जनता टाइम्स

२२ मंसिर २०८२, सोमबार ११:२०

एघारौं एमाले महाधिवेशन : कसरी बन्ला नेतृत्वमा सहमति ?


एउटा बैचारिक रूपले सुदृढ, सशक्त र एकतावद्ध पार्टीले निरन्तरता पाउने छ । नेतृत्व निर्माणको बखत कसैले कुनै पदमा आकाङ्क्षा राख्दैमा आकासै खसेकोजस्तो टिकाटिप्पणी हुनुचाहिँ आश्चर्यजनक छ 

निर्मल भट्टराई

देशकै सबभन्दा ठूलो कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एघारौं राष्ट्रिय महााधिवेशन सङ्घारमा आइपुगेको छ । २०७८ सालमा चितवन महाधिवेशनले निर्वाचित गरेको मौजुदा केन्द्रिय कमिटीको म्याद विधानतस् एक वर्ष बाँकी छँदै आयोजना हुन लागेको यो महाधिवेशनमा सम्पूर्ण पार्टी पङ्क्तिमा नयाँ रक्तसञ्चार पैदा भएको छ ।

भाद्र २३ गतेको जेन जी आन्दोलन र २४ गतेको विध्वंसपछि सिर्जित नयाँ परिस्थितिमा एमालेले यति चाँडो आफूलाई लयमा फर्काउन सक्छ कि सक्दैन भन्ने चिन्ता सिङ्गो पार्टी पङ्क्तिबाट दुर भएको छ । जेन जी आन्दोलन र त्यसको आडमा अर्को दिन भएको वितण्डा एमालेलाई सिध्याउने लक्षका साथ मञ्चन गरिएको थियो भन्ने तथ्य पार्टीको तृणमूल तहसम्म प्रष्ट भएपछि एमालेको सिङ्गो पङ्क्ति जुरुक्क उठेको छ ।

देशलाई तहसनहस पारी संविधानको प्रावधान कुल्चेर बनेको वर्तमान सरकारले एमााले अध्यक्ष केपी शर्मा ओलीलाई स्थानहद गर्ने, बयानमा बोलाउने र उहाँविरुद्ध नक्कली मुध्दा बनाउने सरकारी प्रयासलाई देशभरका एमालेका नेता, कार्यकर्ता र पार्टी शुभेक्छुक जनताले सडकमै आएर निस्तेज पारि दिएका छन् । पार्टीको नेतृत्वमा प्रदर्शित राष्ट्रवादी अडान, सुरू गरिएका दीर्घकालीन विकास परियोजना र अराजकताविरोधी तागतसँग डराएर एमालेलाई गरिएको चौतर्फी घेराबन्दी चिर्न एमाले पार्टी एक हदसम्म सफल भएको छ । एमालेको नेतृत्व फेर्नु पर्छ भनेर पार्टी बाहिर बहस भइरहेको बेला पार्टीका निर्वाचित महाधिवेशन प्रतिनिधिले के-कस्तो फैसला दिन्छन्,सर्वत्र चासोका साथ हेरिएको छ । चितवन महाधिवेशनभन्दा भिन्न परिवेशमा हुन लागेको यो महाधिवेशन ऐतिहासिक बन्ने निश्चित छ।

अधिकांश निर्वाचन क्षेत्रमा सर्वसम्मति र केही ठाउँमा निर्वाचनको विधिबाट एमालेको एघारौं महाधिवेशनको लागि प्रतिनिधि चयनको काम लगभग पूरा भएको छ । छोटो तयारीमा भएको आन्तरिक निर्वाचनमा आमरुपमा ६० प्रतिसतभन्दा पार्टी सदस्यको उपस्थित हुनुलाई अन्यथा व्याख्या गर्न मिल्दैन। पार्टीका महाधिवेशन र अधिवेशनहरूमा न्यूनतम तेत्तीस प्रतिसत महिला प्रतिनिधित्वको सुनिश्चितता गर्दै आएको एमालेले यसपालि नयाँ पुस्ताको भावनालाई प्रतिनिधित्व गर्न पहिलो पटक छुट्टै युवा क्लस्टर निर्माण गरेर युवा प्रतिनिधिको छनोटको व्यवस्था मिलाएको छ । जेन-जी आन्दोलनको भावनालाई पहिलो पटक औपचारिक रुपमा सम्बोधन गर्ने पार्टी एमाले नै भएको छ ।

गत भाद्रमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पार्टीको विधि-विधान र नीतिसम्बन्धी सबै काम सम्पन्न गरिसकेको हुनाले यो महाधिवेशनको मुख्य काम नेतृत्वको निर्वाचन मात्र हो । देशको विषम परिस्थिति, प्रचण्डको नेतृत्वमा एमालेविरोधी गाली मास्टरहरुको गठजोड र राष्ट्रिय राजनीतिको मियो बनेका एमाले अध्यक्ष के पी शर्मा ओलीलाई पार्टीबाट पनि सत्ताच्यूत गर्न कम्मर कसेर लागेका देशी(विदेशी प्रतिक्रियाावादी तत्वबारे भलिभाँती जानकार अधिकांश महाधिवेशन प्रतिनिधिहरू उहाँकै नेतृत्व निरन्तरताको पक्षमा उभिएका छन् भने एघारौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा खुलेको सानो पङ्क्ति पनि अहिलेको एमालेको यथार्थ हो ।

फागुन २१ गते आम निर्वाचन तोकिएको छ । हालको देशको परिस्थितिमा नाटकीय परिवर्तन नआए तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन हुनेछ । निर्वाचनको सङ्घारमा हुन लागेको एमाले महाधिवेशन एकताको महाधिवेशन हुनेछ । तबमात्र एमालेको एघारौं महाधिवेशनको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, सुखी नेपाली, समृध्द नेपाल राष्ट्रिय गन्तव्य’ सार्थक हुनेछ ।

एमालेभित्रको ‘शक्ति(सङ्घर्ष’लाई भयावह रुपमा प्रस्तुत गर्ने एमालेविरोधी मिडियाहरू, एमाले महाधिवेशनपछि झर्ला र खाउँला भन्दै ढोक्सा थापेर बसेको प्रचण्ड मण्डली र एमाले सिध्याउन चाहने देशी विदेशी प्रतिक्रियावादी तत्व त्यतिवेला हिस्स पर्नेछन्, जतिवेला एमालेले महाधिवेशनबाट सर्वसहमतिमा नेतृत्व निर्माण गर्नेछ । एउटा बैचारिक रूपले सुदृढ, सशक्त र एकतावद्ध पार्टीले निरन्तरता पाउने छ । नेतृत्व निर्माणको बखत कसैले कुनै पदमा आकाङ्क्षा राख्दैमा आकासै खसेकोजस्तो टिकाटिप्पणी हुनुचाहिँ आश्चर्यजनक छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केही समय अघि एक अन्तरवार्तामा भन्नु भएको थियो(‘जहाँ ईश्वर, त्यहाँ एमालेको संस्थापन’। विगत लामो समयदेखि त्यस्तै हुँदै आएको पनि छ । आम नेता(कार्यकर्ताको भावना र परिवर्तित परिस्थितिमा उहाँले प्रयोग गर्नुभएको त्यो वाक्यांशलाई ‘जहाँ संस्थापन, त्यहाँ ईश्वर’ भनेर मिलाउन सके सहमतिको नेतृत्व निर्माण गर्ने सूत्र फेला पर्छ । नेतृत्वको निर्वाचनमा पराजित भएर विभिन्न समयमा बाहिरिएका माधव नेपाल, झलनाथ खनाल र भीम रावलभन्दा विल्कुलै फरक र सम्यक स्वभाव भएका ईश्वर पोखरेल सहमतिबाट विमुख हुनुहोला भन्ने कल्पना पनि गर्न सकिन्न ।

एमाले पार्टीको संगठन निर्माण र विचार निर्माणमा महत्वपूर्ण योगदान गर्नु भएका ईश्वर पोखरेलले जीवनको उत्तरार्ध्दमा पार्टी एकता र सहमतिमा खलल हुने काम गर्नुहुन्छ भन्ने विश्वास गर्न एमाले पङ्क्ति तयार छैन। अर्कातिर पूर्व राष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा ल्याएर उहाँको नेतृत्वमा बस्न तयार ईश्वर पोखरेल ओलीको नेतृत्वमा अझै एक कार्यकाल बस्न नसक्ने कुनै कारण छैन । यसर्थ एमालेको नेतृत्व सहमतिमा निर्माण हुने नै बलियो संभावना छ ।

महाधिवेशनमा सहमतिको नेतृत्व निर्माण गर्नुको विकल्प छैन । यस्तो संवेदनशील घडीमा झिना मसिना विषय उचालेर नेता विशेषलाई देवत्वकरण वा दानवीकरण गर्ने विषय किमाार्थ मार्क्सवादसम्मत छैन, यसमा समस्त एमालेजन सचेत नै छन् । जेन जी आन्दोलनपछि आफ्नो अस्तित्व रक्षाको लागि कोही विचार(सिध्दान्त छोडेर भागे, कोही पार्टीको सटर बन्द गरेर भागे, कोही अनिर्णयको बन्दी बने। एमालेमात्र आफ्नो गन्तव्यमा अविचलित हिड्न सक्ने एकमात्र पार्टी बनेको छ । एघारौं महाधिवेशनको भव्य सफलताको लागि एमालेको शीर्ष नेतृत्वबाट संयम, सहकार्य, दम्मदोहन र ठोस स्थितिको ठोस विश्लेषण अपेक्षित छ । संस्कृतमा एउटा वाक्य छ(‘अधो गच्छन्ति तामसास्’ कसैले पनि तामस देखाएमा भविश्यमा पार्टीमा समस्या आउन सक्छ ।

फागुन २१ गते आम निर्वाचन तोकिएको छ । हालको देशको परिस्थितिमा नाटकीय परिवर्तन नआए तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन हुनेछ । निर्वाचनको सङ्घारमा हुन लागेको एमाले महाधिवेशन एकताको महाधिवेशन हुनेछ । तबमात्र एमालेको एघारौं महाधिवेशनको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, सुखी नेपाली, समृध्द नेपाल राष्ट्रिय गन्तव्य’ सार्थक हुनेछ ।