जनता टाइम्स

३० कार्तिक २०८२, आईतवार १९:५६

कुलमानकै सामुन्ने चतुरले दिए ओली सरकारलाई धन्यवाद


त्रिवि क्रिकेट रंगशाला अत्याधुनिक प्यारापिट र फ्लडलाइडसहित तयार भई हस्तान्तरण भएसँगै सोमबारदेखि सुरु हुने ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) क्रिकेटका लागि रंगशालाको नयाँ स्वरूप तयार भएको छ ।

काठमाडौं, कात्तिक ३० । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष निर्णयबाट अघि बढाउनु भएको काठमाडौं कीर्तिपुरमा प्यारापिट र फ्लड लाइटसहित अत्याधुनिक क्रिकेट रंगशालाको पहिलो चरणको काम पूरा भएको छ ।

काम सकिएसँगै सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्रिकेट रंगशालाको पहिलो चरणमा निर्माण गरिएका प्यारापिट र फ्लड लाइट नेपाल क्रिकेट संघ (क्यान) लाई आइतबार हस्तान्तरण गरेको छ ।

सहरी विकासमन्त्री कुलमान घिसिङ आइतबार साँझ कीर्तिपुर मैदान पुगेर हस्तान्तरण कार्यक्रममा सहभागी हुनुभयो । योसँगै सोमबारदेखि सुरु हुने ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) क्रिकेटका लागि रंगशालाको नयाँ स्वरूप तयार भएको छ । त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघबीच क्रिकेट मैदान प्रयोग गर्न भएको जग्गा करार सम्झौता म्याद वैशाख २०८३ मा सकिँदैछ ।

गत असोज अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि सरोकारवाला निकायलाई निर्देशन दिइएको थियो । मन्त्रिपरिषद् बैठकले गुरुयोजना बमोजिम आवश्यक जग्गा प्राप्ति गर्न कानुन अनुसार त्रिवि, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् सहित निकायलाई निर्देशन दिइसकेको छ ।

अहिले रंगशालाको पहिलो चरणका काम पूरा गरी क्यानलाई हस्तान्तरण गरिएको हो । सहरी विकास मन्त्रालयका अनुसार स्वीकृत गुरुयोजना अनुसार भने यस संरचनामा थप १० अर्ब रुपैयाँ लगानी गरिने छ । यो रंगशाला एक बर्षभित्र सम्पन्न गर्ने गरी तात्कालिन प्रधानमन्त्री ओलीले अघि बढाउनु भएको थियो । तर तोकिएको समयमा काम सम्पन्न हुन सकेन ।

गत बर्ष अर्थात २०८१ असार ३१ गते गठन भएको ओली नेतृत्वको सरकारको पहिलो बैठकले कीर्तिपुरमा सुविधा सम्पन्न क्रिकेट मैदान बनाउने निर्णय गरेको थियो ।
सोही बैठकले रंगशालामा दर्शक बस्ने प्यारापिट, रात्रिकालीन खेलकुदका लागि फ्लड लाइट र अन्य संरचना बनाउने तथा त्यस कामका लागि ३ सय दिनको समयसीमा समेत निर्धारण गरेको थियो ।

तर, समयसीमा अनुसार काम भने हुन सकेन । त्यसो त चैत २०७९ मै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा कीर्तिपुर मैदानमा फ्लड लाइट जडान प्रक्रिया अगाडि बढाइएको थियो । त्यो कामले समेत गति लिन सकेको थिएन ।

पछिल्लो पटक फागुन २०८१ मा प्यारापिट निर्माण र फ्लड लाइट जडान गर्न ठेक्का लागेको थियो । २०८२ बैशाख २४ भित्र काम सक्ने गरी सुरुमा सम्झौता भए पनि पुनः म्याद थप्दै कामलाई तीव्रता दिइएको थियो । यस रंगशालामा ४३ करोड ७७ लाख लागतमा प्यारापिट निर्माण गरिएको छ । जसको क्षमता १० हजार सिट बराबर छ ।

बीकेओआई केसीडीसी बिजी जेभीले प्यारापिट निर्माण गरेको हो । फ्लड लाइट जडानको काम विशाण–ईश्वरी जेभीले गरेको हो । जसको लागत ४२ करोड १९ लाख रुपैयाँ रहेको छ ।

पछिल्लो समय सहरी विकासमन्त्री घिसिङले २३ असोजमा कीर्तिपुर मैदानको स्थलगत अवलोकन गर्दै क्रिकेट मैदान निर्माणको कामलाई सरकारले प्राथमिकता दिएको बताउनु भएको थियो । सोही क्रममा उहाँले छिटोभन्दा छिटो काम सम्पन्न गरी आयोजना हस्तान्तरण गर्नसमेत निर्माण कम्पनीलाई निर्देशन दिनुभएको थियो ।

रंगशाला हस्तान्तरण कार्यक्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्दले अब यो संरचना बनेसँगै नेपालमा पनि ‘डे–नाइट’ क्रिकेट खेल सम्भव भएको बताउनु भएको छ । यसका लागि चन्दले केपी शर्मा ओली नेतृत्वको सरकारलाई धन्यवाद दिनुभयो ।

तत्कालीन सरकारले १० महिनाको समयसीमा तोकेकै कारण तुलनात्मक रूपमा छिटो आयोजना सम्भव भएको उहाँको भनाई छ । यस्तै दोस्रो चरणको कामका लागि नयाँ सरकारले गरेको निर्णयप्रति समेत उहाँले आभार प्रकट गर्नुभएको छ ।