ललितपुर, भदौ २२ । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद (जबज) को जगमा नेपाली विशेषताको समाजवाद स्थापित गर्न सकिने बताउनुभएको छ ।
पार्टीको दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आइतबार अध्यक्ष तथा प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै नेपाली विशेषताको समाजवादका विषयमा प्रष्ट पार्नुभएको हो । अध्यक्ष ओलीले नेपाली विशेषताको समाजवादलाई जबजको विकल्प नभई त्यसकै जगमा उभिएको विचारका रूपमा प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाली विशेषताको समाजवाद जबजको जगमा अगाडि बढ्ने भनिएको हो, त्यसका लागि समृद्ध नेपाल, सुखी नेपालीलाई गन्तव्यका रूपमा अघि सारिएको हो, यसको अर्थ मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र जबजलाई छोडेको होइन, सृजनात्मक प्रयोग गरिएको हो ।’
उहाँले समृद्ध नेपालको ‘प्यारामिटर’ सुशासन, सुरक्षा, मानव जातिलाई सम्मान गर्ने परिपाटी, जैविक र मानवीय सहजतालाई सुनिश्चित गर्ने अभ्यास हुने स्पष्ट पार्नुभयो ।
पार्टीले गहिराइमा पुगेर समाजको विश्लेषण र व्याख्या गर्दै समय, परिस्थिति र आवश्यकता अनुसार विचारलाई अद्यावधिक गरेको ओलीले बताउनुभयो । ‘हामीले परिपक्व र मौलिक ढंगले समाजवादी यात्रामा अघि बढ्ने कार्यक्रम अघि सारेका छौँ’, उहाँले भन्नुभयो ।
संविधान निर्माण हुनुअघि नै एमालेले जबजको सिद्धान्त प्रतिपादन गरेर संविधान समाजवाद उन्मुख हुनुपर्छ भनेको उहाँले स्मरण गराउनुभयो । ‘२३ वर्षअघि जबजको सिद्धान्त प्रतिपादन गरेर वर्तमान संविधानलाई निर्देशन गरेका थियौँ, संविधानमा हाम्रो शासन व्यवस्था समाजवाद उन्मुख हुन्छ भन्ने कुरा हामीले लेखेका हौँ’, उहाँले भन्नुभयो ।
संविधान संशोधनसम्बन्धी प्रसङ्गमा अध्यक्ष ओलीले आवश्यक परे संशोधन गर्ने पार्टीको अडान दोहोर्याउनुभयो । उहाँले भन्नुभयो, ‘संविधान संशोधन आवश्यक भएकाले संशोधन गर्छौँ भनिसकेका छौँ । अब छिट्टै एउटा विज्ञ समूह बनाएर संशोधनको खाका तय गर्छौँ । यो समय विकास क्रमको अद्यावधिक हो । पहिले जस्तो हुँदैन, अबको संविधान जनताको हितमा केन्द्रित हुनेछ ।’














प्रतिक्रिया दिनुहोस्