जनता टाइम्स

३१ आश्विन २०८२, शुक्रबार १०:३९

जेनजी आन्दोलनमा अपराध : अदालतका ९ लाख ३३ हजार मुद्दाका मिसिल जलाइयो


काठमाडौं, असोज ३१ । जेनजी आन्दोलनमा घुसपैठ गरी अपराधीहरुले भदौ २४ गते विभिन्न अदालतमा आगजनी र तोडफोड गर्दा ९ लाख ३३ हजार मुद्दाका मिसिलसमेत नष्ट भएको छ ।

सर्वाेच्च अदालतले दिएको जानकारीअनुसार भदौ २४ मा आगजनी र तोडफोड गरिएका सबै अदालतमा गरी चालुतर्फ ३० हजार ७ सय ५२ र अभिलेखतर्फ ९ लाख ३ हजार ७१ मिसिल जलेको हो ।

सो क्रममा काठमाडौं जिल्ला अदालतमा रहेका नक्कली भुटानी शरणार्थी, सिभिल सहकारी, ललिता निवासमा लिखत किर्ते, बाल मन्दिर जग्गा प्रकरण, ६१ किलो सुन तस्करीजस्ता चर्चित मुद्दाका मिसिल नष्ट भएका छन ।

सर्वोच्च अदालतमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सशस्त्र द्वन्द्वको हत्यासम्बन्धी, ५२ संवैधानिक पदाधिकारीको फैसलाको पूर्णपाठ, छायादेवी कम्प्लेक्स, सुडान काण्ड, वाइडबडी विमान खरिद, मैना सुनुवारको हत्या, अन्तःशुल्क, एनसेलको करजस्ता चर्चित मुद्दाका फाइल जलेर नष्ट भएका छन् । सर्वोच्चको संवैधानिक इजलासका फाइल, अभियान फाँटका मुद्दा पनि जलेका छन् ।

सर्वोच्चका अनुसार फैसला भइसकेका र कानुन पत्रिकामा प्रकाशन गर्ने तयारीमा रहेका मुद्दाका मिसिलहरूसमेत जलेको जानकारी दिए । भदौ २२ गतेका तथ्यांकअनुसार देशभरका अदालतमा करिब २ लाख मुद्दा चालु अवस्थामा रहेका थिए । सर्वोच्चमा चालु अवस्थामा रहेका २४ हजार २ सय ३४ थानमध्ये २० हजार ३४ मुद्दाको मिसिल जलेका छन । आन्दोलनपछि सर्वोच्चले रिटतर्फ २५ सय ९ र मुद्दामा १६ सय ९१ वटाको मिसिल मात्र फेला पारेको छ । यस्तै अभिलेखतर्फ १ लाख ९७ हजार मुद्दाको फाइल नष्ट भएका छन् ।

यसैगरी उच्च र जिल्ला तहमा चालु मिसिल ६ हजार ५ सय ३३ र तहसिलतर्फका ४ हजार १ सय ८५ थान मिसिल गुमेका छन् । अभिलेखतर्फ ७ लाख ६ हजार ७१ थान मिसिल नष्ट भएका छन् । सबैभन्दा धेरै क्षति काठमाडौं जिल्ला अदालतमा भएको छ । काठमाडौं जिल्ला अदालतमा अभिलेखका ४ लाख मिसिल र चालुका ४ हजार मुद्दाका फाइल जलेको छ । काठमाडौं जिल्ला अदालतका अनुसार २०५३ यताका सबै मिसिल जलेका छन । त्यसअघिका केही मिसिल भने जोगिएका छन ।

काठमाडौं जिल्ला अदालतबाट फैसला भइसकेका ४ लाखभन्दा बढी मिसिल जलेर नष्ट भएको छ । आगलागीबाट काठमाडौं जिल्ला अदालतका ९, १३ र २१ नम्बर फाँट पूर्ण रूपमा जलेका थिए । ती फाँटमा नक्कली भुटानी शरणार्थी प्रकरण, ६१ किलो सुन तस्करीलगायत मुद्दाका मिसिल थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण, एमाले सचिव टोपबहादुर रायमाझीलगायत अभियुक्त छन् ।

फाँट नं. १३ मा सहकारी ठगी र ललिता निवासको सरकारी जग्गा हिनामिनामा किर्ते र ठगीको मुद्दाको मिसिल थियो । सुन तस्करीसम्बन्धी मुद्दामा राजस्व अनुसन्धान विभागको सहयोगमा ३१ भदौ २०८० मा २९ जनाविरुद्ध अदालतमा अभियोगपत्र दर्ता गरिएको थियो । सुन तस्करी प्रकरणमा माओवादी नेता कृष्णबहादुर महरा संलग्न रहनुभएको छ । यतै सहकारीमा रास्वपाका सभापति रबि लामिछाने संलग्न हुनुहुन्छ । ती फाइल छानीछानी जलाइएको पाइएको छ ।

सर्वाेच्च अदालतले जेनजी आन्दोलनको क्रममा भदौ २४ गते देशभरका अदालत गरी चालुतर्फ ३० हजार ७ सय ५२ र अभिलेखतर्फ ९ लाख ३ हजार ७१ मिसिल गुमेको जनाएको छ ।

काठमाडौं जिल्ला अदालतमा सिभिल सहकारीदेखि गोकर्ण सहकारीसम्मका मिसिल जल्दा रास्वपा सभापति रवि लामिछाने जोडिएको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनासम्बन्धी फाइल भने सग्लै भेटिएको छ । जिल्ला अदालतका एक कर्मचारीका अनुसार धरौटी माग गर्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन परेपछि स्वर्णलक्ष्मी सहकारीको फाइल पठाइएको थियो । त्यो फाइल फिर्ता आएपछि सम्बन्धित फाँटमा पुग्नै नपाएकाले जल्नबाट जोगिएको हो ।

प्रदर्शनकारीले भदौ २४ गते जेनजी आन्दोलनको आडमा १० जिल्ला अदालत र ७ उच्च अदालतलाई निसाना बनाएका थिए । काठमाडौंका साथै चितवन, कास्की, सप्तरी, बाँके, रूपन्देही, पर्सा, मकवानपुर र कपिलवस्तु जिल्ला अदालतमा आक्रमण भएको थियो । उच्च अदालत तुलसीपुर बुटवल इजलास, विराटनगर, जनकपुरको अस्थायी इजलास, राजविराज, हेटौंडालगायतमा समेत तोडफोड र आगजनी भएको थियो ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका झन्डै २१ हजार पुराना मुद्दाका अभिलेख जलेर नष्ट भएका छन् । रास्वपा सभापति रवि लामिछाने जोडिएको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको मिसिल भने सुरक्षित छ । यस्तै रूपन्देही जिल्ला अदालत भैरहवामा आगजनी र तोडफोडबाट भौतिक संरचनामा धेरै क्षति भए पनि मुद्दाका फाइल सुरक्षित छन् ।

जिल्ला अदालत कैलालीमा ३० हजार मिसिल जलेका छन् । यसैगरी आगजनी र तोडफोडपछि सप्तरी जिल्ला अदालतबाट २ लाख भारु र २१ लाख ६७ हजार नेपाली रुपैयाँ गरी कुल २४ लाख ८७ हजार नगद चोरी भएको थियो । चितवन जिल्ला अदालतमा चालु मुद्दाका झन्डै दुई तिहाइ मिसिल जलेका छन् । झन्डै १४ सय मिसिल जलेको प्रारम्भिक आँकलन गरिएको छ । सो अदालतका अनुसार ‘१, २, ३ र ४ नम्बर फाँटका सबै मिसिल जलेका छन ।

रास्वपा सभापति लामिछाने प्रतिवादी रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीसम्बन्धी मिसिल १ नम्बर फाँटमा थियो । अदालतका अनुसार गम्भीर र ठूला व्यक्तिहरू जोडिएका मुद्दाका मिसिलहरू १ र २ नम्बर फाँटमा राख्ने गरिएको थियो । ती मिसिल नष्ट भएका छन ।

यस्तै कास्की जिल्ला अदालत र उच्च अदालत पोखरामा रहेका सहकारी ठगीसम्बन्धी मुद्दाका चालुतर्फ २ हजार र अभिलेखतर्फका ३० हजार फाइल जलेका छन् । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री लामिछाने जोडिएको सूर्यदर्शन सहकारीको बचत ठगीसम्बन्धी फाइल पनि नष्ट भएको छ ।