जनता टाइम्स

१५ मंसिर २०८२, सोमबार २१:०१

एमालेमा संस्थापन र इतर समूह प्रष्टै चिनियो, केपी ओलीलाई सर्वसम्मत हुन नदिन ईश्वरको नेतृत्वमा बन्यो औपचारिक गुट


काठमाडौं, मंसिर १५ । नेकपा एमालेको ११ औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको समूहले औपचारिक रूपमा प्यानल बनाएको छ । एमालेका १९ जना पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित ६ जना पदाधिकारी समेटेर सो समूहले औपचारिक प्यानल खडा गरेको हो ।

भण्डारीको समूहले ईश्वरकै नेतृत्वमा टिम बनाएर औपचारिक रूपमा प्रचार अभियान थालेको हो । महाधिवेशन प्रचार समितिले आइतबार आयोजना गरेको लोगो सार्वजनिक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको प्रयास गर्ने तर प्रतिस्पर्धा गर्न चाहनेलाई नरोक्ने बताउनु भएको भोलिपल्ट वरिष्ठ उपाध्यक्ष ईश्वरको नेतृत्वमा ६ जना पदाधिकारी एकजुट बनेको सन्देशसहित प्रचार थालिएको छ ।

सोमवार मात्रै सो समूहले ६ जनाको प्रचार सामाग्री बनाएर गुटगत प्रतिस्पर्धा गर्ने सार्वजनिक घोषणा गरेको छ । सो समूहले महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न नदिने एक मात्र उद्देश्य रहेको सन्देशमा नै प्रष्ट देखिएको छ । एमालेमा महाधिवेशन प्रतिनिधि छनोट भइसक्दा स्पष्ट रूपमा ७५ प्रतिशत भन्दा माथि खुलेकै नेताहरू देखिएका छन् ।

एमालेको १९ पदाधिकारीमध्ये एक जना निलम्बनमा रहँदा ओलीसहित १२ पदाधिकारी एक ठाउँमा रहनुभएको छ । उपाध्यक्षहरू बिष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, बिष्णु रिमाल, सचिवहरू लेखराज भट्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्याल अध्यक्षमा केपी ओलीलाई नै कायम राख्ने पक्षमा दृढ देखिनुभएको छ ।

एमालेमा युवा नेता तथा जनसंगठनहरूले ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाउन पहलकदमी अघि बढाएर अध्यक्ष ओलीसँग विभिन्न विकल्पमा छलफल गरिरहेको बेला वरिष्ठ उपाध्यक्ष पोखरेल नै अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित भई बाहिरिने मानसिकताका साथ मैदानमा उत्रनु भएकाे छ । पोखरेल स्वयं यो कामका लागि इच्छुक नभए पनि बिगतमा १० बुँदे भनेर कहलिएका नेता र अध्यक्ष ओलीको विशेष आशीर्वाद पाएर सदाबहार लाभ नै लाभको पदमा पुगेका नेताहरूले घचेट्दै घचेट्दै भित्तामा पुर्‍याउने अवस्था सिर्जना गरेका हुन् ।

एमालेमा अध्यक्ष ओली पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन विभिन्न विकल्पमा नेता तथा कार्यकर्तासँग परामर्श गरिरहनु भएको छ । चुनाव हुँदा एक पक्षीय विजयी बनेर आउने अवस्था प्रतिनिधि छनोटले देखाएपछि त्यसो हुन नदिई सहमतिमा पदाधिकारी चयन गर्ने र आवश्यक परे आफू भने प्रतिस्पर्धा गर्न तयार रहेको सन्देश अध्यक्ष ओलीले दिइसक्नु भएको छ । चार वर्षअघि चितवनमा सम्पन्न १० औँ महाधिवेशनमा पनि अध्यक्ष ओलीले भीम रावलसँग प्रतिस्पर्धा गर्नुभएको थियो ।

नवौँ महाधिवेशनमा माधव नेपाललाई पराजित गरेर नेतृत्व लिनुभएका अध्यक्ष ओलीलाई एमालेको सर्वसम्मत अध्यक्ष बन्न नदिन रावल त्यसबेला मैदानमा उत्रनुभएको थियो भने केवल ९ प्रतिशतको हाराहारीमा मत पाएर पराजित भएपछि विधान नै अस्वीकार गरी मेरो मर्जीमा चल्छु भनेर महाधिवेशनको निर्णय नै अवज्ञा गरी हिँडिनुभएको थियो । आगामी मंसीर २७ देखि २९ गतेसम्म हुन गइरहेको ११ औँ महाधिवेशनमा पनि समूहबन्दी गर्ने नेताहरूको उठबस त्यत्ति गतिलो नभएपछि अध्यक्ष ओलीले सकेसम्म मिलाउने प्रयास गर्नुभएको थियो ।

यद्यपि उहाँमाथि संस्थापनकै नेताहरू सधैँभरि काम नगर्ने तर नेतृत्वमाथि विषबमन गरिरहनेहरूलाई बोक्न नसकिने भन्दै पदाधिकारीमा नयाँलाई स्थान भन्ने दवाव बढाइरहेका छन् । आफू निकटकै दबाब झेलेर भए पनि एकताबद्ध पार्टी बनाउने अध्यक्ष ओलीको योजना विफल पार्न र एमालेमा ओली सर्वसम्मत हुन सक्दैनन् भन्ने कतिपय विदेशीको घोषणा पूरा गर्ने गरी समूहबन्दीको काम अघि बढेको कार्यकर्ताको बुझाइ छ ।

सोमवार भण्डारी पक्षधरले मदन भण्डारी शतवार्षिकी समारोहका लागि भनि यसअघि खडा गरिएको कार्यालयमा बसेर पोष्टर नै सार्वजनिक गरेको छ । जसको उद्देश्य एमालेमा ‘केपी ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न दिन्नौँ’ भन्ने प्रष्ट देखिन्छ । एमालेमा कार्यकर्ताहरूले स्वतःस्फूर्त रूपमा ‘जोगाउन देशको अस्तित्व, केपी ओलीको नेतृत्व’ भन्ने अभियान चलाएर सर्वसम्मत बनाउने पहल थालेपछि भण्डारी समूहले सर्वसम्मत हुनै दिन्नौँ, उम्मेदवार उठाएर बाहिरिन्छौँ’ भन्ने धम्कीपूर्ण सन्देश प्रवाह गरेको हो ।

सो समूहले सर्वसम्मत हुन दिन्नौँ भन्ने उद्घोष गर्न ‘लोकतान्त्रिक पार्टी, समुन्नत देश ! नयाँ नेतृत्व नयाँ सन्देश’ भन्ने नारा दिएको छ । यसको अर्थ एक व्यक्ति विरुद्ध केन्द्रित रहेको सोझो रूपमा बुझिने एमाले कार्यकर्ताको भनाई छ । मिति नजिकिँदै जाँदा संस्थापनका नेताहरू महाधिवेशनको तयारीमा जुटिरहँदा सो समूह आजकल हरेक दिन झुटो प्रचार गर्ने, अध्यक्षमाथि साइबर हमला गरेर मनपरी लेख्न लगाउने काममा जुटेको सामाजिक सञ्जालका पोष्टहरूले प्रष्टै पारिसकेको छ 

उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई यो अभियानको नेतृत्वकर्ता बन्नुभएको छ । पदाधिकारीमा एक तिहाइ पुर्‍याएको सो समूहले महाधिवेशन प्रतिनिधि छनोटमा अत्यन्त न्यून देखिएपछि दुष्प्रचार समेत थालेको छ । ६ जना बाहेक एमालेका सबै पदाधिकारी स्पष्ट रूपमा अध्यक्ष ओलीको पक्षमा रहेको तथ्य बङ्ग्याउँदै अफवाह फैलाउने काम  सो समूहले गरेको छ। सो अफवाहलाई अध्यक्ष ओलीलाई सुइँकोसमेत नदिएर कार्यकर्ता पङ्कीले पानीको फोका सरह बनाइदिएपछि ‘हारिन्छ तर सर्वसम्मत छोडिन्न’ भन्ने बाटोतिर सो समूह अघि बढेको हो ।

सो समूहले सर्वसम्मत हुन दिन्नौँ भन्ने उद्घोष गर्न ‘लोकतान्त्रिक पार्टी, समुन्नत देश ! नयाँ नेतृत्व नयाँ सन्देश’ भन्ने नारा दिएको छ । यसको अर्थ एक व्यक्ति विरुद्ध केन्द्रित रहेको सोझो रूपमा बुझिने एमाले कार्यकर्ताको भनाई छ । महाधिवेशनको मिति नजिकिँदै जाँदा संस्थापनका नेताहरू महाधिवेशनको तयारीमा जुटिरहँदा सो समूह आजकल हरेक दिन झुटो प्रचार गर्ने, अध्यक्षमाथि साइबर हमला गरेर मनपरी लेख्न लगाउने काममा जुटेको सामाजिक सञ्जालका पोष्टहरूले प्रष्टै पारिसकेको छ ।

अध्यक्ष ओलीमाथि अफवाह फैलाउने तर संस्थापनतिर दोष थोपर्ने योजना सो समूहले अपनाएको देखिन्छ । सो समूहले ईश्वर पोखरेलको तस्बिर राखेर प्रचार गर्दै आएको ‘रेड क्यानभास’ नामक फेसबुक पेजबाट एमाले नेतृत्वलाई मनपरी गालीगलौज सुरु गरेको छ भने ६ नेताको पोष्टर पनि सोही पेजमार्फत सार्वजनिक गरिएको छ ।

यो फेसबुक पेज भरत सिंह धामी लिपुलेकले सन २०१९ को मे १९ मा क्रियट गरेको देखिन्छ । जसलाई क्रमशः क्रिटिकल थिंकिङ, विद्या भण्डारी अ नेशनल आइकन, रेड होराइजन हुँदै १२ पटक पेजको नाम परिवर्तन गरी सन २०२५ अक्टोबर २५ बाट ‘रेड क्यानभास’ बनाइएको देखिन्छ । यो पेजको एकाउण्ट आइडीका एडमिनमा थुप्रै व्यक्ति रहेको देखिन्छ तर अपराध खुल्ने डरले त्यसलाई अरूले हेर्न नमिल्ने बनाइएको छ ।