जनता टाइम्स

९ मंसिर २०७६, सोमबार १०:५८

मंसीर १५ देखि बुद्ध एयरले प्रादेशिक उडान भर्ने , विराटनगरबाट सीधै पोखरा


विराटनगर, मंसिर ९

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बुद्ध एयरले अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा प्रदेश–१ बाट प्रादेशिक हवाई उडान शुरु गर्ने भएको छ। विराटनगर र भद्रपुरदेखि काठमाडौं हुँदै पोखरासम्मको ट्रान्जिट उडानसम्बन्धी जानकारी दिन आयोजित कार्यक्रममा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले आगामी डिसेम्बर १ (मंसीर १५) देखि उडान शुरु गर्ने बताउनुभयो । शुरुमा सातामा तीन दिन उडान सञ्चालन गर्ने बुद्ध एयरको योजना छ।

पहिलो चरणमा विराटनगरबाट काठमाडौंलाई ट्रान्जिट बनाएर पोखरा उडान गर्ने र त्यसपछि भद्रपुरबाट पनि शुरु गर्ने बताइएको छ। परीक्षणस्वरुप ६ महीना उडान सञ्चालन गर्दा कम्पनीलाई नोक्सान नभए निरन्तरता दिइने समेत बस्नेतले बताउनुभयो । उक्त सेवाले भ्रमण वर्षमा आन्तरिक र बाह्य पर्यटकलाई विशेष फाइदा पुग्ने निर्देशक बस्नेतको भनाइ छ। अन्तरप्रदेश उडान शुरु गर्नेबारे प्रदेश सरकारको लामो समयदेखिको आग्रह अनुसार भ्रमण वर्षलाई लक्षित गर्दै सेवा शुरु गर्न लागेको उहाँले बताउनुभयो ।

अन्तरप्रदेश उडान अन्तर्गत बुद्धले अहिले पोखराबाट भैरहवा र चितवनमा उडान गर्दै आएको छ। प्रादेशिक उडानबारे जानकारी दिन आइतबार आयोजित कार्यक्रममा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले उडान सेवालाई दिगो र प्रभावकारी बनाउन प्रदेश सरकारले भूमिका निर्वाह गर्ने भन्दै विराटनगर विमानस्थललाई स्तरोन्नति गर्ने समेत बताउनुभयो । विराटनगर विमानस्थलको धावनमार्गलाई दुई हजार ४०० मिटर बनाउन प्रदेश सरकारले पहल गरिरहेको उहाँको भनाइ थियो।