काठमाडौं, भदौ २६ । नेपाल पत्रकार महासंघले हाल मुलुकमा उत्पन्न विषम राजनीतिक परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्तिपूर्ण र संविधानसम्मत समाधानको माग गरेको छ। महासंघले जेन–जी युवाहरूको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिले देशलाई संक्रमणकालीन अवस्थामा पुर्याएको छ।
आन्दोलनमा २३ जना युवाहरूले आफ्नो जीवन गुमाएका र धेरै बालबालिका तथा सुरक्षाकर्मी घाइते भएका प्रति महासंघले दु:ख व्यक्त गरेकाे छ। साे त्क्ममा चार जना पत्रकार गोली लागेर घाइते भएका र धेरै मिडिया हाउसमा आगजनी र आक्रमण भएको घटना प्रति महासंघले चिन्ता व्यक्त गरेकाे छ ।
मुलुकमा लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउने उपाय संविधानअनुसार मात्र सम्भव भएकाे महासंघकाे ठहर छ। जेन–जी युवाहरूको मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्नु पर्ने बताउँदै महासंघले भ्रष्टाचार र वेथितिका विरुद्ध उठेको युवाहरूको आवाज दबाउन गरिएको सरकारी दमन निन्दनीय रहेको ठहर गरेकाे छ।
सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायतका सार्वजनिक संरचना र सञ्चार माध्यमका कार्यालयमा आक्रमण र क्षति पुर्याइएको घटनाप्रति महासंघले दुःख व्यक्त गरेको छ। यस्ता क्षतिको असर मुलुकले दीर्घकालसम्म व्यहोर्नु पर्ने महासंघकाे ठहर छ। यसैकारण तत्काल संक्रमणकालीन अवस्थाको अन्त्य गरी शान्तिपूर्ण समाधान निकाल्न राष्ट्रपतिले संविधानअनुसार पहल गर्नुपर्नेमा महासंघको जोड छ।
वार्ता र सहजीकरण प्रक्रिया राष्ट्रपतिमार्फत मात्र हुनुपर्ने पनि महासंघले स्पष्ट पारेकाे छ । यसका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्दै पत्रकार महासंघ लगायत पेशागत सञ्जाल सहजीकरणका लागि तयार रहेको जानकारी दिएको छ। साथै, शान्ति सुरक्षा कायम गर्न सेनाले खेलेको भुमिका सराहनीय रहेको उल्लेख गरिएको छ। ‘सबै राजनीतिक समस्या समाधानको प्रयास राष्ट्रपति कार्यालयबाट हुनुपर्छ ,जंगी अड्डाबाट होइन भन्ने महासंघको ठहर रहेको छ, तर पछिल्लो समय शान्ति सुरक्षा कायम गर्न सेनाले खेलेको भुमिका सराहनीय छ’, महासंघले अपिल गरेकाे छ ।
महासंघले जेन–जी पुस्ताले उठाएका संरचनात्मक सुधारका मागलाई समेटेर लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै थप उपलब्धि हासिल गर्न सबै सरोकारवाला पक्षहरूलाई संयम र संवेदनशील भई जिम्मेवार बन्न अपिल गरेको छ। महासंघकी अध्यक्ष निर्मला शर्माले जारी गर्नु भएको अपिलमा संविधान, लोकतन्त्र र प्रेस स्वतन्त्रताको रक्षा गर्दै मुलुकलाई सहज र सुरक्षित राजनीतिक निकासतर्फ लैजान सबैलाई जिम्मेवारीपूर्ण कदम चाल्न आग्रह गरिएको छ।














प्रतिक्रिया दिनुहोस्