काठमाडौं, भदौ २४ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार भएको घटनाले मर्माहत बनेको भन्दै सबै मिलेर हालको तनाव कम गर्न अपिल गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले आज विज्ञप्ति जारी गर्दै यस्तो अपिल गर्नुभएको हो ।
‘नवपुस्ताको भावना र मर्मलाई हामी सबैले गम्भीरतापूर्वक आत्मसात् गर्न आवश्यक छ भन्ने मेरो दृढ विश्वास रहेको छ । तसर्थ नेपाल सरकार, जिम्मेवार राजनीतिक दलहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई आन्दोलनरत युवाले अघि सारेका जायज मागप्रति संवेदनशील भई यथाशीघ्र वार्ता र संवादमार्फत समस्याका दियो समाधान खोज्न हार्दिक आह्वान गर्दछु,’ पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ ।
उहाँले युवाको मन जित्ने काम गर्न पनि अपिल गर्नुभएको छ । ‘सरकार, सुरक्षा निकाय, राजनीतिक दल र नागरिक समाज सबैलाई मिलेर हालको तनावलाई संवेदनशील ढङ्गले समाधान गर्न र युवा पुस्ताको विश्वास जित्ने कदम चाल्न आग्रह गर्दछु,’ पूर्वराष्ट्रपति भण्डारीले विज्ञप्तिमा भन्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्