जनता टाइम्स

२३ भाद्र २०८२, सोमबार १३:०३

जेन-जी आन्दोलन हिंसात्मक बनेसँगै काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी


काठमाडौं, भदौ २३ । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ। जेनजीको नाममा भएको आन्दोलन हिंसात्मक बनेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू लगाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले कर्फ्यू आदेश जारी गर्नुभएको हो । जेनजीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन्। केही प्रदर्शनकारीहरू नयाँ बानेश्वरको संघीय संसद भवन परिसरभित्र छिरेका थिए। प्रहरीले भिड तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो। त्यसअघि प्रहरीले प्रदर्शनकारीलाई लक्ष्य गरी पानीका फोहरा प्रहार गरेको थियो।

कर्फ्यू लगाउनुअघि प्रजिअ रिजालले गृहमन्त्री रमेश लेखकसँग परामर्श गर्नुभएको थियो । गृहमन्त्री लेखक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरीसम्बन्धी विधेयक छलफलमा हुनुहुन्थ्यो ।

सोही छलफलमा भाग लिइरहेका गृहमन्त्री लेखकसँग प्रजिअ रिजालले कर्फ्यू लगाउनेबारे परामर्श गर्नुभएको हो । सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजेसम्मलाई कर्फ्यू आदेश जारी भएको हो।

बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म कर्फ्यू आदेश जारी भएको हो। त्यस्तै बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यू आदेश जारी भएको छ।