जनता टाइम्स

२७ मंसिर २०८२, शनिबार १६:०८

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रद्वारा कडा निन्दा


काठमाडौ, मंसिर २७। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता व्यक्त गर्नु भएकाे छ ।

उपप्रवक्ता फर्हान हकका अनुसार, उक्त आक्रमण राजधानी न्यालाबाट करिब १५० किलोमिटर दक्षिणपश्चिममा भएको थियो । डारफुर र कोर्डोफान क्षेत्रमा बढ्दो हिंसाका कारण नागरिकमा ज्यान हानि र क्षति तीव्र रूपमा बढ्दै गएको छ । सोही दिन नर्थ डारफुरको कुटुम शहरमा भएको अर्को आक्रमणमा पनि नागरिकको मृत्यु भएको रिपोर्ट गरिएको छ ।

महासचिवले सबै नागरिक र नागरिक पूर्वाधारमाथि हुने आक्रमणको कडा निन्दा गर्दै सबै पक्षलाई अन्तर्राष्ट्रिय कानून र मानवअधिकारको पालना गर्न अनुरोध गर्नु भएकाे छ। सुडानको गृहयुद्धको एक हजार दिन पुगेको अवस्थामा गुटेरेसले सबै प्रभावशाली राष्ट्रहरूलाई युद्ध तुरुन्त रोक्न र हतियार आपूर्ति बन्द गर्न पहल गर्न आग्रह गर्नु भएकाे छ । उहाँले सबै पक्षलाई तत्काल शत्रुता रोकेर वार्ता पुनः सुरु गर्न, दीर्घकालीन युद्धविराम कायम गर्न र समावेशी राजनीतिक प्रक्रिया अघि बढाउन आग्रह गर्नु भएकाे छ।

यस द्वन्द्वमा दशौं हजार नागरिकको मृत्यु र करोडौं विस्थापित भएका छन्। जसले विश्वकै ठूलो मानवतावादी सङ्कटमध्ये एक सिर्जना गरेको छ ।