जनता टाइम्स

२४ भाद्र २०८२, मंगलवार १०:४७

प्रधानमन्त्रीले दमनको जिम्मा लिएर राजीनामा दिनुपर्छ, कांग्रेस तत्काल सरकारबाट फिर्ता हुनुपर्छ : गगन थापा 


काठमाडौं, भदौ २४ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हिजाेकाे प्रदर्शनमा भएको दमन र निर्दोष युवाको मृत्युका घटनाप्रति आक्रोश व्यक्त गर्दै प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिनुपर्ने माग गर्नुभएको छ ।

मंगलबार बिहान फेसबुकमार्फत विचार व्यक्त गर्दै उहाँले देश शोकाकुल बनेको अवस्थामा कांग्रेस सरकारमा बसिरहन नसक्ने बताउनुभएकाे छ । ‘रातभर सुत्न सकिन, म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन, अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ,’ उहाँले लेख्नुभएको छ ।

उहाँले प्रधानमन्त्रीले दमनको पूर्ण जिम्मेवारी लिएर तत्काल पद त्याग गर्नुपर्ने उल्लेख गर्नुभएको छ । ‘प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ,’ स्टाटसमा भनिएको छ ।

थापाले नेपाली कांग्रेस सरकारमा निरन्तर बसिरहन नसक्ने चेतावनी दिनुभएको छ । ‘अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन, नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ,’ उहाँको भनाइ छ ।

महामन्त्री थापाले पार्टीभित्र तत्काल बैठक बोलाउन र कांग्रेसलाई सरकारबाट फिर्ता गराउने निर्णय गराउन पहल गर्ने बताउनुभएको छ ।