जनता टाइम्स

२६ भाद्र २०८२, बिहीबार १९:३९

गोली चल्नु अघिको भद्र आन्दोलन जेन्जी युवाको, त्यस पछिको हत्या र २४ गतेको आगजनी अरूकै डिजाइनमा : माधव ढुङ्गेल


काठमाडौं, भदाै २६ । नेकपा एमालेका युवा नेता माधव ढुङ्गेलले युवाहरूले उठाएको मुद्दा सुशासन र पारदर्शीताकाे मुद्दा भएको बताउनुभएको छ ।

युवाहरूको आन्दोलनले सुशासन र पारदर्शीताक मुद्दालाई एउटा उचाइमा पुर्‍याएको उहाँले बताउनुभयो । जेन्जी आन्दोलन गणतन्त्र विरोधी पनि नभएको, अराजकता र छाडातन्त्रको पक्षमा पनि नभएको उहाँले बताउनुभयो । ‘यसले त सुशासन र पारदर्शिता खोजेको थियो, प्रमाण त तपाईँको आन्दोलनका नाममा जली सके तर पनि, शक्तिशाली  आयोग बनाएर  २०४६ पछिका पद र ओहोदामा भएका राजनीतिक नेता, कर्मचारी, आर्मी, पुलिस, ठूला व्यवसायी सबैको  सम्पत्ति छानबिन गरौँ न तर, जेन्जी आन्दोलनको नाममा जे भइरहेको छ त्यो असल नियतिका साथ भइरहेको छैन’, उहाँले भन्नुभयो ।

युवाहरूको आन्दोलनलाई प्रयोग गरेर भदौ २४ गतेको आन्दोलनमा अपराधीहरूले घुसपैठ गरेर विध्वंस मच्चाएका उहाँको भनाइ छ । २३ गते अबोध बालबालिका माथि गोली हान्ने र २४ गते ध्वंस मच्चाउने घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने उहाँको धारणा छ । ‘२३ गते संशयपूर्ण गोली चल्नु अघिको भद्र आन्दोलन जेन्जी युवाहरूको थियो, त्यस पछिको हत्या र २४ गतेको आगजनी जेन्जीको थिएन, यो त अरूकै डिजाइनमा योजनाबद्ध घटाइएको घटना थियो, सिंहदरबार, शीतलनिवास, बालुवाटार, राष्ट्र बैङ्क र सर्वोच्च अदालत जलाउँदा दर्शक बनेर बस्ने मेरो देशको सुरक्षा प्रति धिक्कार छ’, उहाँको भनाइ छ ।

कसलाई प्रधानमन्त्री बनाउने भनेर युवाहरूलाई बोलाएर सोधिएको पनि नाटक मात्रै भएको उहाँले बताउनुभयो । डिजाइन अन्तै भएको र युवाहरूको समर्थनमा मात्र लिन खोजिएको भन्दै उहाँले युवा पुस्तालाई सचेत हुन आग्रह गर्नुभएको छ । ‘सुरक्षाकर्मीको ढाड माथि गाडी गुडाउने दुर्गा प्रसाईँलाई समेत गोली नठोक्ने प्रहरीले स्कुले ड्रेसका अबोध बालबालिका माथि टाउको टाउकोमा गोली कसरी हान्यो ? यो आफैमा संशयपूर्ण छ, यसको पनि छानबिन आयोग बनाएर सत्य तथ्य बाहिर ल्याऊँ, दोषी माथि निर्मम कारबाही गरौँ’, ढुङ्गेलको माग छ ।

’सिंह दरबार, बालुवाटार, शीतल निवास, संसद् भवन, सर्वोच्च अदालत, अख्तियार, राष्ट्र बैङ्क जल्यो,  सनराइज हल, भाटभटेनी र केबलकार पनि जलाइयो, सम्पूर्ण संवेदनशील सामग्रीहरू नष्ट भए,  व्यक्तिका घर त कति जले जले, मान्छे जिउँदै जलाइएको छ, देश पुरै जलिरहेको छ, यहाँ देशको माया कहाँनेर छ ?’, उहाँको प्रश्न छ ।

उहाँले बहुदलीय लोकतान्त्रिक व्यवस्थाको विकल्प अरू व्यवस्था हुन नसक्ने पनि बताउनुभयो । ‘संविधान मास्न पारिइँदैन, बहुदलीय लोकतान्त्रिक व्यवस्थाको विकल्प छैन, संसदबाटै समाधान खोजिनु पर्छ’, उहाँले भन्नुभयो ।