जनता टाइम्स

८ आश्विन २०८२, बुधबार १५:०१

राष्ट्रपतिद्वारा मतदाता नामावली सम्बन्धी अध्यादेश जारी : युवाहरूको मतदाता नामावली संकलनको बाटो खुल्यो


काठमाडौं, असोज ८ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन संशोधन सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११४को उपधारा १ बमोजिम अन्तरिम मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको हो ।मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका लागि अध्यादेश ल्याइएको हो ।

उक्त दफामा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने व्यवस्था थियो । उक्त व्यवस्थाका कारण रोकिने मतदाता नामावली खुलाउनका लागि अध्यादेश ल्याइएको हो ।

अध्यादेश जारी भएसँगै युवाहरूको मतदाता नामावली संकलनको बाटो खुलेको छ । मतदाता नामावलीमा नाम छुटेकाहरुले अब आफ्नो नाम दर्ता गराउन सक्नेछन् । तर त्यसअघि निर्वाचन आयोगले त्यस सम्बन्धी निर्णय गरेर मतदाता नामावली संकलनको मिति तोक्ने छ ।

आयोगे ‘अध्यादेश जारी भएपछि कानुन बमोजिम मतदान गर्न योग्यता पुगेकाहरुको नामावली संकलनको लागि बाटो खुलेको’ प्रष्ट पारेको छ । त्यसका लागि निर्वाचन आयोगले आवश्यक निर्णय गर्ने छ । जेनजी युवा आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा मतदाता नामावलीमा नाम लेखाउन पाइँदैन ।

तर, राजनीतिक परिवर्तनका लागि भूमिका निर्वाह गरेका थुप्रै युवाहरुको योग्यता पुगेर पनि मतदाता नामावलीमा नाम दर्ता नभएकाले उनीहरूका लागि नाम दर्ता गराउने कानुनी गाँठो फुकाउन अध्यादेश जारी भएको हो । मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका लागि अध्यादेश ल्याइएको हो ।