जनता टाइम्स

२४ भाद्र २०८२, मंगलवार १२:२६

रास्वपाका सांसदद्वारा सामाजिक सञ्जाल मार्फत धमाधम राजीनामाको घोषणा  


काठमाडौं, भदौ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सामाजिक सञ्जालमार्फत धमाधम राजीनामा दिने घोषणा गरेका छन्।

मङ्गलवार बिहान सार्वजनिक भएका स्टाटसमा सांसदहरूले हालको ‘अपराधी र संवेदनहीन सरकार’को कटपुतली बनेको संसद्मा बस्न नसक्ने भन्दै उनीहरुले पदत्याग गर्ने घोषणा गरेका हुन् । जेनजी आन्दाेलन चर्किएपछि साेही आन्दाेलनलाई समर्थन जनाउँदै उनीहरुले राजीनामा दिएकाे बताएका छन् ।

रास्वपाकी सांसद तोसिमा कार्कीले फेसबुकमार्फत राजीनामा घोषणा गर्दै लेख्नुभएको छ, ‘आज भदौ २४ गते बिहान ११:५५ बजेदेखि यो अपराधि र संवेदनाहिन सरकारको कटपुतली बनेको संसदको जिम्मेवारीबाट हट्ने र २०७९ को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु।’

उहाँले संसद्को काम सरकारलाई जवाफदेही बनाउनुपर्ने भए पनि अहिले संसद् ‘नरसंहारकारी सरकारले दिने बिजनेस मात्र सम्हाल्ने स्थानमा’ परिणत भएको आरोप लगाउनुभएको छ । ‘यस्तो संसद्मा सदस्य भएर बस्न मेरो नैतिकताले दिएन, त्यसैले पदबाट राजीनामा दिएको हुँ,’ उहाँले भन्नुभएको छ ।

त्यस्तै, सांसद सुमना श्रेष्ठले पनि सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गर्दै जेनजी आन्दोलनप्रति समर्थन जनाउनुभएको छ । उहाँले आन्दोलनरत युवालाई ‘सर्वदलीय जस्ता भ्रममा नपरी आफ्नै नेतृत्व दाबी गर्न’ आग्रह गर्नुभएको छ ।

रास्वपाका अर्का सांसद असिम शाहले पनि सांसद पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।

सांसदहरूले एकपछि अर्को गर्दै सामाजिक सञ्जालमार्फत राजीनामा सार्वजनिक गर्न थालेपछि मुलुकको राजनीतिक तरंग थप चर्किने अनुमान गरिएको छ । जेनजी आन्दोलनको माग र त्यसप्रति देखिएको राजनीतिक समर्थनलाई आगामी दिनमा संसद् र सरकारले कसरी सामना गर्ने भन्ने विषयमा जिज्ञासा बढेको छ । रास्वपाका सबै सांसदहरुले सामुहिक राजीनामा दिने तयारी गरिरहेका बुझिएकाे छ ।