जनता टाइम्स

२६ बैशाख २०७६, बिहीबार १६:०२

एनएमबी बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवालाई १० लाख रुपैयाँ ऋण दिने


काठमाडौ , बैशाख २६

एनएमबी बैंकले वैदेशिक रोजगारीबाट फिर्ता भई नेपालमा केही गर्न चाहने युवाहरुलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ ऋण दिने भएको छ । राष्ट्रिय युवा परिषद, एनएमबी बैक र रिटर्नी माइग्रेन्ट नेपालबीच कर्जा प्रवाह सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले हस्ताक्षर गरेका छन् । बैंकले युवाहरुलाई लक्षित गरि प्रति व्यक्ती अधिकतम १० लाख कर्जा प्रवाह गर्ने र हाललाई १ अर्बसम्म कर्जा प्रवाह हुने बैंकले जनाएको छ ।

सिइओ केसीले युवाहरुका लागि कृषी, पर्यटन, वन, जडीबुटी लगाएतका क्षेत्रलाई लक्षित गरेर प्रवाह हुने बताउनु भएको छ । उहाँले समृद्ध नेपालका लागि यो कार्यक्रम कोशेढुङ्गा साबित हुने बताउनु भयो ।

यस्तै, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष ढुङ्गेलले सस्तो श्रममा नेपालीहरु विदेशी भूमिमा काम गर्नु भन्दा आफ्नै देशमा फर्केर केही गर्ने अभियानमा लाग्नु पर्ने बेला भइसकेको बताउनु भयो ।

एनएमबी बैंक सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानले देश बनाउने जिम्मा युवाहरुको हातमा भएकाले उनीहरुलाई सहयोग गर्न बैंकले ऋण प्रवाह गर्न लागेको बताउनु भयो ।