काठमाडौं, असोज ८ । जेनजी आन्दोलनमा अदालतमा रहेको हाई प्रोफाइलका व्यक्ति जोडिएका सबै फाइल खोजी खोजी ध्वस्त पारिएको पाइएको छ । जेनजी आन्दोलनका नाममा आततायी जत्थाले सर्वोच्च अदालतसहित मुलुकका २३ वटा अदालतमा रहेका हाई प्रोफाइलका व्यक्ति जोडिएका फाइल ध्वस्त पारेको पाइएको हो ।
रवि लामिछाने संलग्न सूर्यदर्शन, स्वर्णलक्ष्मीलगायत सहकारी ठगीसहित बहुचर्चित नक्कली भुटानी शरणार्थी काण्ड र सुन तस्करीजस्ता अनुसन्धानमूलक फाइलहरू सबै जलाएर ध्वस्त पारिएको हो । यस्तै माओवादी द्वन्द्वकाल र भूमिसम्बन्धी महत्त्वपूर्ण मुद्दाका फाइलहरू पनि ध्वस्त पारिएको पाइएको छ ।
अदालतमा रहेका मुद्दाका मिसिलसँगै इतिहास, अभिलेख र नजिर जलाएर खरानी पारिएको हो । आक्रमणकारीहरूले रवि लामिछाने जोडिएका धेरैजसो फाइल ध्वस्त पारेको अदालतका कर्मचारीहरूले जनाएका छन् ।
विभिन्न जिल्ला अदालत, सरकारी वकिलको कार्यालयहरूलगायत न्यायिक निकायहरूमा आक्रमणकारीले आगो लगाएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँण, टोपबहादुर रायमाझी, ३३ किलो सुन तस्करीमा संलग्न व्यक्तिहरूको फाइल पनि नष्ट भएका छन् ।
यसैगरी, माओवादी द्वन्द्वका बेला माओवादी नेताहरूमाथि लाग्दै आएको व्यक्ति हत्याको मुद्दासम्बन्धी फाइल पनि नष्ट भएका छन् । सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र कास्की अदालतमा मुद्दाका मिसिल र दस्ताबेज अहिले खरानी भएका छन् ।
काठमाडौं जिल्ला अदालतका कर्मचारीहरूका अनुसार फाँट नम्बर ९, १३ र १४ लाई आक्रमण गरिएको थियो । ती फाँटमा हाई प्रोफाइल भएका व्यक्तिहरूका मुद्दा थिए ।फाँट नम्बर ९ मा नक्कली भुटानी शरणार्थी, १३ सहकारी ठगी र १४ मा सुन तस्करीसम्बन्धी मुद्दाका मिसिल थिए।
‘स्वर्णलक्ष्मीलगायत सहकारी ठगी, बहुचर्चित नक्कली भुटानी शरणार्थी काण्ड र सुन तस्करीसम्बन्धी मुद्दाका मिसिलहरू थिए । ती फाइल अन्तिम सुनुवाइको चरणमा रहेका थिए । कर्मचारीहरूले दिएको जानकारीअनुसार फुटाउन आउनेहरूलाई कुनकुन फाँटमा आक्रमण गर्नुपर्छ भन्ने जानकारी थियो। उनीहरूले नामै तोकेर फाँटमा रहेका मिसिलहरू आगो लगाएका थिए ।
अदालतका ती कर्मचारीका अनुसार अब कानुनविद्हरूसँग रहेका फाइलहरूलाई आधार मानेर सुरुदेखि नै उठाउनुपर्छ । कर्मचारीका अनुसार १९९९ देखि २०३० सम्म र २०५४ सालदेखि हालसम्मका मिसिलका अभिलेखहरू पनि जलेका छन्। कास्की र चितवन जिल्ला अदालतमा पनि आगलागी भएको थियो ।
कास्कीमा प्रदर्शनकारीले भदौ २३ गतेदेखि नै जिल्ला अदालत आसपास प्रदर्शन गरेपछि दिउँसो निषेधाज्ञा जारी गरिएको थियो। नक्खु जेलबाट रास्वपा सभापति रवि लामिछाने निस्किएर उत्सव मनाए लगत्तै कास्की अदालतमा आगो लगाएर सूर्यदर्शन सहकारीको फाइलमा जलाइएको थियो । कास्कीमा पनि सुरुमा अदालतमा आगो लगाइएको थियो।
जिल्ला प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयमा पनि आगो लगाइएको छ । कास्की जिल्ला अदालतमा प्रदर्शनकारीले सुरुमै ३ नम्बर फाँटलाई निसाना बनाएको थियो। उक्त फाँटमा लामिछानेविरुद्धको सूर्यदर्शन सहकारी मुद्दासम्बन्धी मिसिल भएको स्रोतको दाबी छ।
सर्वोच्चमा रहेका नयाँ र अभिलेखमा रहेका झन्डै ६० हजार मुद्दामध्ये धेरैजसोमा क्षति पुगेको थियो। अभिलेख राखिएको एनेक्स भवनमा रहेका मिसिलमा क्षति पुगेको छ।प्रदर्शनकारीले अदालतको अभिलेख रहेको स्थानमा छानीछानी आगजनी गरेका थिए । पहिलो पटक छिरेका प्रदर्शनकारी सर्वोच्चको डाटा सेन्टर ध्वस्त बनाएर फर्किएका थिए र उनीहरूले पछि फेरि गएर आगो लगाएका थिए।
सर्वोच्च प्रशासनका अनुसार धेरैजसो भ्रष्टाचारका फाइल पनि नष्ट भएका छन् । जेनजी आन्दोलनमा घुसेर रास्वपा र माओवादीका कार्यकर्ताहरूले पहिला नै पहिचान भएको फाइल जलाउने सुनियोजित योजना बनाएअनुसार ती फाइल जलाउने काम गरेको अदालत स्रोतको दाबी छ ।













प्रतिक्रिया दिनुहोस्