जनता टाइम्स

२३ भाद्र २०८२, सोमबार १५:४८

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साँझ ६ बजे बैठक बस्दै  


काठमाडौं, भदौ २३  । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध देशभर भड्किएको जेन-जी आन्दोलनका विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ। साँझ ६ बजेपछि बालुवाटारमा बस्ने गरी बैठक तय भएको हो।

सरकारको निर्णयविरुद्ध आज दिनभर देशभरका युवा सडकमा उत्रिएका छन्। सामाजिक सञ्जालमार्फत सक्रिय रहने ‘जेन जी’ पुस्ताको नेतृत्वमा भएको प्रदर्शनमा ठुलो सङ्ख्यामा युवा सहभागी भएका छन्। प्रदर्शन हिंसात्मक बन्दा काठमाडाैंमा केही युवाको ज्यान गएको छ ।

बैठकमा आजको आन्दोलनको प्रभाव, विपक्षी दलको दबाब र समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

नेपाली कांग्रेसले पनि सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिन सरकारमाथि दबाब बढाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई निर्णय पुनरावलोकन गर्न आग्रह गर्नुभएको छ ।

यसअघि दिनभर काठमाडौं उपत्यकासहित विभिन्न सहरमा भएको प्रदर्शनलाई प्रहरीले नियन्त्रणमा लिन प्रयास गरे पनि ठुलो सङ्ख्यामा युवाहरू निरन्तर सडकमा रहँदै सरकारको निर्णय फिर्ता गर्न माग गरिरहेका छन्। उनीहरूले ठाउँ ठाउँमा तोडफोड र आगजनी गरेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ ।