जनता टाइम्स

४ मंसिर २०७६, बुधबार १९:१०

कांग्रेस प्रवक्ताले नै देउवाको पोल खोलेपछि…


काठमाडौं, मंसिर ४ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाले गरेको दुई बदमासीको खेलासा गर्नुभएको छ ।

उपचुनावको सन्दर्भलाई लिएर चुनावी घोषणापत्र सार्वजनिक गर्दै आफ्नो योजना भन्दा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कामलाई ठीक उल्टो बनाएर घोषणापत्र सार्वजनिक गर्ने क्रममा शर्माले पार्टी सभापति देउवाकै पोल खोल्नुभएको हो । शर्माले बालुवाटारको सरकारी जग्गा र नेपाल बायुसेवा निगमको वाइडबडीको बिषयलाई उठाएर देउवाको पोल खोल्नुभएको हो । वाइडबडी र बालुवाटार प्रकरणमा प्रमुख दोषी देउवा रहेको तथ्य यसअघि नै सार्वजनिक भइसकेको छ । पर्यटन मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएका तात्कालिन प्रधानमन्त्री देउवाकै पालामा वाइडबडीका पहिलो किस्ता भुक्तानीसहित किस्ता पठाउनै पर्ने मितिसमेत किटान गरिएको थियो ।

यस्तै बालुवाटारको सरकारी जग्गा पनि तात्कालिन गृहमन्त्री देउवाकै पालामा गृहले पठाएको फाइलका आधारमा ब्यक्तिको नाममा गएको थियो । प्रवत्ता शर्माले यी दुई बिषयलाई प्रमुखताका साथ उठाएर सभापति देउवाको पोल आफैले खोलिदिनु भएको हो । संसदको सार्वजनिक लेखा समितिले नेपाल एयरलाइन्सको वाइडवडी जहाज खरीदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो । ‘वाइडवडी प्रकरणलाई लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत आवश्यक टुंगोमा पुग्न सकिने विधिलाई अतिक्रमण गरेर सरकारले ‘शाही आयोग’ गठनको शैलीमा ढाकछोपका लागि छानविन आयोग बनायो । त्यो आयोगको अस्तित्व यतिबेला वेपत्ता छ,’ प्रवक्ता शर्माले सार्वजनिक गर्नुभएको कांग्रेसको घोषणापत्रमा भनिएको छ । देउवाकै पालामा यो घोटाला भएको थियो ।

यस्तै बालुवाटारको जग्गा प्रकरणलाई पनि सरकारले ढाकछोप गर्न खोजेको आरोप शर्माको छ । ‘बालुवाटारकै जग्गा समेत फिर्ता गराउन नसक्ने स्थिति बन्नु दुईतिहाईको सरकारका लागि लज्जास्पद घटना हो,’ घोषणा पत्रमा भनिएको छ । सो जग्गा प्रकरणमा बिजय गच्छद्धारसँग अख्तियारले बयान लिइसकेको छ भने अख्तियारले बयान लिएपछि जेल जाने त्रासमा कांग्रेसका पर्वत जिल्ला सचिव एवं तात्कालिन डिल्लीबजार मालपोतका अधिकृतले आत्महत्या गरिसकेका छन । बालुवाटार प्रकरणमा सम्पुर्ण रुपमा कांग्रेसकै नेतृत्व लागेर सरकारी जग्गा हडपेको यो तथ्य बाहिर ल्याएर शर्माले आफ्नै नेताको बदमासीको पोल खोल्नुभएको हो ।