जनता टाइम्स

२२ भाद्र २०८२, आईतवार २१:२०

संविधान संशाेधनमा एमालेकाे प्रतिवद्धता 


ललितपुर, भदौ २२ । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनले संविधान संशोधनकाे प्रतिवद्धता दाेहाेर्याएकाे छ ।

आइतबार ललितपुरको गोदावरीमा सम्पन्न महाधिवेशनले पास गरेको प्रस्तावमा अहिलेको संविधानको सबल र दुर्बल पक्षको गहन समीक्षा गरी राजनीतिक स्थायित्वका लागि आवश्यक संशोधन गर्ने प्रतिवद्धता दोहोर्याइएको हाे। वर्तमान सरकार गठनपूर्व नेकपा (एमाले) र नेपाली कांग्रेसबीच भएको ७ बुँदे सहमतिअनुरूप संविधानमा सुधार र संशोधन गर्ने अडानलाई महाधिवेशनले पुनः पुष्टि गरेको हो।

संविधान संशोधनको सन्दर्भमा हालै राष्ट्रिय बहस चलिरहेको अवस्थालाई ध्यानमा राख्दै एमालेले आफू त्यसमा अग्रसर रहने स्पष्ट संकेत गरेको छ।  प्रस्तावमा भनिएकाे छ, ‘ संविधान संशोधनका सन्दर्भमा राष्ट्रिय बहस चलिरहेको छ, तसर्थ हाम्रो पार्टी उपरोक्त प्रतिवबद्धताअनुरूप संविधानको समीक्षा र संशोधनका कामहरू तत्काल थालनी गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछ साथै, यस काममा सकारात्मक सहयोगका लागि सबै राजनीतिक दल तथा आम जनसमुदायलाई हार्दिक आह्वान गर्दछ ।’