जनता टाइम्स

२१ आश्विन २०८२, मंगलवार १८:२४

जेनजी आन्दोलनमा आगजनी-तोडफोड र लुटपाट गर्ने अपराधीमाथि कार्वाही गर्न प्रहरीलाई बाटो खुल्ला, जाँचबुझ आयोगले खारेज गर्यो गृहमन्त्रीको निर्णय


काठमाडौं, असोज २१ । जेनजी आन्दोलनमा घुसपैठ गरी सिंहदरवारदेखि संसद भवनसम्म जलाउने ब्यक्तिमाथि अव प्रहरीले कार्वाही गर्न पाउने भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र जेनजी आन्दोलनमा घुसपैठ भएका फ्रि तिब्बत अभियानका सञ्चालक सुधन गुरुङको समुहले भौतिक सम्पत्तिमाथि बिध्वंस मच्चाएको कारण रोक्न दवाव दिएपनि जाँचबुझ आयोगले कार्वाही गर्न मिल्ने निर्णय गरेको हो ।

भदौ २३ र २४ को घटनाको छानविन गर्न गठत गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले मंगलवार फौज्दारी अभियोगमा कार्वाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने निर्णय गरेको हो । आयोगको बैठकले आयोगको प्रतिवेदन नआउँदासम्म राज्यको सम्पत्तिमाथि बिध्वंस मच्चाउने अभियुक्तलाई कार्वाही नगर्न गृह मन्त्रालयले दिएको निर्देशनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कार्वाही गर्न मिल्ने निर्णयसहित बिज्ञप्ति सार्वजनिक गरेको छ ।

आयोगको बैठकपछि प्रवक्ता तथा सदस्य बिज्ञानराज शर्माले जारी गर्नुभएको बिज्ञप्तिमा भनिएको छ, ‘फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारवाही गर्न आयोगको प्रतिवेदन कुनै नपर्ने बेहोरा सूचित गरिन्छ ।’

आयोगको यो निर्णयसँगै जेनजी आन्दोलनमा सिंहदरवार, संसद भवन, सर्वाेच्च अदालतसहित ब्यक्तिका भौतिक संरचना जलाउने, लुटपाट गर्नेहरु कारवाहीमा पर्ने भएका छन । तोडफोड, आगजनी र लुटपाटमा बालेन र सुधन गुरुङको समुह सहभागी भएको तथ्यहरु धमाधम सार्वजनिक भइरहेको बेला आयोगले यस्तो निर्णय लिएको हो ।

आफ्नो आपराधिक कामलाई ढाकछोप गर्न दुवै समुहले जेनजी आन्दोलनमा बदमासी गर्नै कसैलाई पनि कार्वाही गर्न नपाउने भन्दै प्रधानमन्त्री सुशिला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई दवाव दिएर पक्राउ परेका अभियुक्तसमेत छाडन लगाएको थियो ।