो धारणा आएको हो ।