काठमाडौं, मंसिर ४ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन्तोषजनक काम गर्न नसक्ने विभागीय प्रमुखहरुलाई हटाइने चेतावनी दिनुभएको छ । मन्त्रालय मातहतका विभागको आज पर्यटन बोर्डमा बसेको नियमित आन्तरिक बैठकमा मन्त्री भट्टराईले यस्तो निर्देशन जनाउ दिनुभएको हो ।
मन्त्रालय मातहत रहेका विभागको कामको समिक्षापछि असन्तुष्ट जनाउँदै मन्त्री भट्टराईले प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभयो । लक्ष्य अनुरुप काम नभए स्पष्टीकरण सोधिने र सन्तोषजनक प्रगति नभए कार्यालय प्रमुखहरु परिवर्तन गर्ने मन्त्री भट्टराईको भनाई थियो । ‘काम भएन भने विभागीय प्रमुखको परिर्वतन गरिनेछ, परिवर्तन हुनेले मन नदुखाउनुहोला, परिणामुखी काम चाहिएको छ,’ मन्त्री भट्टराईले भन्नुभयो ।
राजनीतिक नियुक्ती लिएर विभिन्न पदमा रहेर सन्तोषजनक काम नगरेकालाई तत्काल बाटो खाली गर्न पनि उहाँले निर्देशन दिनुभयो । ‘कामको आधारमा हटाउँदा अदालत गएर नरुनुहोला, त्यो भन्दा अगावै बाटो खाली गर्नुहोला,’ पर्यटनमन्त्री भट्टराईको भनाई थियो । उहाँले राम्रो काम गर्ने कर्मचारीलाई भने थप सुविधा दिएर प्रोत्साहन गर्ने जानकारी पनि दिनुभयो । आजको बैठकमा सो मन्त्रालय मातहतका विभागीय प्रमुखहरुले आफ्नो कार्यप्रगति बुझाएका थिए । सो क्रममा उहाँले हाल भएको कार्यप्रगति विवरण काम चलाउ मात्रै भएको टिप्पणी गर्दै फेरि बस्ने बैठकमा पुनः प्रस्तुत गर्न निर्देशन दिनुभएको छ ।
मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि मन्त्रालय मातहतका कार्यालयहरुले के के गर्ने ? त्यो कार्ययोजना मंसिर ११–१२ मा प्रस्तुत गर्न निर्देशन दिनुभएको छ । आजको बैठकमा उहााले काम नगर्ने र विवादित कर्मचारीहरुलाई विदेश भ्रमणमा समेत रोक लगाउने घोषणा गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्