जनता टाइम्स

२४ भाद्र २०८२, मंगलवार २१:५५

नेपाली सेना मंगलबार राति १० बजेदेखि तैनाथ


काठमाडौं, भदौ २४। आन्दोलनका नाममा भइरहेको लुटपाट र आगजनी नियन्त्रण गर्न नेपाली सेना परिचालित भएको छ । आज मंगलबार राति १० बजेदेखि सेनाको तैनाथी सुरु भएकाे नेपाली सेनाले एक विज्ञप्तिमार्फत जनाएको छ।

हालको विषम परिस्थितिको फाइदा उठाउँदै केही समूहहरूले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा ठुलो क्षति पुर्‍याउने कार्य गरिरहेको भन्दै सेनाले आम नागरिकलाई संयमित रहन आग्रह गरेको छ।

‘देशभरका विभिन्न क्षेत्रमा भइरहेको असामान्य गतिविधि रोक्न र जनधनको क्षति हुन नदिन नेपाली सेना अन्य सुरक्षा निकायसँग सहकार्य गर्दै आज राति १० बजेदेखि तैनाथ हुनेछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्ता गतिविधि नियन्त्रण नभएसम्म नेपाली सेना र सम्पूर्ण सुरक्षा संयन्त्र सक्रिय रूपमा खटिने जनाइएको छ।