जनता टाइम्स

२३ भाद्र २०८२, सोमबार १३:४०

एमाले विधान महाधिवेशनको सन्देश: गुटबन्दी बाई-बाई, मिसन ८४ हाई-हाई


पूर्वराष्ट्रपति विद्या भण्डारीलाई उच्च सम्मान दिने, गणतन्त्रको गौरवको रूपमा बरव्यवहार गर्ने तर राजनीतिको धुलो-मैलोमा होमिएर विवादित बन्न नदिने पार्टी केन्द्रिय कमिटीको निर्णयलाई विधान महाधिवेशनका प्रतिनिधिले समर्थन गरेको सन्दर्भमा उहाँको नेतृत्वमा कुनै समूहबन्दी अब एमालेमा संभव छैन। उल्लिखित कवितामा भनिएझैं बाहिरबाट आजै जन्म्यो, भोलि हलक्क हुर्कन्छ भन्ने जति डङ्का पिटाए पनि एमालेमा तत्काल गुटबन्दीको कुनै पाठो जन्मनेवाला छैन । बरू एमालेमा हाल विकसित अभूतपूर्व एकता मिसन ८४को लागि कोसेढुङगा बन्ने कुरामा कुनै दुइमत छैन।

निर्मल भट्टराई

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृध्द नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारामा आयोजित नेपाल कम्युनिष्ट पार्टी(एमाले)को दोस्रो विधान महाधिवेशन सबै विषयमा अर्ग्यानिक सहमतिका साथ सम्पन्न भएको छ । पार्टी आध्यक्ष के पी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्ताव र महासविव शंकर पोखरेलले प्रस्तुत गर्नु भएको संगठनात्मक प्रस्ताव महाधिवेशनका सबै प्रतिनिधिहरूले करतल ध्वनिका साथ सहमति जनाएका छन् ।

नेकपा(एमाले)मा व्यापक गुटबन्दी छ, हानाहान र मारामार छ, नेतृत्वपुञ्जमै ठूलो समूहबन्दी छ भन्नेजस्ता प्रायोजित हल्लाका बीच सम्पन्न महाधिवेशनले पार्टीभित्र र बाहिर विद्यमान विभिन्न खाले शंसय, अफवाह र जिज्ञाशाहरूको एकमुष्ट जवाफ दिएको छ । वर्तमान नेपाली समाजको वर्ग विश्लेषण, मार्क्सवाद-लेनिनवाद र जबजको जगमा नेपाली विशेषताको समाजवाद, उच्च नैतिक आचरण,चेतना र इमान्दारीले लैस नेतृत्चपुञ्जको निर्माणको प्रतिबध्दता, तीस लाखभन्दा बढी जनसङ्ख्या भएको काठमाण्डौ उपत्यकाको पार्टी काम उठाउने वैधानिक प्रबन्ध यो विधान महाधिवेशनका महत्वपूर्ण उपलब्धि हुन् ।

देशको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिमा पदासीन भइसकेको व्यक्ति नेकपा(एमाले) को सक्रिय राजनीतिमा फर्कन नसक्ने ऐतिहासिक नीतिगत फैसला साउनमा सम्पन्न पार्टीको नवौं पूर्ण बैठकले गरेको थियो। यही निर्णयको कार्यान्वयनस्वरूप पार्टीबाट निर्वाचित पूर्व राष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता निस्क्रिय पारेको थियो ।  यो विषयलाई पार्टीभित्र कम र पार्टीबाहिर बढी विवादमा तानिएको थियो। पार्टीमा गुटबन्दीको हौवा पिटिएको थियो । पार्टी नेतृत्वमाथि अन्तरपार्टी लोकतन्त्रलाई नियन्त्रण गर्न खोजेको आरोप लगाइँदै थियो । तर नेतृत्व र नीतिप्रति पार्टीको गोदावरी महाधिवेशनले देखाएको अगाध समर्थनले नेपालको कम्युनिष्ट आन्दोलनलाई थप उर्जा प्रदान गरेको छ।

ज्ञातव्य छ, नेकपा(एमाले) भयानक गुटबन्दी, भित्री र बाहिरी घातक आक्रमण र अराजकतासँग पौंठेजोरी खेल्दै र परास्त गर्दै आएको पार्टी हो । अहिले पनि पार्टीको सही नीति र टावरिङ लिडरसीपविरूध्द निरन्तर आक्रमण भइरहेको छ । सही निष्कर्षमा पुग्नु अघि एक जीवन्त पार्टीभित्र हुने बहस र मत मतान्तरलाई पार्टी विभाजन हुने बेलाको गुटबन्दी भनेर चित्रित गर्ने र त्यसलाई बाहिरबाट मलजल गर्ने भगिरथ प्रयास जारी छ । वास्तवमा एमालेभित्र देखाउन खोजिएको ‘गुटबन्दी’ को अवस्था भने एक अमेरिकी कवि विलियम स्टाफोर्डको ‘अँध्यारोको यात्रा’मा उल्लेख भएको गर्भिणी मृगिणीको जस्तैमात्र छ । अमेरिकन कवि स्टाफोर्डको कविता ‘अँध्यारोको यात्रा’को भावानुवाद यसप्रकार छ।

                  अँध्यारोको यात्रा

 

अँध्यारोमा यात्रा गर्दैगर्दा मैले विल्सन नदी किनाराको बाटोमा

एउटा मरेका मृग भेटाएँ ।

बाटो साघुँरो भएकोले, गाडी घुमाउँदा दुर्घटना हुने भएकोले

त्यस्ता बस्तुलाई खोंचतिर पल्टाइदिनु उत्तम हुन्छ ।

 

गाडीको पछाडिको प्रकाशको सहायताले गाडी पछाडि गएँ,

र, भर्खरै मारिएको मृगिणीको थुप्रो नजिक उभिएँ।

मृगको शरीर अररो भएको थियो, पुरै चिसो भइसकेको थियो,

मैले त्यसको मृत शरीर छेउतिर तानें,मृगिणी गर्भिणी थिई।

 जब मैले मृगिणीको पेटको छेउतिर छोए तव पत्ता लाग्यो,

उसको पेट न्यानो थियो, गर्भमा पाठो जीवितै थियो,

जन्माइको पर्खाइमा थियो, तर कहिल्यै जन्मन सक्दैनथ्यो,

पहाडको छेउमा म हिच्किचाऐँ।

 अगाडि जान ठिक्क परेको मेरो गाडीको इन्जिन

एकोहोरो चलिरहेको थियो ।

म गाडीको तापले रातो भएको इक्जस्ट पाइपको प्रकाशमा उभिएँ।

हाम्रो समूहका साथीहरू कतै लडरहेको सुन्न सक्थें।

मैले सबैका लागि गम्भिर भएर सोचें,

मैलेमात्र जोगाउन खोजेर के हुन्छ ?

मैले त्यो मृत मृगिणीलाई नजिकैको नदीमा फालि दिएँ ।

पूर्वराष्ट्रपति विद्या भण्डारीलाई उच्च सम्मान दिने, गणतन्त्रको गौरवको रूपमा बरव्यवहार गर्ने तर राजनीतिको धुलो-मैलोमा होमिएर विवादित बन्न नदिने पार्टी केन्द्रिय कमिटीको निर्णयलाई विधान महाधिवेशनका प्रतिनिधिले समर्थन गरेको सन्दर्भमा उहाँको नेतृत्वमा कुनै समूहबन्दी अब एमालेमा संभव छैन। उल्लिखित कवितामा भनिएझैं बाहिरबाट आजै जन्म्यो, भोलि हलक्क हुर्कन्छ भन्ने जति डङ्का पिटाए पनि एमालेमा तत्काल गुटबन्दीको कुनै पाठो जन्मनेवाला छैन । बरू एमालेमा हाल विकसित अभूतपूर्व एकता मिसन ८४को लागि कोसेढुङगा बन्ने कुरामा कुनै दुइमत छैन।