जनता टाइम्स

३ मंसिर २०७६, मंगलवार २०:५४

मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन : मन्त्री हेरफेर हुन्छन, कार्वाही गरेर हटाएको नठान्नोस


काठमाडौं, मंसिर ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरू हेरफेर हुने जानकारी गराउनु भएका छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर गर्न लागेको जानकारी दिनुभएको हो ।

‘प्रधानमन्त्रीले मन्त्रीपरिषद पुनर्गठन गर्ने निर्णय सुनाउनु भएको छ, मिति नै चाँहि तोक्नु भएको छैन,’ बैठकपछि एक मन्त्रीले जनताटाइम्ससँग भने, ‘मन्त्रिपरिषद पुनर्गठन निश्चित भयो, भोलि पनि हुन सक्छ, एक दुई दिन पछि पनि हुनसक्छ ।’ ती मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले पार्टीमा सवैलाई मिलाउनका लागि मन्त्रिपरिषद पुनर्गठन गर्नै जानकारी गराउँदै कार्वाही स्वरुप हटाएको रुपमा नबुझ्न र जो हटे पनि सहज रुपमा लिन निर्देशन समेत दिनुभएको छ ।

‘कुनै पनि मन्त्रीलाई कार्वाही गरेर हटाउन लागिएको होइन, अहिलेको आवश्यकताअनुसार काममा थप गति दिनसक्ने र नयाँलाई पनि प्राथमिकतामा राख्नुपरेकोले हेरफेर गर्न लागिएको हो,’ बैठकमा प्रधानमन्त्री ओलीको भनाई थियो । बैठकमा प्रधानमन्त्री ओलीले कुन कुन मन्त्री हट्दैछन भन्ने बिषयमा समेत छलफलपछि टुंगो लगाउने बताएर कुनै जानकारी दिनुभएन ।

नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँगको परामर्शपछि मन्त्रिपरिषद पुनर्गठनको निर्णय लिनुहुनेछ । दुई अध्यक्षबीच आज पनि छलफल भएको छ । सो छलफलपछि पुनर्गठनअघि नेताहरुको सुझाव लिन बुधवार बिहान ९ बजे नेकपाको सचिवालय बैठक बोलाइएको छ । दुई अध्यक्षबीच यसअघि नै पहिलो चरणमा हटाउने पाँच जना मन्त्रीको नाममा सहमति भइसकेको छ भने हाल ९ जनासम्म हेरफेर गर्ने गरी छलफल अघि बढेको छ ।

नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि आज आयोजित एक कार्यक्रममा भोलिसम्ममा मन्त्रिपरिषद पुनर्गठनको टुंगो लगाउने घोषणा गर्नुभएको थियो । ‘तपाईहरुले सुन्नु भएकै छ, यहाँ धेरै र्यूमर (मन्त्री फेरिने) चलेको छ, यो र्यूमरको आज भोलि नै हामीले अन्त्य गर्नुछ । त्यसको लागि आज हामी मिहिन छलफल गरी निकाश दिनेछौं,’ अध्यक्ष प्रचण्डको भनाई थियो ।