भक्तपुर, भदौ ३१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निजी निवास आगजनी र तोडफोड गर्ने अग्रभागमा नेपाली कांग्रेसका नेता नै देखिएका छन । भदौ २४ गते अपरान्ह ओली निवासमा भएको लुटपाट, तोडफोड र आगजनीमा नेपाली कांग्रेस दोलखाका नेताले नै नेतृत्व गरेको पाइएको हो ।
ओली निवास तोडफोड, लुटपाट र आगजनीको सुरूआतमै मुखमा औंलो राखेर सुई..सुई.. पार्दै रातो क्याप लगाएका युवाले उक्साइरहेको भिडिओमा देखिएको छ । सिठ्ठी बजाउँदै दुर्गा प्रसाई शैलीमा ‘आओ आओ’ भन्दै ओलीको घर आगजनी गर्ने युवा नेपाली कांग्रेस दोलखाका क्षेत्रीय उसभापति सुवास लामा हुन ।
नेकपा एमाले बैतेश्वर गाउँपालिका कमिटीले फेसबुक पेजमा भोलिपल्टै लामाको फोटो र भिडिओ हाल्दै तत्कालीन सत्ता साझेदर दलकै नेता संलग्न रहनु दुःखद भनेको छ ।बैतेश्वर गाउँपालिका–१ निवासी लामा कांग्रेसका क्षेत्र नम्बर १ का क्षेत्रीय उपसभापति हुन । उनी गुण्डागर्दी र गलत क्रियाकलापमा पहिलेदेखि नै संलग्न रहने गरेका थिए ।
सुवास २०७४ र २०७९ का दुवै चुनावमा बुथ कब्जा गरेर पालिका अध्यक्ष जितेका छवि लामाका भतिजा हुन । लामाले त्यसदिन ओली निवासमा भिड लैजाने, उक्साउने र आगजनी गर्नेजस्ता क्रियाकलाप गरेका सबै प्रमाण संकलन भएको एमाले केन्द्रीय संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिनुभएको छ ।

दुर्गा प्रसाईं समूहसँगै रास्वपा, माओवादी र राजावादीहरूले गरेको आगजनीमा कांग्रेसका क्षेत्रीय उपसभापति अग्रभागमा देखिनु दुःखद रहेको एमाले दोलखाले जनाएको छ । पेटी ठेक्कामा संलग्न लामा दोलखा र रामेछापका जलविद्युत आयोजनाहरूबाट रकम असुल्ने गिरोहका नाइकेका रुपमा समेत परिचित छन ।













प्रतिक्रिया दिनुहोस्