जनता टाइम्स

५ मंसिर २०७६, बिहीबार ०९:१८

यस्तो छ मन्त्रिपरिषद्को नयाँ वरियता, नवनियुक्त मन्त्रीमा त्रिपाठी सबैभन्दामाथी


काठमाडौँ, मंसिर ५

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा वरियता समेत तोकिएको छ । तत्कालीन एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लड्नु भएका हृदयेश त्रिपाठीले छैटौँ वरियता पाउनु भएको छ । नवनियुक्त मन्त्रीमा उहाले सबैभन्दा माथिल्लो वरियता प्राप्त गर्नुभएको हो ।

यसअघि पटक पटक मन्त्री बनिसक्नु भएका उहा राजपा नेपाल परित्याग गरेर स्वतन्त्र हैसियतामा एमालेको सूर्य चुनाव चिन्ह लिएर नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ बाट विजयी हुनु भएको थियो । उहाले काँग्रेस उम्मेदवार देवकरण प्रसाद कलवारलाई पराजित गर्दै प्रतिनिधिसभामा विजयी हुनु भएको थियो । त्रिपाठी ३८ हजार ५ सय ९२ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा कलवारले ३३ हजार ५ सय ९१ मत ल्याएका थिए ।

स्वतन्त्र हैसियतमा चुनाव लडेपछि उनी तत्कालीन एमाले र एकीकरणपछि नेकपामा प्रवेश गर्ने भनेर चर्चा हुँदै आएपनि प्रवेश भने हालसम्म गरेका छैनन् । बेलाबेला सरकारको कार्यशैलीको आलोचना समेत गर्दै आउनु भएका उहालाई प्रधानमन्त्रीले छैटौ वरियतासहित मन्त्री बनाउनु भएको हो । वरियतामा उहामाथी प्रधानमन्त्री र दुई उपप्रधानमन्त्रीसहित मन्त्रीहरु रामबहादुर थापा, प्रदीप कुमार ज्ञवाली रहनु भएको छ ।

यस्तै नवनियुक्त मन्त्रीहरु घनश्याम भुसालको वरियता नवौँ, लेखराज भट्टको ११ औँ, रामेश्वर राय यादवको १४ औं, बसन्त कुमार नेम्वाङको २१ औँ र पार्वत गुरुङको २२ औं वरियता कायम गरिएको छ । यस्तै राज्यमन्त्री बनेकाहरु मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धरको क्रमशः २३ औँ, २४ औँ र २५ औँ वरियता कायम गरिएको छ । काठमाडौँ क्षेत्र नम्बर ७ बाट निर्वाचित मानन्धर ओली क्याबिनेटको अन्तिम वरियतामा रहनु भएको छ । उहाले नेकपा नेता बामदेव गौतमलाई आफ्नो निर्वाचन क्षेत्र छाड्न तयार हुनु भएको थियो ।