जनता टाइम्स

६ आश्विन २०८२, सोमबार १२:०१

वाग्मतीका एमाले अध्यक्षहरूको एकै स्वर : पहिला सविधानको रक्षा–त्यसपछि नयाँ संकल्प


विकसित परिस्थितिमा अब नेकपा एमाले कसरी अगाडि बढ्छ ? अहिलेको प्रमुख सवाल यही देखिएको छ । यो जिज्ञासा सर्वत्र छाएको पनि छ । यी जिज्ञासा लिएर हामी वाग्मती प्रदेशका १३ जिल्लाका एमाले अध्यक्षहरुबीच पुगेका छौं ।

हिरामान लामा

जेनजी आन्दोलनमा नेकपा एमाले निसानामा पर्यो । अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको बेला प्रहरीको गोली लागेर ज्यान गएको भन्दै आन्दोलनमा घुसेर आपराधिक जत्थाले एमालेमाथि सुनियोजित हमला गरे । प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि राज्यबिहीन अवस्थामा पुगेको फाइदा उठाउँदै आपराधिक तत्वहरु सल्बलाए, जेलबाट अपराधी निकाले, ताण्डव मच्चाए ।

अहिले त्यो ताण्डव मत्थर भएको छ तर थरिथरिका जेनजी समुह आफ्नो स्वार्थ पूरा गर्न लागिपरेको देखिन्छ । विकसित परिस्थितिमा अब नेकपा एमाले कसरी अगाडि बढ्छ ? अहिलेको प्रमुख सवाल यही देखिएको छ । यो जिज्ञासा सर्वत्र छाएको पनि छ । यी जिज्ञासा लिएर हामी बाग्मती प्रदेशका १३ जिल्लाका एमाले अध्यक्षहरुबीच पुगेका छौं । अब देश, पार्टी र परिस्थितिका बारे के भन्छन त एमालेका जिल्ला अध्यक्षहरू ? आज हामीले यही बिषयमा जिल्ला अध्यक्षहरुको धारणा समेटने प्रयाश गरेका छौं ।

सिन्धपाल्चोकका अध्यक्ष होमनाराण श्रेष्ठले एमालेको पहलमा घोषण भएको संविधानको रक्षा गर्न गाउँदेखि शहरसम्मका समुदाय लाग्नुपर्ने बताउनु हुन्छ । संविधान घोषणा नगर्न विदेशीले गरेको चलखेललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले रोकेको प्रसंग निकाल्दै श्रेष्ठ यो संविधान जनताको रगत र पसिनाको दस्तावेज भएकोले जनताको संविधान जनताले नै रक्षा गर्नुपर्ने बेला आएको निश्कर्षमा हुनुहुन्छ । यही निश्कर्षका साथ जिल्लामा पार्टीले काम थालेको श्रेष्ठको भनाई छ ।

सिन्धुली अध्यक्ष महेन्द्रदेव श्रेष्ठ पनि संविधानको रक्षा नै मूल शर्त हुने बताउँनु हुन्छ । पार्टी जिल्ला कमिटीले संविधान दिवसका अवसरमा आयोजना गरेको विस्तारित बैठक, र्याली, कोण सभा र दीपावलीका क्रममाभइरहेको शुभकामना कार्यक्रममा अध्यक्ष श्रेष्ठले यस्तो धारणा राख्दै आउनु भएको छ । सिन्धुलीमा एमालेको पार्टी कार्यालयसहित धेरै सरकारी कार्यालयमा जेनजी प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् । आगजनीबाट एमालेको दुई करोड बराबरको क्षति पुगेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले संविधान फाल्ने गम्भीर षडयन्त्रबिरुद्द लाग्नुपर्ने आवश्यकता औल्याउनु भयो । उहाँले अहिले बनेको अन्तरिम सरकारप्रति पार्टीको असहमति रहेको भन्दै अव संबिधानको रक्षामा केन्द्रित भई थप संकल्प गर्नुपर्ने बताउनु हुन्छ । श्रेष्ठले नेपालको संविधानअनुसार सरकार नबनेका कारण एमालेले अन्तरिम सरकारलाई अस्वीकार गर्ने धारणा राख्नुभएको छ । श्रेष्ठले संविधानअनुसार बनेको सरकारलाई मात्रै पार्टीले मान्यता दिने बताउँदै नेपाली जनताको बलिदान र योगदानबाट २०७२ सालमा जारी भएको संविधानविपरीत बनेको सरकारलाई स्वीकार गर्न नसकिने जिल्लामा आयोजित हरेक कार्यक्रममा बताउँदै आउनु भएको छ ।

जेनजीको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलेको दावी गर्दै उहाँले घटनाको गहिरो छानवीन गर्न माग गर्नुभयो । संविधानको रक्षा र देशको सार्वभौमसत्तामाथि भइरहेको आक्रमणविरुद्ध सबै एकजुट हुनुपर्ने बताउँदै अध्यक्ष श्रेष्ठले नेकपा एमाले राष्ट्रियता र संघीयताको विरुद्ध कुनै पनि गतिविधिमा हस्तक्षेप भए प्रतिवाद गर्न सदैव तयार रहेको उदघोष गर्नुभयो ।

रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले २०७२ सालमा जारी भएको संविधानको पक्षमा एमाले दृढतापूर्वक उभिने बताउनु भयो । ‘हामी तीन लालका मान्छे हौँ, गंगालाल श्रेष्ठको सन्तती हौँ, जस्तोसुकै हावाहुरी आएपनि सतिसालझैँ उभिने छौँ’, कडरियाले भन्नुभयो । भदौ २३ र २४ को घटनाको निष्पक्ष छानवीन तत्कालीन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट शुरु गर्नुपर्ने उहाँको धारणा थियो ।

कडरियाले जिल्लाको विभिन्न स्थानीय तहबाट उपस्थित नेता, कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै प्रधानसेनापती अशोक सिग्देल, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुखलाई घटनाको छानवीनको दायरमा ल्याउनुपर्ने बताउनु भयो । ‘छानवीनबाट आएको रिर्पोट हामी स्वीकार्छौं, चाहे हाम्रो अध्यक्ष नै दोषी किन नहुन, सबै दोषीमाथि कारवाही हुनुपर्छ’, कडरियाले भन्नुभयो ।

काभ्रेका एमाले अध्यक्ष राजन भुर्तेलले नेपालको संविधान ठुलो बलिदान र संघर्षबाट प्राप्त भएकोले कुनै संझौता नहुने बताउनु भयो । लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताउँदै उहाँले यो संविधानको रक्षा गर्नु आफूहरुको पहिलो कतव्र्य भएको उल्लेख गर्नुभयो । भुर्तेलले अहिले प्रतिक्रियावादी र अराजकतावादी शक्ति देश र संविधानलाई समाप्त गर्न चलखेल गरेकाले यसको सशक्त प्रतिवाद गर्न आम कार्यकतालाई निर्देशन दिनुभएको छ ।

धादिङका अध्यक्ष भूमि त्रिपाठीले २०७२ सालमा जारी भएको संविधानको पक्षमा उभिन आम नागरीकलाई अनुरोध गर्नुभएको छ । उहाँले यो संविधानको रक्षा भयो भने जेनजीको भविष्य उज्वल हुने बताउनु भयो । आन्दोलनमा घूसपैठ गरी आफ्नो कब्जामा लिई तोडफोड र आगजनी गरेको उहाँको निश्कर्ष छ । आन्दोलनको क्रममा विदेशी शक्तिको चलखेल र प्रयोग गरी सुनियोचित ढंगबाट जेन–जी पुस्ताकोे हत्या भएको बताउँदै त्रिपाठीले भन्नुभयो, ‘आन्दोलनमा नागरिकको ज्यान जाने गरी भएको घटना, तोडफोड र आगजनीको छानवीन गरी कानूनी कठघरामा ल्याएर कारवाही गर्नुपर्छ ।’

जेनजी पुस्ताले गरेको आन्दोलन अपहरणमा परेकाले फर्काएर लयमा ल्याउन र एमाले जेनजीसँगै रहेको उहाँको भनाई छ । भ्रष्टाचाररहीत समाज निर्माण गरी समृद्ध मुलुक बनाउने सपना पूरा गर्ने शक्ति एमाले मात्रै भएकोले नयाँ पुस्तालाई एमालेसँग सहकार्य गर्न अनुरोध पनि गर्नुभयो । त्रिपाठीले नयाँ पुस्तालाई अपराधीकरण गरिँदै छ भन्दै अब यसपछि अर्को पुस्ताले आन्दोलन गर्नुपर्ने गरी परिवर्तन सुनिश्चित गरिनुपर्ने बताउनु भयो ।

भक्तपुर अध्यक्ष वचन देउजाले जनताको रगतले लेखेको संविधान बचाउँदै संविधानलाई कार्यन्वयन गर्नतर्फ लाग्नु् पर्ने बताउनु भयो । पछिल्लो घटनाक्रमलाई वस्तुवादी ढंगले विश्लेषण गरी पार्टीलाई बलियो बनाउनुपर्ने उहाँको सुझाव छ । जेनजी पुस्ताले उठाएका शुसाननका मागप्रति गम्भीर हुँदै आजको परिवेशमा संघ, प्रदेश र स्थानीय सरकारले सुशासन स्थापित गर्नुपर्ने देउजाको भनाई छ ।

मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले ०६२–६३ सालको जनआन्दोलनपछि जनता र शहीदले बगाएको रगतको परिणामस्वरूप आएको संविधानसँग कुनै संझौता नहुने बताउनु भयो । ‘अहिले संविधानको सवालमा केही टीकाटिप्पणी होलान्, कुनै पनि वस्तु आफैँमा परिपक्व हुँदैन, त्यसलाई परिचालन गर्ने व्यक्तिमा पनि भरपर्छ’, पोखरेलले भन्नुभयो, ‘यो संविधान अत्यन्तै राम्रो हुँदाहुँदै पनि कार्यान्वयन पक्षमा केही त्रुटि छन् ।’ उहाँले त्रुटी भएकै कारण असन्तोष पैदा भएको र त्यो असन्तुष्टि जेनजीको नाममा प्रकट भएको बताउनु भयो ।

संविधानवादअनुसार संविधानले निदृष्ट गरेअनुसार सरकार नबनेको भन्दै उहाँले थप्नुभयो, ‘तर, संविधान कायम छ, यो अवस्थामा संविधानको रक्षा सबैभन्दा महत्त्वपूर्ण कुरा हो, हाम्रो दायित्व हो ।’ अध्यक्ष पोखरेलले पार्टी नेतृत्व सच्चिनुपर्ने धारणा पनि राख्नुभएको छ । ‘हाम्रो एजेण्डा अरुका भए, हाम्रो गल्ती के हो ? कुनै आग्रह पूर्वाग्रह, गुट–उपगुट छोडेर मिहिन ढंगले समीक्षा गरेर सच्चिनुको विकल्प छैन,’ उहाँले भन्नुभयो । यदि त्यसो नगरे आगामी दिनमा पार्टीले अझै धेरै क्षति व्यहोर्नुपर्ने पनि उहाँको भनाइ छ ।

नुवाकोट अध्यक्ष बद्री मैनालीले संविधान र लोकतन्त्र नेपाली जनताको प्राण भएकाले यसलाई रक्षा गर्न सबै नेपालीलाई आग्रह गर्नुभयो । ‘अहिले संविधान मासियो भने नेपालका सबै जात, वर्ग र क्षेत्रका अधिकार हनन् हुन्छ, त्यस्तो हुन नदिन पार्टी कार्याकर्ता लाग्नु पर्छ,’ मैनालीको भनाई छ । जेनजीको भविष्य पनि अहिलेको संविधानबाट सुनिश्चित हुने भएकाले संविधानको विषयमा धेरै टीकाटिप्पणी नगर्न जेनजी पुस्ताका अभियान्तलाई आग्रह पनि गर्नुभयो । उहाँले अहिले विश्वमा भईरहेको सूचना प्रविधि र युवाको आकार्षणलाई बुझेर पार्टी नयाँ ढंगले परिचालन गर्नुपर्ने बताउनु भयो ।

काठमाडौँ अध्यक्ष दीपक निरौलाले अहिलेको संविधान कोमामा पुगेकाले देश, जनता र समयको मागअनुसार परिमार्जन हुनुपर्ने बताउनु भयो । ‘यो संविधानमा केही अपूर्ण बुँदा पनि हुनसक्छन्, ती समयानुकूल परिमार्जन हुनुपर्छ’, निरौलाले भन्नुभयो । उहाँले पार्टी संगठनमा पछिल्लो घटनाले कार्यकर्तामा पुस्तान्तरणको माग आएको बताउनु भयो । ‘यो पुस्तान्तरणको एजेण्डा पनि अध्यक्ष केपी शर्मा ओलीको नै भएकोले पार्टी आन्तरिक जीवनमा पुस्तान्तरण, हस्तान्तरण सामन्य कुरा हो’, निरौलाले भन्नुभयो ।

चितवन जिल्ला अध्यक्ष कमलराज पाठकले आन्दोलनमा रास्वपा, राजावादी र केही दलका असन्तुष्ट समूहले जेनजी आन्दोलनमा घूसपैठ गरेको बताउनु भयो । उाँले केपी शर्मा ओली चीनमा गएर लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो भूमि हो भनेपछि भारत बिच्किएर यो षड्यन्त्र रचेको ठोकुवासमेत गर्नुभयो । राष्ट्रियताको पक्षमा दह्रो उभिएकै कारण राष्ट्रियताविरोधी शक्ति र विदेशी शक्तिको चलखेलमा षड्यन्त्र गरेर जेनजीको व्यानरमा विध्वंशकारी आन्दोलन रचिएको उहाँको निश्कर्ष छ ।

ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्यले संबिधान खान खोज्ने तत्वहरुबिरुद्ध खवरदारी जरुरी रहेको बताउनु भयो । ‘संविधान कुनै स्थिर वा अपरिवर्तनीय दस्तावेज होइन, समयअनुसार परिमार्जन र संशोधन गर्न सकिन्छ,’ आचार्यले भन्नुभयो । एमाले नेपाली समाजको रक्षक शक्ति रहेको भन्दै उहाँले जनताको माग र समाज विज्ञानका नियमअनुसार नीति, नेतृत्व र व्यक्तित्व परिवर्तन हुँदै जाने बताउनु भयो । ‘यो समयको माग हो । तर, अहिले समाजमा सद्भाव कायम गर्ने बेला हो’, आचार्यले भन्नुभयो ।