जनता टाइम्स

२१ मंसिर २०८२, आईतवार १०:४०

माओत्से तुङ मेमोरियल हल : विचार, इतिहास र भविष्यसँगको साक्षात्कार


-कृष्णहरि केसी-

चीनको यात्रा आरम्भ गर्दा नै माओत्से तुङको नाम अन्तर्मनमा गुञ्जिएको थियो । उहाँले लेखेका पुस्तक, उहाँका उद्धरण त धेरै पढिएकै हो । चीन पुगेपछि “माओत्से तुङ मेमोरियल हल” पुग्ने र क. माओप्रति सम्मान प्रकट गर्ने चाहाना हर कोही कम्युनिष्टको हुन्छ नै । चीनको राजधानी टेक्ने बित्तिकै विशाल सडकमा द्रुत गतिमा दौडिरहेका सवारी साधनहरू, चकित पार्ने गगनचुम्बी भवनहरू र विकसित सहरको चमक–दमकले चीनको गतिशीलताको परिचय गराएकै थियो । चीन पुगेपछि करिब ४ महिनाका बिचमा चीनका धेरै प्रान्तहरू, सहरहरू, गाउँहरू, उद्योगहरू, कला, संस्कार र संस्कृतिहरूसँग साक्षात्कार गर्ने मौका मिल्यो । तर गतिशील चीनको छातीमा स्वयं निश्चल भएर, स्थिरताका साथ सुतिरहेको इतिहास भेट्ने रहर भने पुरा भएको थिएन ।

समाजको प्रगतिशील रूपान्तरणको यात्रामा समाहित हुदाताका देखि नै क. माओ मेरा दिल र दिमागमा बस्नु भएको थियो ।  त्यसले पनि मलाई निरन्तर त्यतातिर तानिरहेको थियो । यस यात्राको क्रममा सिचुवान प्रान्त पुग्दा भेट भएका एकजना चिनीयाँ साथी साइमनसँग माओ मेमोरियल हल जान पाए हुन्थ्यो भनेको थिएँ । करिब १ महिना पछि उहाँ बेइजिङ आएर त्यहाँ जाने चाँजोपाँजो मिलाउनु भएछ।

हामी बिहानै लाइन बस्न पुग्यौँ । करिब ४९ वर्ष देखि शान्त–गम्भीर निद्रामै विश्व–क्रान्तिको महानायक सुतिरहेको त्यो स्थानमा पुग्दा अझ श्रद्धा र सम्मान बढेर आयो । यो मेमोरियल हल चेतनाको जरा फैलाउँदा, राजनीतिक विश्वासको मूल स्रोत पत्ता लगाउँदा र कम्युनिष्ट आन्दोलनप्रति सही तवरले समर्पित हुने जीवन पथको दिशा देखाउँदा मानिस सदा जीवित हुने रहेछ भन्ने ठुलो पाठशाला बनेको छ । आधुनिकताको यो विशाल चीनलाई बुझ्ने हो भने, माओ बुझ्नु पर्छ । माओ चीनको समृद्धिको इतिहास, दर्शन र आत्माको प्रतीक हुनुहुन्छ। त्यसैले माओ चीनमा भगवान् जसरी पुजिन्छ । उहाँको मृत शरीर हेरेर श्रद्धासुमन व्यक्त गरिन्छ ।

धेरै चिनियाँ माओको समाधि स्थल एक पटक त पुग्नै पर्छ भनेर त्यहाँ गइरहेका हुँदा रहेछन् । माओको नेतृत्वमा चीनले गरेको क्रान्ति, जनताको सामूहिक शक्ति र समाजवादप्रतिको अविचल आस्थालाई स्मरण गर्दा रहेछन् । दृढसंकल्पित हुने अठोट लिँदा रहेछन् । त्यहाँ पुगेपछि समय, राजनीति र इतिहास तीनवटा यात्राहरूको एकै मिलन विन्दुको त्रिवेणीमा पुगेजस्तो अनुभूति हुँदो रहेछ । जहाँ एक व्यक्ति होइन, एक युग सुतिरहेको छ । जहाँ शरीर निश्चल छ, तर विचार जीवित छन् । जहाँ मौनताले शब्दभन्दा गहिरो भाषामा राष्ट्रनिर्माण, बलिदान र जनसेवाको कथा सुनाइरहेको छ ।

चीनको राजनीतिक–विचारधारात्मक इतिहास बुझ्न चाहनेका लागि बेइजिङस्थित माओत्से तुङ मेमोरियल हल केवल एउटा स्मारक भवन मात्रै नभएर चीनको आधुनिकताको यात्रा, क्रान्तिको मूल्य र राष्ट्रनिर्माणको अनुशासन बुझाउने प्रत्यक्ष पाठशाला हो । त्यसैले मेरा लागि माओ मेमोरियल हलको भ्रमण केवल एक पर्यटकको अनुभव मात्रै नभएर क. माओ र उहाँको विचारप्रति आस्था राख्ने एक कम्युनिष्ट कार्यकर्ताको दृष्टिबिन्दुबाट इतिहाससँग गरिएको मौन संवाद थियो ।

चिनियाँ जनताको आदर्श माओ

सन् १८९३ डिसेम्बर २६ मा हुनान प्रान्तका किसान परिवारमा जन्मिएका माओत्से तुङ राजनीतिक वातावरणमा नभएर कठोर परिश्रम, चीनको सामन्ती समाजका असमानता, गरिबी र राष्ट्रिय अपमानका बिच हुर्किनु भएको थियो । किशोरवयमै वुहान र चाङ्सा क्षेत्रमा सम्पन्न भएको सिन्हाइ क्रान्ति (१९११)ले उहाँको चेतनामा गहिरो प्रभाव पारेको थियो । उहाँले युवा अवस्थामा एक शिक्षक, पुस्तकालयका कर्मचारी र विचार–अध्ययन समूहका संयोजकका रूपमा समेत काम गर्नु भएको थियो ।

सन् १९२१ मा साङ्घाईमा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनामा सहभागी हुँदासम्म माओले स्पष्ट बुझिसक्नु भएको थिए कि “चीनको समस्या केवल शासन परिवर्तनले मात्रै सम्भव छैन । त्यसका लागि वर्गसंघर्ष मार्फत उत्पादन सम्बन्धमा रूपान्तरण गरी सामन्तवादका जरासम्म उखेल्नुपर्छ र श्रमजीवी वर्गको राज्यसत्ता स्थापना गर्नुपर्छ ।”  त्यसको लागि किसान र मजदुरलाई सचेत र एकताबद्ध गर्दै सङ्घर्ष गर्नु क्रान्तिको ठिक तरिका थियो । किसान आन्दोलनमा गहिरो रूपमा संलग्न हुँदा माओले पहिचान गर्नुभएको थियो कि चीनको अर्धसामन्ती अर्धऔपनिवेशिक समाजमा क्रान्तिको मुख्य शक्ति मजदुर वर्गभन्दा बढी किसान वर्ग नै हुनेछ । यही दृष्टिकोणले गर्दा चीनमा क्रान्तिको स्वरूप नै बदलिदिएको थियो ।

सन् १९२७ को कुओमिन्ताङ सरकारको दमन चिनियाँ कम्युनिष्टहरूका लागि ठुलो घात थियो । हजारौँ कार्यकर्ताहरूको हत्या, यातना र गिरफ्तारी भएको थियो । त्यसपछि माओ पार्टीभित्र पनि आलोचनाको निशानामा पर्नु भएको थियो । किसानलाई प्राथमिक शक्तिको रूपमा हेर्ने उहाँको दृष्टिकोणलाई धेरैले “विचलन” भनेर कटु आलोचना गरेका थिए । तर यही कठिन मोडबाट उहाँ इतिहासको महत्त्वपूर्ण पात्र बन्नुभयो । सन् १९३४–३५ को ‘लङ मार्च’, जसमा करिब ८६,००० जनाले साझा सङ्कल्प गरेर यात्रामा होमिएका थिए-हजारौँ किलोमिटर लामो पहाड, नदी, हिमाल, दलदल, असह्य चिसो–गर्मी, भोक–प्यास, लगातार युद्धको घेराबन्दी र स्थानीय प्रतिक्रियावादी दलबलको आक्रमण जस्ता कठोर बाधाहरू थिए । यो मार्चले २४ वटा नदी, १८ वटा पहाडे दर्रा र विश्वका सबैभन्दा कठिन भूभाग मध्ये पर्ने स्नो माउन्टेन्स तथा ग्रासल्याण्ड्स पार गरेको थियो । यस क्रममा केवल ७–८ हजार क्रान्तिकारी मात्र अन्तिममा बाँचेर पुगेका थिए ।

माओको नेतृत्व–क्षमता, सैन्य बुद्धिमत्ता र राजनीतिक धैर्यको सबैभन्दा ठुलो परीक्षा थियो । यो ९,००० किलोमिटरको यात्रा केवल रणनीतिक फिर्ता मात्र नभएर क्रान्तिको पुनर्जन्म थियो । १९३५ को जुन सम्मेलनपछि माओ पार्टी नेतृत्वको मूल केन्द्रमा स्थापित हुनु भएको थियो । दोस्रो विश्वयुद्धमा जापानी आक्रमणविरुद्ध कम्युनिष्ट नेतृत्वमा सञ्चालित प्रतिरोधले उहाँप्रति जनआस्था झनै बढाएको थियो । अन्ततः १९४९ मा जनवादी गणतन्त्र चीन स्थापनासँगै उहाँ केवल पार्टीका नेता मात्रै होइन, आधुनिक चीनका संस्थापक बन्न पुग्नु भयो ।

१९४९ पछि माओले चीनलाई तत्कालीन विश्वका सबैभन्दा गरिब, सामन्ती र विदेशी हस्तक्षेपग्रस्त मुलुकबाट समाजवादी मार्गमा उभ्याउन कठोर अभियान चलाउनुभयो । भूमिसुधार, कृषिमा सामूहिक करण, उद्योगको राष्ट्रियकरण, शिक्षाको विस्तार र जीवनोपयोगी शिक्षा, महिलाहरूको सामाजिक–राजनीतिक सहभागिता जस्ता क्रान्तिकारी कार्यक्रम लागू गर्नुभयो। यी उपलब्धिहरूले चीनको शताब्दीऔँ पुरानो संरचना भत्काइदियो । चीन विश्वमै सबैभन्दा बढी साक्षरता वृद्धि गर्ने देशमध्ये पर्‍यो । तथापि माओको नेतृत्व विवादरहित भने थिएन । ग्रेट लिप फर्वर्ड (१९५८–६२) को नीतिगत त्रुटिले ठुलो समस्या सिर्जना गरेको थियो ।

सांस्कृतिक क्रान्ति (१९६६–७६)ले बौद्धिक, राजनीतिक र संगठनात्मक संरचनामा समेत कठोर प्रभाव पार्‍यो । यद्यपि यी घटनाहरू केवल राजनीतिक भूल मात्र थिएनन् । चिनियाँ सत्ता संरचना, वर्ग सङ्घर्ष, र पार्टीभित्रका कट्टरपन्थी–संशोधनवादी भिडन्तको परिणाम पनि थियो । धेरैजसो विद्वानका अनुसार सांस्कृतिक क्रान्तिबाट माओलाई कमजोर बनाउने, पार्टी नेतृत्व कब्जा गर्ने र चीनलाई सोभियत मोडलमा लैजाने “भित्री राजनीतिक गठबन्धन” का योजनाहरू पनि थिए । जसविरुद्ध माओले कठोर प्रतिरोध गर्नुभयो। इतिहासले उहाँको योगदान र गल्ती दुवै लेखेको छ, तर चीन निर्माणमा उहाँको भूमिका सर्वस्वीकार्य र अतुलनीय छ ।

माओत्से तुङलाई आज चिनियाँहरूले “महान् क्रान्तिकारी, रणनीतिकार र राष्ट्रनिर्माता” का रूपमा स्मरण गर्छन् । चिनियाँहरू विशेष गरी पाँच कारणले माओलाई पुज्दछन् । पहिलो, चीनको राष्ट्रिय एकता र सार्वभौमिकताको आधारशिला माओकै नेतृत्वमा तयार भएको हो । दोस्रो, चीनलाई पश्चिमी उपनिवेशवाद, जापानी आक्रमण र आन्तरिक विभाजनबाट उकासेर “स्वाभिमानी राष्ट्र” बनाउने पहिलो नेतृत्व माओ नै हुनुन्थ्यो । तेस्रो, चीनको आधुनिक औद्योगिक आधार, कृषि सुधार, महिला अधिकार, राष्ट्रिय शिक्षा, स्वास्थ्य सेवा, जनसेना निर्माण यी सबै माओले नै सुरु गर्नु भएको हो । चौथो, उहाँको विचार आज पनि विश्वकै ५० भन्दा बढी कम्युनिष्ट तथा समाजवादी पार्टीहरूको वैचारिक आधार बनेको छ । पाँचौँ, चिनियाँ युवामा माओप्रति सम्मान केवल इतिहासकै कारण मात्रै नभएर आजको चीन विश्वको दोस्रो ठुलो अर्थतन्त्र माओको विचार र योजनाले राष्ट्रनिर्माणको जगमा उठेको हो भन्ने स्वीकारोक्ति ।

माओको देहान्त पछि चीनले विकासका धेरै नयाँ रूपहरू अपनाइसक्यो । तर राष्ट्रिय गौरव, आत्मनिर्भरता, विदेशी हस्तक्षेपविरुद्धको दृढता, र “जनता नै शक्ति” भन्ने राजनीतिक चेतनामा माओको छाया अझै छ । त्यसैले माओ चीनका लागि केवल भूतकाल होइन- राष्ट्रको आधुनिकता, आत्मविश्वास र राजनीतिक मेरुदण्डका स्थायी प्रतीक बनेर वर्तमान भएर उभिनु भएको छ ।

तियानान्मेन चोक : ऐतिहासिक र राजनीतिक केन्द्र

तियानान्मेन चोक बेजिङको मुटुमा अवस्थित विश्वकै सबैभन्दा ठुलो सार्वजनिक चोक हो । यसको क्षेत्रफल करिब ४० हेक्टर  (४,००,००० वर्गमिटर) रहेको छ । विशाल क्षेत्र, सुव्यवस्थित संरचना र खुला ठाउँले ठुलो भीड, सैन्य परेड, राष्ट्रिय उत्सव र सार्वजनिक कार्यक्रमहरू सजिलै आयोजना गर्न सकिन्छ । चोकको नाम “तियानान्मेन” अर्थात् “गगन प्रवेशद्वार” प्राचीन बेइजिङको प्रवेशद्वारसँग सम्बन्धित छ ।

तियानान्मेन चोक चारैतिर ऐतिहासिक र सांस्कृतिक महत्वका संरचनाले घेरिएको छ । पूर्वमा तियानान्मेन गेट, पश्चिम र पूर्वमा राष्ट्रिय म्युजियम र राष्ट्रिय ग्राण्ड थिएटर, उत्तरमा ग्रेट हल अफ द पिल्स, र दक्षिणमा माओत्से तुङ मेमोरियल हल रहेको छ । यो चोक १९४९ मा पिल्स रिपब्लिक अफ चाइना घोषणा, सांस्कृतिक क्रान्ति सम्बन्धी कार्यक्रमहरू, र विभिन्न विरोध प्रदर्शनहरू जस्ता धेरै ऐतिहासिक घटनाहरूको साक्षी बनेको छ ।

तियानान्मेन चोकको दक्षिण भागमा अवस्थित ५७,२०० वर्गमिटर रहेको माओत्से तुङ मेमोरियल हल चीनका ७ लाख नागरिकको स्वयंसेवाबाट करिब २ वर्षमा सन् १९७७ मा निर्माण सम्पन्न गरिएको थियो । यस हलको मुख्य उद्देश्य अध्यक्ष माओको पार्थिव शरीरलाई सुरक्षित राख्नु र जनताका लागि सार्वजनिक श्रद्धाञ्जली स्थल प्रदान गर्नु नै हो । हलको वास्तुकला परम्परागत चिनियाँ शैली र समाजवादी युगको भव्यतालाई समेटेर तयार पारिएको छ ।

भित्र प्रवेश गर्दा शान्त र मौन वातावरण महसुस हुन्छ । मुख्य आकर्षण हो, काँचको पारदर्शी कक्षमा माओको पार्थिव शरीर । बाहिरी हलमा माओको विशाल सालिक राखिएको छ । जहाँ दैनिक हजारौँ नागरिक फूल अर्पण गर्दै श्रद्धा प्रकट गर्छन् ।

मेमोरियल हलमा प्रवेश पूर्णतया सुरक्षित र व्यवस्थित छ । फोटो खिच्न निषेध छ, र भ्रमणकर्ताले मौन र अनुशासित ढंगले श्रद्धा प्रकट गर्नुपर्छ । दैनिक औसत ३० हजार मानिसहरू हल भ्रमण गर्छन् । यस स्थलको अनुशासन, सुरक्षा र व्यवस्थापनले चीनमा माओप्रतिको सम्मान र जनताको राजनीतिक चेतनालाई स्पष्ट रूपमा देखाउँछ ।

प्रवेशका लागि अनलाइन टिकट अनिवार्य

माओत्से तुङ मेमोरियल हल भ्रमणका लागि टिकट अनिवार्य छ । त्यो पनि अनलाइन मार्फत मात्रै सम्भव छ । यस प्रणालीको उद्देश्य केवल प्रवेश सुविधा सुनिश्चित गर्नु मात्र होइन, हलभित्रको शान्ति, संरचना संरक्षण र सुरक्षा व्यवस्थापनलाई पनि कायम राख्नुमा निहित छ । चीनको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक एवं ऐतिहासिक स्थलमा दैनिक हजारौँ आगन्तुक आउने गर्दछन् ।

हलको मौन वातावरण र अनुशासन कायम राख्नका लागि पनि अनलाइन बुकिङ अत्यन्त उपयोगी भएको छ । टिकट बुकिङ कम्तीमा एक हप्ता अगाडि नै गर्नुपर्ने भएता पनि  व्यवस्थापकीय दृष्टिले अत्यन्त प्रभावकारी छ । भ्रमणको मिति, समय, व्यक्तिगत विवरण र पासपोर्ट नम्बर भर्नुपर्छ । भुक्तानी डिजिटल माध्यमबाट गर्नुपर्छ, र प्रवेशको लागि मोबाइल वा प्रिन्ट गरिएको टिकट देखाउनु अनिवार्य छ । प्रवेश गर्दा अत्यन्त कडा सुरक्षा जाँच हुन्छ । मोबाइल फोन, क्यामेरा, ब्याग लगायत केही साधनहरू प्रायः निषेध रहेको छ । हलमा प्रवेश गर्ने बेलादेखि सबैले टोपी फुकाल्नु पर्नेछ । हलभित्र फोटो खिच्न पाइँदैन र मौन रहनुपर्ने नियम कडाइका साथ पालन गर्नुपर्छ । फूल अर्पण र श्रद्धा प्रकट गर्ने सम्पूर्ण गतिविधि सुव्यवस्थित मार्ग र समय तालिकाका आधारमा मात्र गरिन्छ, जसले दैनिक हजारौँ दर्शकको भीड व्यवस्थापन गर्न सजिलो बनाएको छ ।

यो केवल प्रशासनिक सुविधा वा सुरक्षा उपाय मात्र नभएर यसले चीनको राजनीतिक सम्मान, राष्ट्रिय चेतना र माओत्से तुङप्रतिको श्रद्धाको प्रत्यक्ष सङ्केत पनि दिन्छ । मंगलबारदेखि आइतबारसम्म बिहान ८ बजेदेखि १२ बजेभित्र मात्रै हलभित्र प्रवेशको व्यवस्था रहेको छ । जुलाई र अगस्टमा भने बिहान ७ बजेदेखि १२ बजेसम्म प्रवेशको सुविधा रहेछ । उक्त हलमा माओको जन्म जयन्ती डिसेम्बर २६ र स्मृति दिवस सेप्टेम्बर ९ का दिन चाहिँ लाखौँ दर्शक हुने भएकाले दिउसो २ देखि ४ बजेसम्म गरी दुई सिफ्टमा हलमा प्रवेशको व्यवस्था मिलाइएको रहेछ ।

यहाँ प्रवेश गर्नु भनेको केवल पर्यटन होइन, यो चीनको क्रान्ति, माओवादी विचारधारा, राष्ट्र निर्माण र राष्ट्रिय गौरवसँग प्रत्यक्ष संवाद गर्ने अनुभव हो, जहाँ प्रत्येक कदमले ऐतिहासिक स्मरण, सामाजिक अनुशासन र राजनीतिक चेतनाको मिश्रण बुझाउँछ । अनलाइन टिकट बुकिङको प्रणाली, सुरक्षा जाँच र नियम व्यवस्थाले यस स्थललाई केवल स्मारक मात्रै नभएर चिनियाँ इतिहास र भविष्यको प्रत्यक्ष अनुभवस्थल बनाएको छ । जसले भ्रमणकर्तालाई केवल भौतिक रूपमा होइन, मानसिक र वैचारिक रूपमा पनि माओको दृष्टिकोण र चीनको राष्ट्रिय कथा पढाउँछ ।

पारदर्शी कक्षमा सुतिरहेका माओ

मुख्य हल पार गरेपछि पुगिन्छ-काँचको घर, जसको भित्र अध्यक्ष माओको पार्थिव शरीर राखिएको छ । करिब आधा सताब्दी देखि उनी बिलकुलै शान्त, स्थिर, अनन्त निश्चलताको अवस्थामा सुतिरहेका छन् । यसबिचमा चीनले विशाल परिवर्तन गरिसकेको छ । गरिब मुलुकबाट विश्वको दोस्रो ठुलो अर्थतन्त्र, करोडौँ जनता गरिबीबाट मुक्त, विज्ञान, उद्योग, पूर्वाधार, अन्तरिक्ष–सबैतिर छलाङ हानिसकेको छ । तर माओ अदम्य प्रेरणा स्रोत बनेर त्यहीँ अचल सुतिरहेका छन् । काँच बाहिरबाट देखिँदा पनि उनको अनुहारमा एउटा अनौठो सौम्यता देखिन्थ्यो । जसले इतिहासलाई रोकेर राखिदियो ।

विश्व–इतिहास बदल्ने व्यक्तित्वको एक कदम टाढा उभिँदा मनमा अजीव कम्पन उठ्दो रहेछ । यतिका धेरै वर्षपछि पनि उहाँ  कति जीवित हुनुहुन्छ, कति प्रभावशाली हुनुहुन्छ । लाग्थ्यो, फेरी माओ उठिदिनुहाेस्, बोलिदिनुहाेस्  र सारा विश्वलाई भनिदिनुहाेस् कि “जनताका लागि काम गर ।”

मेमोरियल हल केवल शव राखिएको स्थान मात्रै होइन-यो त चिनियाँ क्रान्तिको कक्ष हो । राजनीतिक विश्वासको पाठशाला हो । राष्ट्रनिर्माणप्रतिको अनुशासनको प्रतिमूर्ति हो ।

बाहिर निस्कँदा एक प्रकारको मौन सन्देश मनमा अंकित थियो । ‘क्रान्ति केवल पाठ्यपुस्तकको कुरा होइन, जनताकै जीवनमा बस्नुपर्ने अनुशासन हो’- त्यही सन्देश बोकेर म अर्को भीडसँगै बाहिरिएँ-‘इतिहास छाडेर तर इतिहासले छोडेको पथ अवलम्बन गर्ने सङ्कल्प लिएर ।’