जनता टाइम्स

२६ भाद्र २०८२, बिहीबार ११:४३

मधेस प्रदेशका विभिन्न कारागारबाट १०५० बढी कैदी-बन्दी भागे  


काठमाडाैं, भदाै २६। मधेस प्रदेशका  विभिन्न  कारागारबाट एक हजारभन्दा बढी कैदी-बन्दी भागेका छन् । काठमाडाैंकाे केन्द्रिय कारागारबाट रास्वपाका सभापति रवि लामिछाने निस्किएपछि देशैभरका कारागारबाट कैदी बन्दीहरू निस्किएर भाग्ने क्रम सुरु भएको छ ।

महोत्तरीको जलेश्वर कारागारमा  रहेका ५ सय ७७ जना कैदी-बन्दीमध्ये ५ सय ७६ जना भागेका छन्। कारागार बाहिर प्रदर्शनकारी र भित्रका कैदीहरूले पर्खाल भत्काएपछि सबै कैदी फरार भएका जिल्ला प्रहरी कार्यालयका डिएसपी हेरम्ब शर्माले बताउनुभएको छ।

सप्तरीको राजविराज कारागारको “बी” ब्लकमा आगजनीपछि २ सय ५ जना कैदी फरार छन्। पर्खालमा प्वाल पारेर भाग्ने प्रयास गरिएको भए पनि तत्कालै नेपाली सेना, सशस्त्र प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोली परिचालन भएपछि ३१ जना फरार कैदी नियन्त्रणमा लिइएका छन्। अन्य कैदीहरूको खोजी जारी छ।

वीरगञ्ज कारागारबाट भाग्ने क्रममा प्रहरीले कारबाही गर्दा चार जना कैदी घाइते भएका छन्। सुरक्षाकर्मीले हवाई फाइरिङ र लाठीचार्ज गरेपछि उनीहरू घाइते भएका हुन्।  घाइतेहरूको नारायणी अस्पतालमा उपचार भइरहेको छ।

राैतहटकाे गौर कारागारमा २ सय ९१ कैदी-बन्दीमध्ये २ सय ६४ जना  भागेका छन्। २७ जना भने कारागारमै बसेका थिए। भागेकामध्ये ३५ जनालाई पुनः नियन्त्रणमा लिइएको र अहिले कारागारमा जम्मा ६२ जना मात्र रहेका कारागार प्रशासनले जनाएको छ ।

सर्लाही कारागारमामा पनि कैदीहरूले भाग्ने प्रयाससहित आगजनी गरेका थिए। तर, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले तत्कालै नियन्त्रणमा लिएपछि ठुलो सङ्ख्यामा कैदी भाग्न पाएनन्।