जनता टाइम्स

८ आश्विन २०८२, बुधबार १८:०५

कोशी यातायातको बदमासीको कथा : जेनजी आन्दोलनमा कार्यालय ध्वस्त भएको मौका छोप्दै ६ सय भन्दा बढी सवारी दर्ता


विराटनगर, असोज ८ । जेनजी आन्दोलनका क्रममा कार्यालय ध्वस्त भएपछि सेवा स्थगित भएको यातायात व्यवस्था कार्यालय कोशीले निजी गाडी कम्पनीसँगको सेटिङमा नयाँ सवारी दर्ता गरेको तथ्य बाहिर आएको छ ।

व्यक्तिको घरमा कार्यालय खडा गरेर कार्यालयका प्रमुख बाबुराम लुइँटेलले नयाँ सवारी दर्ता गरिदिनु भएको पाइएको हो । लुईंटेलले असोज ५ र ७ गते नयाँ सवारी दर्ता गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशीले जनाएको छ ।

भदौ २४ गते भएको आन्दोलनका क्रममा यातायात कार्यालय सुनसरीमा तोडफोड र आगजनी भएको छ । आगजनीपछि कार्यालयबाट काम गर्न सक्ने अवस्था छैन । सेवा सञ्चालन गर्न नसक्ने अवस्थापछि आन्तरिक मामिला तथा कानून मन्त्रालयले मातहतका सबै यातायात कार्यालयलाई सेवा रोक्न परिपत्र गरेको छ ।

मन्त्रालयको परिपत्रलाई उल्लंघन गर्दै कार्यालय प्रमुख लुइँटेलले गाडी कम्पनीको स्वार्थका लागि सवारी दर्ता गर्नुभएको हो । दशैँका बेला नयाँ सवारी साधन खरिद अत्यधिक हुने गर्छ । कार्यालयले सेवा दिन नसक्ने भएपछि कार्यालय प्रमुखसँगको सेटिङमा नयाँ सवारी साधनको दर्ता गरिएको थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशीका अनुसार असोज ५ गते ५ सय र ७ गते १ सय चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीका साधन दर्ता गरिएको छ । कुन–कुन कम्पनीका कति नयाँ सवारी दर्ता भए भन्ने रुजु भइरहेको मन्त्रालयको भनाई छ ।