जनता टाइम्स

८ मंसिर २०७६, आईतवार ०७:२१

तीन दिन सम्म यस्तो रहने छ नेपालको मौसम


 

काठमाडौं, मंसिर ८ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शनिवार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आगामी तीन दिनसम्म मौसम बद्ली भई वर्षा र हिमपातको सम्भावना औँल्याएको हो । आगामी २४ घण्टामा देशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाको मौसमी प्रक्षेपणअनुरुप आज राति देशभर आंशिकदेखि सामान्य बद्ली रही पश्चिमी र मध्य पहाडी भू–भागमा एक÷दुई स्थानमा हल्का वर्षा र पश्चिमी उच्च हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुनेछ । भोलि आइतबार पनि देशभर आंशिकदेखि सामान्य बद्ली रही पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा पनि देशका मध्य र पूर्वी भूभागमा सामान्य बद्ली रही पश्चिमी क्षेत्रमा आंशिक बद्ली हुने छ । पूर्वी र मध्यपहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको र यहीक्रम ९ गते सोमबार पनि जारी रहने महाशाखाले विज्ञप्तिमा उल्लेख गरेको छ ।