काठमाडौं, मंसिर ४
मन्त्रिपरिषद्का सदस्य हेरफेरका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल विहानैबाट छलफलमा जुट्नु भएको छ ।
केही सदस्यका नाममा परामर्श गर्न अध्यक्षद्वय छलफलमा जुट्नु भएको हो । अहिलेसम्म सरकारले समृद्ध नेपाल र सुखी नेपालीको आधारका रुपमा काम गरेर र अब तिव्र गतिमा अगाडी बढ्ने योजना छ । जस अनुसार काम गर्न सक्ने मन्त्रीको छनौटमा दुई अध्यक्ष लागेको नेताहरुले जानकारी दिनुभएको छ । दुई अध्यक्षबीच छलफल सकिएपछि आजै मध्यान्ह साढे १२ बजे सचिवालय बैठक बोलाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रीहरुको नामका विषयमा छलफल र निर्णय हुने बताइएको छ । सचिवालय बैठक लगत्तै नयाँ मन्त्री नियुक्त हुनेछ । स्रोतका अनुसार सकेसम्म आजै अपरान्ह नयाँ मन्त्रीहरुको सपथ गराउने तयारी भईरहेको छ । अपरान्ह ४ बजे सपथ गराउने तयारी भईरहेको बुझिएको छ ।
प्रधानमन्त्री ओलीले हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरु हेरफेरको विषयमा जानकारी गराउनु भएको थियो । उहाले अहिलेसम्म सहयोग गरेकोमा सबैलाई एकमुष्ट रुपमा धन्यावाद समेत दिनुभएको थियो । अन्यथा नसोच्न आग्रह गर्दै पार्टी स्थायी र पद अस्थायी भएकाले अब पनि पार्टीको काममा लाग्न निर्देशन समेत दिनुभयो । स्रोतका अनुसार केही मन्त्रीको कार्यविभाजनमा हेरफेर समेत हुन सक्नेछ ।
मन्त्रिपरिषद् हेरफेरका विषयमा प्रधानमन्त्री ओली दलका शिर्ष नेताहरुसँग पनि औपचारिक र अनौपचारिक रुपमा छलफल गर्दै आउनु भएको छ । प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा २०७४ फागुन ३ मा सरकार गठन गर्नुभएको थियो । त्यसयता उहाले २०७५ जेठमा तत्कालीन संघीय समाजवादी पार्टी ९हाल समाजवादी० का नेताहरूलाई सरकारमा सहभागी गराउनु भएको थियो ।
त्यसपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि भानुभक्त ढकाल र पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि योगेश भट्टराईलाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्