जनता टाइम्स

८ आश्विन २०८२, बुधबार ०३:५३

जेनजी आन्दोलनको विध्वंसात्मक गतिविधिको असर : रोजगारीको प्रमुख गन्तव्य युएई र साउदीमा श्रमिक भिसा बन्द


काठमाडौं, असोज ८ । जेनजी आन्दोलनमा भएको विध्वंसात्मक गतिविधिलाई देखाएर नेपालीका लागि रोजगारीको प्रमुख गन्तव्य युएई र साउदी अरबले श्रमिक भिसा बन्द गरेको छ । दुवै देशको यो निर्णयसँगै भिसा पर्खेर बसेका नेपालीको बिचल्ली भएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को भिसा पर्खेर बसेका नेपाली कामदार बिचल्लीमा परेका छन् । जेनजी आन्दोलनमा भएको ध्वंसात्मक गतिविधिका कारण देखाएर युएईले भिसा बन्द गरेपछि जान घरबाट हिँडिसकेका उनीहरूको बिचल्ली भएको हो ।

भिसा बन्द भएसँगै उनीहरू घर फर्कन थालेका छन् । घर फर्कँदै गर्दा भेटिएका दोलखाका श्यामबहादुर श्रेष्ठ निकै निराश देखिन्थे । घर फर्कने क्रममा भेटिएका श्रेष्ठले रोजगारीका लागि युएई जान भन्दै घरबाट बिदा भएर आएको तर अव फिर्ता भएको बताउनु भयो ।

श्रेष्ठ युएईमा कम्पनीको टुङ्गो लागिसकेको र कम्पनीसँग करार पत्रमा हस्ताक्षर पनि भइसकेर मेडिकल पास भए पनि भिसा आउन बाँकी थियो । भदौ अन्तिम साता उड्ने तय भइसकेको भए पनि २४ गतेको ध्वंसात्मक कामले सबै सपना तुहायो ।

म्यानपावर व्यवसायीहरूका अनुसार युएईका लागि असोजमा मात्रै अन्तर्वार्तामा छानिएर भिसा पर्खेर बसेका नेपालीको सङ्ख्या १० हजारभन्दा बढी छ । पछिल्लो दुई वर्षयता युएई नेपालीका लागि प्रमुख गन्तव्य हो । हरेक महिना सरदर ३० हजार नेपालीले रोजगारी पाइरहेका छन् ।

जेन-जी आन्दोलन र हिंसात्मक प्रदर्शनीपछि युएईले एक्कासि भिजिट भिसा र रोजगारी भिसामा रोक लगाएको छ । यसबारे युएईले नेपाललाई अनौपचारिक जानकारी दिइसकेको छ । भदौ २४ गते विभिन्न जिल्लामा रहेका जेलबाट भागेका कैदीहरू र देशव्यापी रूपमा राष्ट्रिय र व्यक्तिगत सम्पत्तिमा तोडफोड, आगजनी भएको घटना सार्वजनिक भएपछि युएईले भिसा दिन छाडेको हो ।

पछिल्लो दुई वर्षमा मात्रै भिजिट र रोजगार भिसा लिई युएईमा काम गर्ने नेपालीको सङ्ख्या ८ लाख पुगिसकेको छ । गत आर्थिक वर्षमा मात्रै ८ लाख ३९ हजार नेपालीले श्रम स्वीकृति लिएका थिए । त्यसमा युएईमा मात्रै जानेको सङ्ख्या ३२.६४ प्रतिशत रहेको छ ।