जनता टाइम्स

११ मंसिर २०७६, बुधबार १०:५६

यस्तो छ प्रधानमन्त्री ओलीको बुधबार विहानको अवस्था, कुराकानी गर्न थाल्नु भयो


काठमाडौं, मंसिर ११

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा बुधबार बिहानदेखि उल्लेख्य सुधार आएको छ । अस्पतालले आज विहान जारी गरेको प्रेस विज्ञप्ती अनुसार उहाको स्वास्थ्यमा उल्लेख सुधार आएको बताएको छ ।

‘सम्मानीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूको स्वास्थ्यमा समस्या आई १० गते मंगलबार विहान यस सेन्टरमा आउनु भएको र विशेषज्ञ चिकित्सकहरुबाट शल्यक्रिया पश्चात हाल सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको छ’, विज्ञप्तीमा अगाडी उल्लेख छ, ‘सम्माननीयज्यूको स्वास्थ्यमा निरन्तर सुधार आईरहेको र उहाँ अहिले राम्रोसँग कुराकानी गर्न सक्ने अवस्थामा भएको व्यहोरा जानकारी गराइन्छ ।’

सोमबार रातिदेखि एपेन्डिस दुखेपछि मंगलबार बिहानै प्रधानमन्त्री ओलीलाई अस्पताल पुर्‍याइएको थियो । स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्रीलाई भेट्न परिवारका सदस्य र पार्टीका नेता पनि बुधबार विहानदेखी अस्पताल पुग्नु भएको छ । प्रधानमन्त्री पत्नी राधिका शाक्य बिहान सवा १० बजेतिर प्रधानमन्त्रीलाई भेटेर फर्किनु भएको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि प्रधानमन्त्रीलाई भेट्नु भएको छ ।