जनता टाइम्स

९ मंसिर २०७६, सोमबार ०७:१३

विपक्षीले लगाएको आरोपको जवाफ जनमतले दिन्छ – उम्मेदवार भट्टराई


पोखरा, मंसिर ९ । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा उम्मेदवार विद्या भट्टराईले विपक्षीले लगाएको आरोपको जवाफ जनमतले दिने बताउनुभएको छ । पोखरा १६ अर्मलामा भएको घरदैलोपछिको कोणसभामा भट्टराईले जनता नै न्यायाधीश भएकाले जनतालाई कमजोर सम्झेर भ्रम सिर्जना गर्न खोजिन्छ भने त्यसको मूल्य सम्बन्धित पक्षले नै व्यहोर्नुपर्ने जवाफ दिनुभयो ।

उहाँले दीर्घकालीन सोचका साथ नेकपाले काम गरिरहेको बताउनुभयो । “क्षणिक समयका लागि भन्दा पनि देशको दीर्घकालीन विकासका लागि निकै गृहकार्यका साथ काम भइरहेको छ । अबको केही समयमा नै ठूलो परिवर्तनको आभास पाउनुहुनेछ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले पार्टीले विशेष चासो दिएर अर्मलाको विकासका योजना अघि बढाएको जानकारी दिँदै त्यहाँ बृहत् खानेपानी योजना अघि बढेको बताउनुभयो ।

नेपाल ओलम्पिक कमिटीका सदस्य तेजबहादुर गुरुङले नेकपा विकासको संवाहक भएकाले कोही कसैले अनावश्यक फैलाएको भ्रमको पछाडि जनता नलाग्ने विश्वास व्यक्त गर्नुभयो । चुनावी अभियानमा स्थानीय तहका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता थियो । यसै विच कास्की क्षेत्र नं २ मा मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई दलहरुले शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ढङ्गले लोकतन्त्रको सुन्दरतम प्रयोग गरी सम्पन्न गर्ने प्रतिबद्धता गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आयोजनामा उपनिर्वाचनमा उम्मेदवारी दिएका दलको आइतवार पोखरामा बसेको सर्वदलीय बैठकले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पूर्णतः पालना गर्ने प्रतिबद्धतासहित सम्पूर्ण मतदातालाई मतदानमा सहभागी हुन संयुक्त आह्वान गरेका छन् ।

नेकपा जिल्ला अध्यक्ष कृष्णबहादुर थापाले सत्तारुढ पार्टी भएकाले सबै राजनीतिक दलहरुलाई साथमा लिएर निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय बनाउने प्रमुख जिम्मेवारी आफूहरुको रहेको बताउनुभयो । काङ्ग्रेसका जिल्ला सभापति कृष्णबहादुर केसीले निर्वाचन आचारसंहिताको पालनामा प्रतिबद्ध रहेको बताउँदै आफ्नो दलकोतर्फबाट निर्वाचनलाई शान्तिपूर्ण बनाइने उल्लेख गर्नुभयो ।

बैठकमा नेकपा जिल्ला पार्टी सचिव बखानसिंह गुरुङ, प्रचार विभाग प्रमुख त्रिभुवन पौडेल, काँग्रेसका सचिव देवेन्द्र रानाभाट, साझा पार्टीको तर्फबाट जिल्ला सदस्य एकराज न्यौपाने, दीपक पौडेल, मङ्गोल नेशनल अर्गनाइजेशनका सचिव श्रीमान् थापामगर तथा नेपाली काङ्ग्रेस बिपीका कार्यवाहक सभापति डम्बरबहादुर बानियाँको उपस्थिति थियो । उपनिर्वाचनमा विभिन्न १० राजनीतिक दल तथा स्वतन्त्र ११ गरी २१ जनाले उम्मेदवारी दिएका छन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि उहाँको क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।