जनता टाइम्स

१६ कार्तिक २०८२, आईतवार १९:५१

एमालेद्वारा ‘युथ भोलेन्टियर फोर्स’ गठन, महेश बस्नेत बने कमाण्डर


काठमाडौं, कात्तिक १६। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘युथ भोलेन्टियर फोर्स’ गठन गरेको छ।

भक्तपुरको गुण्डुमा आज सम्पन्न विशेष भेलाले फोर्स गठनको घोषणा गरेको हो। उक्त भेला एमालेको जनसङ्गठन समन्वय संयन्त्रले आयोजना गरेको थियो।

एमाले सचिवालयको शनिबार बसेको बैठकले गरेको निर्णयलाई आजै कार्यान्वयन गर्दै एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको संयोजकत्वमा नौ सदस्यीय कार्यसमिति गठन गरिएको हो।

फोर्सको प्रारम्भिक समिति एमाले स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका इन्चार्ज भानुभक्त ढकालले घोषणा गर्नुभएको हाे।

ढकालका अनुसार संयोजक बस्नेतसहित सदस्यहरूमा भूतपूर्व सैनिक प्रहरी संगठनका अध्यक्ष विनोद पाण्डे, अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडाल, मानवअधिकार एलाइन्सका निवर्तमान अध्यक्ष मीनबहादुर शाही, पुष्प श्रेष्ठ, वचन देउजा, विनिता काफ्ले, महेश चौलागाईं र निशा लिम्बू रहनु भएको छ ।

उहाँले देश, पार्टी र नेताको सुरक्षाका साथै सामाजिक सेवामा समर्पित रहने उद्देश्यका साथ जिल्ला–जिल्लामा पनि युथ भोलेन्टियर फोर्स गठन गरिने जानकारी दिनुभयो।

ढकालले फोर्सलाई विशुद्ध सामाजिक सेवा र जनतासँग प्रत्यक्ष सम्पर्कमा आधारित अभियानका रूपमा सञ्चालन गरिने बताउँदै, कम्तीमा एक लाख युवा कार्यकर्ता यसमा आबद्ध गराइने योजना रहेको उहाँले बताउनुभयाे ।

फोर्सका संयोजक महेश बस्नेतले भक्तपुरबाट पहिलोपटक युथ भोलेन्टियर फोर्सको घोषणा गरिएको बताउँदै, अब ललितपुर, काठमाडौँ, काभ्रे, रामेछापलगायतका जिल्लामा पनि क्रमशः घोषणा गरिने जानकारी दिनुभयो। उहाँका अनुसार आगामी मङ्सिर ५ गते बानेश्वरबाट फोर्सको औपचारिक घोषणा गरिनेछ।

बस्नेतले मङ्सिर ६ गते काठमाडौँमा हुने पार्टीको वाग्मती प्रदेश भेला तथा एमाले महाधिवेशनमा समेत फोर्सका सदस्यहरूलाई सक्रिय रूपमा परिचालन गरिने बताउनुभयो।

कार्यक्रममा पार्टी अध्यक्ष  केपी शर्मा ओलीले गुण्डुमा पार्टी नेताहरूको सुरक्षाका लागि खटिएका भूपू सैनिक सङ्गठन, युवा सङ्घ र एमाले भक्तपुर जिल्ला कमिटीलगायतलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो। कार्यक्रममा ओलीकी धर्मपत्नी राधीका शाक्यकाे पनि सहभागिता  थियाे ।