जनता टाइम्स

१ आश्विन २०८२, बुधबार १३:५७

जनार्दन शर्माको निश्कर्ष : इफ बट नभनी प्रचण्डले तत्काल राजीनामा दिनुपर्छ


काठमाडौं, असोज १ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा दिनुपर्ने निश्कर्ष निकाल्नु भएको छ ।

जेनजी आन्दोलनले भ्रष्टाचारयुक्त राजनीति र संस्कृतिमाथि प्रहार गरेको भन्दै उमहासचिव शर्माले प्रचण्ड अव पार्टी नेतृत्वमा रहिरहन नसक्ने निश्कर्ष सुनाउनु भएको हो । शर्माले प्रचण्ड निवासमा जलेको पैसाको बदनामी पार्टी भएको भन्दै अव पद त्याग्ने र पार्टीको नेतृत्व प्रत्यक्ष निर्वाचित हुनुपर्ने मान्यतासमेत अघि सार्नुभएको छ ।

यसैगरी उहाँले पार्टीभित्र सम्पत्ति छानबिनका लागि स्वतन्त्र आयोग गठन र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मागसमेत उठाउनु भएको छ । शर्माका अनुसार जेनजी आन्दोलनले पुराना पार्टी र तिनको नेतृत्वको औचित्य नै नरहेको भन्दै पुनर्गठन जरुरी देखाएको तर्क गर्नुभएको हो । जेनजी युवा आन्दोलनले सकारात्मक सन्देश दिएकाले पार्टी नेतृत्व अब परिवर्तन हुनुपर्छ,’ शर्माको भनाई छ । शर्माले प्रचण्डको बिकल्पमा नेतृत्वबारे आन्तरिक छलफलसमेत अघि बढाउनु भएको छ ।

छलफलमा सहभागी नेता–कार्यकर्ताले जनताटाइम्स डटकमलाई बताएअनुसार जेनजी आन्दोलनले प्रचण्ड अनफिट भन्ने तथ्य प्रमाणित गरेको शर्माको ठहर छ । शर्माको भनाई उधृत गर्दै ती नेतालेभ ने, ‘जेनजी आन्दोलनले मौलाएको भ्रष्टाचारयुक्त राजनीति र संस्कृतिमाथि प्रहार गरेको छ, नयाँ नेतृत्व खोजेको छ, यो निश्कर्षअनुसार अव पार्टीको मूल नेतृत्वले इफ बट नभनी तत्कालै राजीनामा दिनुपर्छ ।’

प्रचण्डको कार्यशैली, जीवनशैली र नेतृत्वमा प्रश्न उठाउँदै आउनु भएका शर्माले जेनजी आन्दोलनले लोकतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटापक्ष उजागर गरी देशलाई नयाँ ढंगले अगाडि बढाउने बाटो खोलेको निश्कर्षसमेत निकाल्नुभएको छ ।