जनता टाइम्स

४ मंसिर २०७६, बुधबार १४:३४

नेकपाको सचिवालय बैठक : मन्त्रिपरिषद पुनर्गठनमा यस्तो छ अध्यक्षद्वय ओली–प्रचण्डको तयारी


काठमाडौं, मंसिर ४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनको एजेण्डाले औपचारिक प्रवेश पाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सचिवालय बैठकमा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने जानकारी गराउनु भएपछि आज पहिलो पटक औपचारिक एजेण्डा बनेको हो ।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शपछि आजको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको जानकारी गराउनु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा मन्त्रिमण्डल पुनर्गठन, संगठन विभाग र अन्य विभागलाई पूर्णता दिने विषयमा छलफल हुने कार्यसूची बनाइएको छ । सचिवालय बैठकअघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको थियो ।

अध्यक्षद्वयले आपसी छलफलपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवास पुगेर भेट गर्नुभएको थियो । सो भेटमा राष्ट्रपति भण्डारीले दुवै नेताले एकआपसमा परामर्श गरी सही र सहज निर्णय लिनु सुझाव दिनुभएको स्रोतले बताएको छ । राष्ट्रपतिसँगको भेटबापछि बालुवाटार फर्किएर सचिवालय बैठक बसेको हो । बैठकमा मन्त्रिपरिषद् पुनर्गठनमा क–कसलाई यथवात् राख्ने र हटाउने मन्त्रीहरुका बारेमा पनि छलफल भइरहेको छ । बैठकमा नेताहरुबाट आएको सुझावका आधारमा प्रधानमन्त्री ओलीले हटाउने र नयाँ मन्त्रीहरुको निर्णय लिनुहुनेछ ।