काठमाडौं, भदौ २६। हालैको जेन-जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाबारे प्रमुख युवा संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै मृतक र घाइतेप्रति श्रद्धाञ्जली र समवेदना व्यक्त गरेका छन् ।
आन्दोलनका क्रममा हालसम्म ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते भएका भन्दै उनीहरूले यसलाई ‘हृदय विदारक र निन्दनीय’ घटना भनेका छन् ।
नेपाल तरुण दल, राष्ट्रिय युवा संघ नेपाल, वाईसीएल नेपाल, युवा संघ नेपाल र अखिल नेपाल युवक संघका शीर्ष नेताहरूको हस्ताक्षरमा जारी विज्ञप्तिमा सम्पूर्ण मृतक परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही गर्न आग्रह गरिएको छ ।
विज्ञप्तिमा जेन-जी आन्दोलनले उठाएका भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शितामूलक शासन व्यवस्था, न्याय र जबाफदेहीताका मागहरूलाई समर्थन गरिएको छ । भ्रष्टाचारका मुद्दामा प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी सजाय दिनुपर्ने मागसमेत गरिएको छ । ‘हामी जेन जीले प्रस्तुत गरेका प्रमुख मागहरू भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शितामा आधारित शासन व्यवस्था, न्याय र जबाफदेहिता प्रति समर्थन जनाउँदछौँ र उक्त मागहरूको सम्बोधन लागि पहल गर्दै आएको कुरा स्मरण गराउँदछौँ। भ्रष्टाचारका मामिलामा प्रभावकारी अनुसन्धान र दोषीहरूलाई कानुनी प्रक्रिया मार्फत सजाय दिनुपर्ने कुरामा हाम्रो दृढ समर्थन रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीको राजीनामापछि पनि अवाञ्छित तत्त्वहरूबाट आगजनी, तोडफोड, लुटपाटजस्ता गतिविधि भएको भन्दै ती घटनाको तीव्र निन्दा गरिएको छ । विज्ञप्तिमा यस्तो अवस्थामा समेत नेपाली सेना लगायतका सुरक्षा निकाय मूकदर्शक बनेकोप्रति प्रश्न उठाइएको छ र छानबिनसहित सुरक्षाकर्मीहरूको भूमिकाको पुनरावलोकन गर्न माग गरिएको छ । ‘प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि अवाञ्छित तत्त्वले विध्वंस, आगजनी, तोडफोड, हिंसा र लुटपाटका घटना गराउने काम जारी छ, हामी यी सम्पूर्ण घटनाको पूर्णरूपले निन्दा र भर्त्सना गर्दछौँ, यस स्तरमा सार्वजनिक सम्पत्तिमा आगजनी र क्षति हुँदा समेत नेपाली सेना लगायतका सुरक्षा निकाय के कारणले मूकदर्शक भएर बसेका हुन् ? यस सम्बन्धमा छानबिनसहित यस आन्दोलनको क्रममा सुरक्षा निकायहरूको भूमिकाको गम्भीर समीक्षा र पुनरावलोकन गरिनुपर्ने माग गर्दछौँ’, विज्ञप्तिमा लेखिएको छ ।
त्यस्तै, अहिले पनि भइरहेको विध्वंसकारी गतिविधि रोक्न टोल टोलमा सुरक्षा समिति गठन गर्नुपर्ने र स्थानीय जनसमुदायलाई सचेत हुनुपर्नेमा जोड दिइएको छ । ‘यस्ता घटनाले आन्दोलनको शुद्धता र उद्देश्यलाई क्षति पुर्याइरहेका छन् र राष्ट्रलाई थप पीडा दिइरहेका छन्,’ विज्ञप्तिमा उल्लेख छ ।
आगामी राजनीतिक निकास लोकतान्त्रिक मूल्य र संविधानभित्रै खोजिनुपर्नेमा संगठनहरूले जोड दिएका छन् । ठुलो बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई कमजोर नबनाई त्यसको रक्षा गर्दै अघि बढ्नुपर्ने र नयाँ परिवर्तनका प्रयास संविधानकै दायरामा रहनुपर्ने माग गरिएको छ । ‘जेन-जी युवाहरूसमेत वर्तमान संविधानको रक्षा गर्दै अघि बढ्ने कुरामा जोड दिइरहेको सन्दर्भमा आगामी राजनीतिक निकास लोकतान्त्रिक मूल्यमान्यताको अधीनमा रहेर मात्र गरिनुपर्नेमा जोड दिन चाहन्छौँ, कुनै पनि नयाँ परिवर्तनतर्फ अग्रसर हुँदै गर्दा ठुलो बलिदानी मार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्यहरूलाई कमजोर नबनाइने र तिनको रक्षा हुने व्यवस्था हुनुपर्छ भनेर जोडदार माग गर्दछौँ साथै, आगामी राजनीतिक निकास संविधानभित्रबाट निकालिनुपर्छ भनेर माग गर्दछौँ’, विज्ञप्तिमा लेखिएको छ ।
विज्ञप्तिमा हालको विषम परिस्थितिमा सम्पूर्ण युवालाई संयमित, सजग र लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता, स्वाधीनता र सार्वभौमसत्ताको रक्षामा दृढ रहन अपिल गरिएको छ ।
विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा नेपाल तरुण दलका सभापति विद्वान गुरुङ, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, वाईसीएल नेपालका अध्यक्ष पुष्प ओली, युवा संघ नेपालका अध्यक्ष रोशन थापा र अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारी रहेका छन् ।














प्रतिक्रिया दिनुहोस्