जनता टाइम्स

४ मंसिर २०७६, बुधबार १९:४१

बन्यो हटाउने मन्त्रीको सूची, यी मन्त्री हुँदैछन बिदा


काठमाडौं, मंसिर ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट बाहिरिने मन्त्री र प्रवेश गराउने सदस्यहरुको सूची तयार पार्नुभएको छ । आज बसेको सचिवालय बैठकले दुई अध्यक्षको कार्यबिभाजन गरी पाँच बर्ष सरकारको नेतृत्वसहित मन्त्री हेरफेरको सम्पुर्ण अधिकार दिएपछि प्रधानमन्त्री ओलीले बर्तमान मन्त्रिपरिषदमा रहेका १३ जना सदस्यलाई बिदा गरी नयाँ मन्त्री थप्ने गरी सूची तयार पार्नुभएको हो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार पहिलो चरणमा पाँच जना मन्त्री मात्रै हेरफेरको योजनामा रहनुभएका प्रधानमन्त्री ओलीलाई बाहिरिने मन्त्रीहरु अयोग्य रहेको सन्देश जाने भएपछि आधा भन्दा बढी मन्त्री फेर्ने निश्कर्षमा प्रधाaनमन्त्री ओली पुग्नुभएको छ । ‘पाँच जना मन्त्री मात्रै फेर्ने चाहना रहेपनि अयोग्य भएकै कारण हटाइएको सन्देश जाने भएपछि ९ देखि १३ जनासम्म मन्त्री फेरबदल गर्ने निश्कर्षमा प्रधानमन्त्री पुग्नुभएको छ, उहाँले अहिले १३ जनाकै सूची बनाइसक्नु भएको छ, भोलि सोही सूचीअनुसार मन्त्रिपरिषद पुनर्गठन हुनेछ,’ बालुवाटार स्रोतले भन्यो ।

‘९ जनाको सूची तयार पारिसक्नु भएको छ, तर १३ जना नै परिवर्तन गर्ने कुरा आएपछि उहाँले थप योग्य सदस्यको खोजी गरिरहनु भएको छ, बिहीवार बिहानसम्म सूची बनिसक्छ,’ बालुवाटार स्रोतले भन्यो । प्रधानमन्त्री ओलीले हटने मन्त्रीको बिषयमा भने कसैलाई कुनै जानकारी दिनुभएको छैन । ‘को–को हटदैछन भन्ने जानकारी प्रधानमन्त्रीले कसैलाई गराउनु भएको छैन, अनुमानकारिताको आधारमा बाहिर नाम आएका हुन,’ सचिवालयका एक सदस्यले जनताटाइम्ससँग भने ।

मिडियामा नामै किटान गरी फलानो फलानो मन्त्री हटदैछन भन्ने समाचार आएपनि प्रधानमन्त्रीले यस बिषयमा पत्ता नखोल्नु भएको हो । यता बरिष्ठ नेता माधव नेपालले भने पर्यटनमन्त्री योगेश भट्टराईबाहेक आफ्नो समुहका सवै मन्त्री परिवर्तन गर्नुपर्ने अडान लिएको समाचार सार्वजनिक भएको छ । तर नेता नेपालले पनि यस बिषयमा केही बोल्नु भएको छैन । प्रधानमन्त्री ओली भने निकै राम्रो काम गर्ने केही मन्त्रीहरुलाई पूर्ववत समुह वा पार्टीको आधारमा परिवर्तन नगर्ने मुडमा हुनुहुन्छ ।

‘प्रधानमन्त्री पूर्ववत पार्टी वा पार्टीभित्रको समुहका आधारमा मन्त्री फेर्न हुन्न, काम गर्नेलाई अझै केही समय अवसर दिनुपर्छ भन्ने अडानमा हुनुहुन्छ, सवै नेताको सुझावपछि अव उहाँले निर्णय लिनुहुनेछ,’ नेकपा सचिवालयका ती सदस्यले भने । यही आधारमा पुनर्गठनको तयारी अन्तिम चरणमा रहे पनि प्रधानमन्त्री ओलीले मन्त्री बन्नेहरुको नाम गोप्य राख्नुभएको हो । कतिपय मिडियाले गोकर्ण बिष्टलाई समेत हटने मन्त्रीको सूचीको मन्त्रीमा राखे पनि प्रधानमन्त्री ओलीले अहिलेसम्म बनाउनु भएको सूचीमा उहाँको नाम नरहेको स्रोतको भनाई छ । ‘श्रममन्त्री बिष्टलाई हटाउन ठुलै दवाव रहेको छ, प्रधानमन्त्रीले कामको आधारमा अहिलेको सूचीमा पार्न नहुने बताउनु भएको छ, तर बिष्ट हटाउन लागेका नेताले साह्रै ठुलो धम्की दिएको अवस्थामा भने यसै भन्न सकिन्न,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

‘पुनर्गठनपछि हुने मन्त्रीको संख्या र नामावली प्रधानमन्त्री आफैले घोषणा गर्नुहुन्छ,’ सचिवालय बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डबीच नयाँ बन्ने मन्त्रीहरुको सूची टुंगो लगाए पनि गोप्य राखिएको छ । यही सहमतिअनुसार प्रधानमन्त्री ओलीले भोलि बिहीवार मन्त्रिपरिषद बिस्तार गर्नुहुने स्रोतले बताएको छ । आज बसेको नेकपाको सचिवालय बैठकले सरकारको सम्पुर्ण जिम्मेवारी प्रधानमन्त्री ओलीलाई र पार्टीको कार्यकारी जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई दिएलगत्तै बिहीवार मन्त्रिपरिषद पुनर्गठन हुन लागेको हो ।

मन्त्रिपरिषदबाट हटने सूचीमा रहनुभएका कृषिमन्त्री चक्रपाणि खनाल र उद्योगमन्त्री मातृका यादवले आफूहरु पुनर्गठनमा मन्त्री नरहने जानकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डमार्फत पाइसकेको जानकारी गराइ सक्नुभएको छ । मन्त्रिपरिषद पुनर्गठन हुँदा दुई राज्यमन्त्रीसमेत हटने सूचीमा परेको स्रोतको भनाई छ । सचिवालय बैठकमा नेताहरुले दिएको सुझावको आधारमा प्रधानमन्त्री ओलीले नयाँ मन्त्रीको सूचीसमेत तयार पारिसक्नु भएको छ ।

बैठकको निर्णयअनुसार प्रधानमन्त्री ओलीले हटाउने र मन्त्री बनाउने नयाँ अनुहारको सूची बनाउन थाल्नुभएको छ । स्रोतका अनुसार भोलि बिहान प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई हटाउने मन्त्री र नयाँ बन्ने मन्त्रीको सूचीबारे जानकारी दिनुहुनेछ । स्रोतका अनुसार पाँच बाट बढेर सात जना मन्त्री हटाउने सूचीमा परिसकेका छन । यो संख्या ९ देखि १३ सम्म पुग्न सक्नेछ ।