यी सबै तथ्यहरू राखेर केपी ओलीले प्रचण्डदेखि अफवाह फैलाएर जनतालाई आतङ्कित पार्दै अपराधको जगमा शासन गर्न चाहने सुशीला कार्कीहरूको ग्य्राण्डडिजाइनको पनि पर्दाफास गरिदिनुभयो ।
गणेश बस्नेत
जेनजी आन्दोलनको नाममा सत्तामा पुग्नुभएकी अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको झुटको पर्दा च्यातिएको छ । तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्य–तथ्य राखेर सबै यथार्थ सार्वजनिक गरिदिएपछि ओलीकै सिफारिसमा प्रधानमन्त्री भएको र सहमतिअनुसार नै संसद् विघटन गरिएको भन्ने प्रधानमन्त्री कार्की र माओवादी अध्यक्ष दाहालको गोयवल्श प्रचार शैलीको भण्डाफोरसँगै दुवै जनाको बदमासीको पोल खुलेको हो ।
प्रधानमन्त्री कार्की र माओवादी अध्यक्ष दाहालले केही समयदेखि यही प्रचार गर्दै आउनुभएको थियो । तर दुवै जनाले नेपाली जनतालाई गुमराहमा पार्न योजनाबद्ध रूपमा स्याल आयो भन्दै कुखुरा चोर्ने चोरको शैलीमा ‘कामचलाउ प्रधानमन्त्री केपी ओलीको सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त’ भएको प्रचारबाजी गरेको उजागर भएको हो ।
कार्की भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । मकवानपुरको सुपारीटार ब्यारेकमा नेपाली सेनाको सुरक्षामा रहनुभएका तत्कालीन प्रधानमन्त्री ओलीले सुशीला कार्की नियुक्त गर्न गरेको सिफारिस आफूसँग सुरक्षित रहेको प्रचण्डको जिकिर थियो भने कार्कीले पनि दलहरूको सहमतिमा नै संसद् विघटन गरेको र आफू क्रान्तिपछि बनेको सरकार भन्ने शतप्रतिशत झुट प्रचार गर्दै आउनु भएको छ ।
सो विषयमा आइतबार सम्पादकहरूसँग भएको संवादमा नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री ओलीले सत्य खोल्नुभएको छ । प्रेस चौतारी नेपालले आयोजना गरेको अध्यक्ष ओलीसँग सम्पादकको संवाद कार्यक्रममा ओलीले सरकारबाट चलाइएको अफवाह, प्रचण्डको दावा र जेनजी आन्दोलनमा भएको आपराधिक समूहको घुसपैठ र निर्दोष बालबालिकाको मृत्युबारे सविस्तार चर्चा गर्दै एकाएक तथ्य खोतल्नुभयो ।
प्रधानमन्त्रीबाट राजीनामा दिएर सेनाको सुरक्षामा रहेर बाहिर आएको एक महिनापछि पत्रकारमाझ उपस्थित हुनुभएका एमाले अध्यक्ष ओलीले सत्यमाथि झुटले कसरी शासन गरिरहेको छ भन्ने दृष्टान्त राख्नुभयो । ‘जस्तोसुकै जोखिम मोल्न तयार छु । जोखिम देखेर सत्य बोल्छ छाडदिने ? यो देश मेरो मात्र होइन, ममात्रै बाँच्नुपर्ने होइन, मभन्दा धेरै समय बाँच्नुपर्ने मानिस पनि छन्’ भन्ने शब्द प्रयोग गरेर ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र नेपालविरुद्ध भइरहेको डरलाग्दो योजनाको प्रष्टै सङ्केत गर्नुभयो ।
पर्दाभित्रका अपराधी नायक बनेर उभिएको र जनताका पक्षधरलाई खलनायक बनाउने प्रयास भएको तथ्य पनि ओलीले खोल्नुभएको छ । सोही क्रममा ओलीले प्रधानमन्त्री सुशीला कार्की र माओवादी अध्यक्ष प्रचण्डको बदमासीको पोल खोलिदिनुभयो । तथ्यसहित ओलीले खोल्नुभएको सत्यले माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री कार्कीलाई नाङ्गेझार पारिदियो । ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई तत्कालीन प्रधानमन्त्रीका रूपमा गरिएको सिफारिसको एकाएक शब्दसहित ब्यहोरा नै सार्वजनिक गरिदिनु भयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका माओवादी अध्यक्ष प्रचण्डले तत्कालीन प्रधानमन्त्री ओलीकै सिफारिसमा राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको दाबी गर्नुभएको थियो । उहाँले ओलीको सिफारिस पत्र आफूले पढेको भन्दै सार्वजनिक गर्नसक्ने बताएर सम्पादकदेखि नेपाली जनतासामु बाचा गरेको केही दिनपछि प्रेस चौतारीले आयोजना गरेको सम्पादकसँगको संवादमा ओलीले सत्य खोलिदिनु भयो ।
यस्तो छ सिफारिस
वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थितिमा परिस्थितिलाई नियन्त्रण गरेर संविधान र लोकतान्त्रिक परिपाटी र शान्तिपूर्ण स्थितिमा फर्काउनु पर्ने आवश्यकता भएकोले र यसको समाधान संविधान, लोकतान्त्रिक प्रणाली र संसदभित्रैबाट खोज्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुनाले संविधानभित्रबाट अहिलेको परिस्थितिको उपयुक्त निकासका लागि आवश्यक कदम चाल्छ सिफारिस गर्दछु ।
– केपी शर्मा ओली, प्रधानमन्त्री
ओलीले सिफारिसको ब्यहोरा नै सार्वजनिक गर्नुभएपछि प्रचण्डले सफेद झुटो कुरा गरेर अफवाह फैलाउने काम गरेको तथ्य उजागर भएको हो । यो तथ्य उजागर भएसँगै प्रचण्ड झुटको बादशाह रहेको र अझै सुधार नआएको प्रष्ट भएको उहाँको पत्रकार सम्मेलनमा सहभागी भएकै सम्पादकहरूले निष्कर्ष निकालेका छन् ।

ओलीको जानकारी लगत्तै ‘प्रचण्डको पत्रकार भेटघाटमा म पनि गएको थिएँ, बडो कन्फिडेन्सका साथ ओलीकै सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री बनाइएको हो, हाम्रो पनि सहमति छ भन्नुभयो । उहाँले सफेद झुट पो बोल्नुभएको रहेछ भन्ने अधिकांशको प्रतिक्रिया कार्यक्रममै सुनियो । जसले ढाँटेको कुरा काटे पनि मिल्दैन भन्ने नेपाली उखानलाई चरितार्थ गरेको छ ।
आफ्नो भनाई केही नराखी सुरुमै सम्पादकबाट सुझाव, आलोचना र प्रश्न लिनुभएका ओलीले सवा घण्टासम्म धैर्यतापूर्वक कुरा सुन्नुभयो । आलोचना, सुझाव र प्रश्नपछि ओलीले भन्नुभयो, ‘प्रचण्डजीले भयानक झुट बोल्नुभयो । मसँग प्रमाण छ, मसँग कागज छ, केपी ओलीले सिफारिस गरेको कपी छ, केपी ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न सिफारिस गर्नुभएको छ भनेर अनेकन के–के कुरा भन्नुभयो । राष्ट्रपति कार्यकारी नभएकोले प्रधानमन्त्रीकै सिफारिस चाहियो भन्नुभयो । कार्यकारी अधिकार नभएकोले मैले सिफारिस गरिदिएको हो तर ब्यक्ति किटान थिएन, संविधान र संसदभन्दा बाहिरबाट होइन भन्ने प्रष्टै थियो ।’
अध्यक्ष ओलीले सेनाको सुरक्षामा रहेको बेला राष्ट्रपति र प्रधानसेनापति आफसँग छलफल गर्न आएको र सिफारिसको आग्रह गरेपछि आफू सहमत भएको खुलाउनु भयो । छलफलको क्रममा प्रतिनिधिसभा विघटन नगर्ने आफ्नो प्रस्तावमा दुवै जना सहमत भएर फर्किएको तर जेनजीलाई धोखा दिएर देश बरबाद पार्ने आपराधिक समूहको योजनामा संसद् विघटन गरिएको ठोकुवा पनि गर्नुभयो ।

यस्तै संवादको क्रममा जेनजी आन्दोलन, जेनजीको माग, जेनजीले गरेको सकारात्मक चाहना र घुसपैठ भएर गरिएको विध्वंसकारी घटनाबारे तत्कालीन प्रधानमन्त्री ओलीले एक एक सत्य खोल्नुभयो भने नयाँ सरकार गठनका सन्दर्भमा फैलाइएका अफवाहलाई सत्य राखेर नाङ्गेझार पारिदिनुभएको हो । सम्पादकसँगको संवादमा ओलीले सरकारदेखि विध्वंस मच्चाउनेहरूलाई उन्मुक्ति नपाउने प्रष्ट सन्देश पनि दिनुभयो ।
सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक हो । संवैधानिक बाटो बनाउन सकिने अवस्था छँदाछँदै असंवैधानिक बाटोबाट सरकार बन्यो भन्ने पहिलो बटमलाइन ओलीका थियो । यस्तै सरकारले चुनाव नै गराउँदैन भन्ने निष्कर्षदेखि आफ्नो सम्पत्ति छानबिन गर्न र असंवैधानिक सरकारले बनाएको गौरीबहादुर कार्की नेतृत्वको पूर्वाग्रही छानबिन समितिमा बयान दिन लुरुलुरु नजाने घोषणा पनि आलीले गर्नुभएको छ ।
यस्तै उहाँले आफू सेनाको सुरक्षामा रहेपछि सुशीला कार्की प्रधानमन्त्री नियुक्त भई शपथ लिएपछि मात्रै मोबाइल फोन पाएको खुलासा गर्नुभयो । यी सबै तथ्यहरूले अफवाह फैलाएर जनतालाई आतङ्कित पार्दै शासन गर्नेहरूको ग्य्राण्डडिजाइनको पनि पर्दाफास भएको छ ।













प्रतिक्रिया दिनुहोस्