जनता टाइम्स

१८ कार्तिक २०८२, मंगलवार १६:४६

नख्खु कारागारका जेलरको बयान : रवि लामिछाने निस्केको डेढ घण्टापछि जवरजस्ती पत्रमा हस्ताक्षर गराए


काठमाडौं, कात्तिक १८ । जेनजी आन्दोलनमा कारागार तोडेर अपराधी निकाल्ने अभियान चलाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सो पार्टीका नेताहरूले सफेद झुट बोलेको तथ्य उजागर भएको छ ।

जेनजी प्रदर्शनमा भएको दमनबारे छानबिन गर्न गठित आयोगले नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएपछि रबिदेखि रास्वपाका सवै नेता नांगेझार बनेका हुन । बयानको क्रममा जेलर जोशीले रास्वपाका सभापति रवि लामिछाने बाहिरिँदा सार्वजनिक गरेको पत्रबारे मुख खोल्दै आफूलाई जवर्जस्ती हस्ताक्षर गर्न लगाएको तथ्य खोल्नुभएको छ ।

जेनजी प्रदर्शनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले जोशीसँग बयान लिएको थियो । आयोगले सिंहदरबार स्थित आफ्नो कार्यालयमा बोलाएर जेलर जोशीसँग बयान लिएको हो । सोमबार जोशीसँग बयान लिइएको थियो ।

जेलरसँग आयोगका पदाधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु कारागारबाट बाहिरिँदा सार्वजनिक गरेको पत्रबारे सोधेका थिए । जवाफमा जेलर जोशीले हस्ताक्षर गरेको पत्रमा सहकारीसँग जोडेर गरिएको राजनीतिक मुद्दा फिर्ता लिन समय लाग्ने हुनाले गृह सचिवको आदेशअनुसार थुनामुक्त गरिएको उल्लेख थियो ।

जेनजी प्रदर्शनतर्फ सङ्केत गर्दै पत्रमा भनिएको छ, ‘थुनामा राख्दा थप अन्याय हुन जाने तथा देशमा अमन चयन थप खलबल पर्ने हुँदा निजलाई तत्काल थुना मुक्त गर्न निर्णयअनुसार जानकारी गराइन्छ ।’ भदौ २४ मा प्रदर्शनकारी घेरेर रविलाई जेलबाट बाहिर लगेपछि रास्वपाका मान्छेहरूले आफूलाई पत्रमा हस्ताक्षर गराएको जोशीले बयानमा खुलाउनु भएको छ ।

जोशीले आयोगलाई गराएको जानकारीअनुसार रबि जेलबाट भागेको डेढ घण्टापछि सो हस्ताक्षर गराइएको थियो । ‘रवि लामिछाने निस्केको डेढ घण्टापछि मलाई पत्र ल्याएर हस्ताक्षर गराए, सुरक्षा चुनौतीको कारण पत्रको ब्यहोरा हेरिनँ, उनीहरूले भनेअनुसार सरकार हस्ताक्षर गरिदिए,’ आयोगमा जेलर जोशीले दिएको बयान उधृत गर्दै एक सदस्यले भने । जोशीका अनुसार त्यसदिन रविको पत्र लिएर आउनेहरु सोही पार्टीसँग आवद्ध थिए ।

रबि लामिछाने नख्खु कारागार तोडेर बाहिर निस्केपछि देशभरका जेलबाट करिव १७ हजारको हाराहारीमा कैदीबन्दी भागेका थिए । उनीहरुले नै देशभर तोडफोड, आगजनीमा सघाएका थिए । रबि जेलमा बसेको भए देशभरका कुनै पनि जेल तोडफोड हुने थिएन भन्ने सूचना भदौ २४ कै दिन सुरक्षा निकायले गराइसकेको छ ।

जेनजीको आन्दोलन हाइज्याक गरेर मुलुकमा बिध्वंस मच्चाउने काममा रास्वपाकै नेतादेखि कार्यकर्तासम्म योजनावद्ध रुपमा लागेको तथ्य यसअघि नै सार्वजनिक भइसकेको छ । रबिलाई जेलमुक्त गराउने काम पनि रास्वपाका कार्यबहाक सभापतिदेखि सवै नेता मिलेर बनाएको रहष्य जेलको बयानले खोलिदिएको छ ।