काठमाडौं, भदौ २४ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिनु भएको छ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको निर्देशनमा उहाँले राजीनामा दिनुभएकाे हाे ।
राजीनामा सन्देशमा मुख्यमन्त्री सिंहले देशभर ‘जेन–जी’ पुस्ताले गरेको आन्दोलनको क्रममा प्रदर्शनकारीको ज्यान जानु आफ्ना लागि असह्य पीडा र गहिरो दुःखको विषय बनेको उल्लेख गर्नुभएको छ। उहाँले दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।
उहाँले भन्नुभएको छ, ‘जनताको विश्वास र मतबाट निर्वाचित भएर जनप्रतिनिधि बन्नु मेरो जीवनकै ठूलो गौरव हो, तर नागरिकको जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ, नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु।’
सिंहले संविधानले प्रत्येक नागरिकलाई प्रदान गरेको शान्तिपूर्ण आन्दोलनको अधिकारलाई सम्मान गर्दै समस्या समाधानको एकमात्र मार्ग संवाद, आपसी समझदारी र सहकार्य भएकोमा आफ्नो दृढ विश्वास कायम रहेको उल्लेख गर्नुभएको छ।
उहाँले मुख्यमन्त्री रहँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग र साथ दिने सम्पूर्णमा हृदयदेखि आभार व्यक्त गर्नुभएको छ। साथै, यो महत्वपूर्ण जिम्मेवारी बहन गर्ने अवसर प्रदान गर्नु भएकोमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र पार्टीका सबै समिति, नेता तथा कार्यकर्ताप्रति कृतज्ञता प्रकट गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्