जनता टाइम्स

२६ भाद्र २०८२, बिहीबार १३:०१

 संयमता र संवैधानिक समाधान खोजौँ :  सुहाङ नेम्वाङ


काठमाडौं, भदाै २६। नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले ‘जेन–जी’ आन्दोलनपछिका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै संवैधानिक प्रक्रियामार्फतै समस्या समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ ।

नेम्वाङले बिहीबार जारी गर्नु भएको अपिलमार्फत उहाँले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सुरु भएको ‘जेन–जी’ पुस्ताको आन्दोलनलाई ऐतिहासिक भन्नु भएको छ। भदौ २३ गते युवाहरूले उच्च जिम्मेवारीबोधसहित सुरु गरेको प्रदर्शन असाधारण र अभूतपूर्व भएको उहाँले स्मरण गर्नु भएको छ ।  सो प्रदर्शनमाथि भएको दमनलाई उहाँले ‘असह्य र अमानवीय’ भन्दै त्यसमा संलग्न दोषीमाथि कानुनी कारबाहीको माग गर्नु भएको छ ।

नेम्वाङले भदौ २४ गते देखिएका लुटपाट, आगजनी र तोडफोडका घटनाप्रति गम्भीर चिन्ता प्रकट गर्नु भएको छ। उहाँका अनुसार ‘जेन–जी’ पुस्ताको आवरणमा भएको त्यो ताण्डवले ऐतिहासिक सम्पदा, दुर्लभ दस्ताबेज, निजी सम्पत्ति र सद्भावपूर्ण सामाजिक मूल्यलाई क्षति पुर्‍याएको उहाँको भनाइ छ। ‘जेन–जी पुस्ताले निर्माण गरेको अनुशासन र आचारसंहिता विपरीत भएको त्यो ताण्डव आन्दोलनकारीका काम थिएन’, उहाँले भन्नु भएको छ ।

नेम्वाङले यस घटनाको उच्चस्तरीय न्यायिक छानबिन हुनुपर्ने बताउँदै आन्दोलनलाई बदनाम गर्ने प्रयासलाई अस्वीकार गर्न ‘जेन–जी’ पुस्ता सचेत रहनुपर्नेमा जोड दिनुभएको छ ।

‘जेन–जी’ प्रतिनिधिहरूसँग राष्ट्रपति र प्रधानसेनापति वार्तामा बसेकोमा  उहाँले संविधानसम्मत र लोकतान्त्रिक विधिमार्फत माग सम्बोधन गर्ने बाटो खोजिनु आवश्यक भएको धारणा राख्नु भएको छ। ‘समाधान संवैधानिक बाटोबाटै, वा आवश्यकताको सिद्धान्त प्रयोग गर्दा पनि संविधानको मर्ममा क्षति नपुग्ने गरी खोजिनुपर्छ,’ उहाँको भनाइ छ।

नेम्वाङले अघिल्लो पुस्ताले अब युवापुस्ताको भावना र शक्ति बुझिसकेको टिप्पणी गर्दै आन्दोलनलाई पुनः संयोजन गरी अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ। ‘अग्रजहरूको सम्मानसहित आम कार्यकर्ताको अपनत्व हुने गरी आन्दोलन पुनर्गठित गरेर अघि बढाउनुपर्छ,’ नेम्वाङकाे धारणा छ ।

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानको रक्षा अब युवाको काँधमा आएको उहाँको भनाइ छ। ‘तपाईँहरूले निर्माण गरेको आदर्श, मूल्य र आचारसंहितामा अडिएर सुन्दर भोलीको निर्माण गर्नुस्’, उहाँले भन्नुभयो ।