जनता टाइम्स

२५ भाद्र २०८२, बुधबार ११:४७

नेपाली सेनाको अपिल : देशभर निषेधाज्ञा र कर्फ्यु जारी, शान्ति सुरक्षा कायम राख्न आग्रह


काठमाडौं, भदौ २५ । नेपाली सेनाले हालको विषम परिस्थितिमा मुलुकमा शान्ति र सुरक्षा कायम राख्न सर्वसाधारणमा अपिल जारी गरेको छ। सेनाले देशभर निषेधाज्ञा र कर्फ्यु जारी रहेको जानकारी दिएको छ।

सेनाले भदौ बुधबार जारी गरेको अपिलमा आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणमा सबैको सहकार्यको आग्रह गरिएको छ। आन्दोलनको नाममा अझै पनि केही अराजक व्यक्ति वा समूहले व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी, लुटपाट वा व्यक्ति लक्षित हिंस्रक आक्रमण र बलात्कार प्रयास गर्न सक्ने सम्भावना रहेकोले  निषेधाज्ञा र कर्फ्यु जारी गर्नु परेकाे सेनाले जनाएकाे छ। यसलाई मध्यनजर गर्दै हाल लागु गरिएको निषेधाज्ञा भदौ आज साँझ ५ बजेसम्म कायम रहनेछ भने भदौ त्यस पछि भाेलि बिहान ६ बजेसम्म कर्फ्यु जारी रहने छ। परिस्थितिको मूल्याङ्कन गरेर थप जानकारी समयमै दिइने सेनाले जनाएको छ।

निषेधाज्ञा र कर्फ्यूको समयमा एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरू भने सञ्चालन हुनेछन्।

सेनाले अपिलमा आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी वा व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणलाई दण्डनीय अपराधका रूपमा लिई कडा कारबाही गरिने चेतावनी दिएको छ।

सेनाले नागरिकलाई अफवाहको पछि नलाग्न, आधिकारिक सूचना मात्रै विश्वास गर्न र सम्प्रेषण गर्न अनुरोध गरिएको छ। अपिलमा राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवन सामान्य बनाउन सबैले आफ्नो दायित्व निरन्तरता दिनुपर्नेमा पनि जोड दिएको छ।