जनता टाइम्स

२७ आश्विन २०८२, सोमबार ०७:१२

न्युयोर्क टाइम्सको रिपोर्ट : भदौ २४ को आगजनी योजनाबद्ध र संगठित, सिंहदरबारमा पहिल्यै विस्फोटक केमिकल राखिएको आशङ्का


काठमाडौं, असोज २७ । अमेरिकी अखबार न्युयोर्क टाइम्सले नेपालमा भदौ २४ गते भएको आगजनी र तोडफोड सुनियोजित र संगठित रूपमा गरिएको खुलासा गरेको छ । हाना बिच र सजल प्रधानलिखित रिपोर्टमा आगजनीमा सहभागी व्यक्ति, प्रत्यक्षदर्शी तथा विज्ञसँगको कुराकानी र फोटो–भिडिओको विश्लेषणबाट सो आगजनी स्वतःस्फूर्त नभई योजनावद्ध र सुनियोजित भएको हुनसक्ने निष्कर्ष निकालिएको छ।

२३ गते युवाहरूमाथि गोली चलाउनुअघि नै भ्रष्टाचारमा लिप्त व्यक्तिहरू भन्दै दलका नेताहरुको नाम ठेगानाको सूची अनलाइनमा देखापरेको र भोलिपल्ट दिउँसो तिनै व्यक्तिहरूको घर जल्न थालेको रिपोर्टमा उल्लेख छ। ‘विध्वंशको परिमाण यति भयावह थियो कि मानौँ केही घण्टामै सयौँ हवाइ आक्रमण गरिएको होस,’ रिपोर्टमा उल्लेख छ।

‘बिनाकुनै संगठनात्मक शक्ति त्यति छोटो समयमा त्यति धेरै भवनमा तपाईं आगो लगाउन सक्नुहुन्न,’ आगजनी विज्ञ रिचर्ड ह्यागरको भनाइ उधृत गर्दै लेखिएको छ, ‘त्यसका लागि महिनौँ नभए पनि हप्तौँ योजना बनाउनु पर्ने हुन्छ।’ कुनै पनि निष्कर्षमा पुग्न जलेको चिजबिजको नमुना ल्याबमा परीक्षण गर्नुपर्ने तर त्यो काम अहिलेसम्म नभएको रिपोर्टमा उल्लेख गरिएको छ। यसमा ढिलाइ हुँदै जाँदा दोषी पत्ता लगाउन झनै कठिन हुने विज्ञहरूको राय छ।

प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका पवन ढुंगानाले आफ्नो टोलीलाई कसैले पनि आगजनीबारे अनुसन्धान गर्न नबोलाएको पुष्टि गर्नुभएको समेत सो समाचारमा उल्लेख छ । ‘काठमाडौँमा मात्र होइन देशैभरि आगजनीको घटना देख्दा यो कतै नियोजित त थिएन भन्ने शंका हुन्छ। तर, हामीसँग कुनै पनि कुराको प्रमाण छैन,’ सो ढुंगानाले भन्नुभयो ।

https://www.nytimes.com/2025/10/12/world/asia/nepal-protests-genz-arson.html

रिपोर्टमा संसद् भवनबाट दुई घण्टामा भीड सर्वोच्च अदालत हुँदै सिंहदरबार पुगेको दाबी गरिएको छ। भीड आएको आधा घण्टाभित्र सिंहदरबारबाट धुवाँको मुस्लो निस्केको र त्यसपछि ठूलो ज्वाला दन्किएको जनाइएको छ। त्यो ज्वाला भवन आफैँ जल्दा देखिने ज्वालाभन्दा सघन भएको र पहिले नै आगो फैलाउन रसायन राखिएको हुनसक्ने आशंका पनि गरिएको छ।

‘फोटोहरूमा आगजनीको आकार हेर्दा सोडियम वा म्याग्नेसियमजस्ता केमिकल प्रयोग गरिएको शंका मलाई छ,’ ढुंगानाको भनाइ छ, ‘तर, परीक्षण नगरी केही भन्न सकिन्न।’ यी रासायनिक पदार्थ मट्टीतेलजसरी किन्न नपाइने र तिनको प्रयोगपछि पनि ठूला भवन जलाउन कयौँ ग्यालेन इन्धन आवश्यक पर्ने रिपोर्टको दाबी छ।

त्यस्तै, सामान्यतयाः बन्द रहने सिंहदरबारका माथिल्लो तलाका झ्यालहरू खुला छाडिएको र त्यसले आगजनी फैलाउन मद्दत गरेको पनि रिपोर्टमा जनाइएको छ। ‘यो घटनालाई योजनाबद्ध षड्यन्त्र भन्न सकिने आधारहरू धेरै देखिन्छन्। भवनको आकार, त्यहाँ भएको विनाश र आगोको तीव्रतालाई हेर्दा,’ सिंगापुरस्थित फायर साइन्स फरेन्सिक्सका प्रमुख सल्लाहकार केनेथ की भन्नुहुन्छ, ‘त्यसपछि प्रश्न उठ्छ, ‘आगो दन्काउने पदार्थ त्यो भवनभित्र कसरी पस्यो ? के भित्री मिलेमतो थियो ? सुरक्षाकर्मीले आफ्नो चौकी छाडेका थिए ?’

प्रत्यक्षदर्शी र हिंसामा संलग्न व्यक्तिहरूको अनुसार आगजनी गर्नेहरूसँग इन्धनको भाँडो र सलेदोसहितको बोतल पनि रहेको रिपोर्टमा दाबी गरिएको छ। आगजनीमा सामेल तीन युवकले आफूहरूले अलगअलग सिफ्टमा काम गरेको बताएका छन्।

अपरिचित व्यक्तिले मोटरसाइकलबाट तेल भरेर पेट्रोल बम बाँडेको उनीहरूको भनाइ छ। तीमध्ये दुई जनाले आक्रमणको भिडिओ पनि देखाएको रिपोर्टमा उल्लेख छ। ‘यो कसले गर्यो हामी जान्न चाहन्छौँ,’ प्रहरीको प्रयोगशालाका ढुंगानाले भन्नुभएको छ ‘तर, पत्ता लगाउन सकिन्नजस्तो लाग्छ।’