जनता टाइम्स

६ मंसिर २०७६, शुक्रबार ०८:३७

बन्ने भो रेलमार्ग : केरुङ– काठमाडौं रेल निर्माणबारे छलफल गर्न चिनियाँ टोली नेपाल आउने


काठमाडौं, मंसिर ६ । नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ– काठमाडौं रेलमार्ग निर्माणबारे छलफल गर्न आगामी साता उच्च स्तरीय चिनियाँ टोली नेपाल आउने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक महाशाखाका प्रमुख गोपालप्रसाद सिग्देलका अनुसार चीनका राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणको क्रममा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच भएको समझदारी पत्र (एमओयू) अनुसार केरुङ–  काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारका क्रममा चिनियाँ टोली आउन लागेको हो ।

चिनियाँ टोली मङ्गसिर ९ गते नेपाल आउने छन् भने १० गते काठमाण्डुमा नेपाली र चिनियाँ टोलीको विस्तृत बैठक बसी प्रस्तावित सो रेलमार्गको ‘डीपीआर’ निर्माणलगायतका विषयमा छलफल हुने छ । महाशाखाका अनुसार नेसनल रेल्वे अथोरेटी चाइनाको उपप्रशासकको नेतृत्वमा २० सदस्यीय उच्च स्तरीय टोली काठमाडौं आउन लागेको हो ।

नेपाल आउन लागेको उच्च स्तरीय चिनियाँ टोलीसँगको बैठकमा सहभागी हुनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीको संयोजकत्वमा १५ सदस्यीय उच्च स्तरीय वार्ता टोली गठन गरिएको सो मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव तथा वैदेशिक महाशाखा प्रमुख सिग्देलका अनुसार टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरू, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, भूमि सुधार मन्त्रालय, रेल विभाग, सडक विभागका महानिर्देशक, सिनियर डिभिजन इन्जिनियरहरूको सहभागिता छ ।

रसुवागढीदेखि काठमाडौँसम्म करिब एक सय किलोमिटर लामो हुने नेपाल चीन जोड्ने प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्ग चीनको सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका भएर नेपाल प्रवेश गर्ने बताइएको छ ।