जनता टाइम्स

८ पुष २०८२, मंगलवार १९:३०

शीतलनिवासमा जुट्यो निर्वाचन सफल बनाउने समझदारी, अब बालुवाटार बैठकपछि आउनेछ सहमतिको प्रष्ट खाका


काठमाडौं, पुस ८ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनको वातावरण बनाउने कामलाई दिनुभएको निरन्तरता सकारात्मक दिशातर्फ उन्मुख बनेको छ ।

सरकार र दलहरूबिच निरन्तर पुलको काम गर्दै आउनु भएका राष्ट्रपति पौडेलले मंगलवार सरकार र विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेताको छलफल गराएर निर्वाचनको लागि सकारात्मक वातावरण निर्माण गर्न सफल हुनुभएको हो ।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि गठित सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपनि हालसम्म वातावरण बन्न सकिरहेको छैन । यही कारण राष्ट्रपति पौडेलले मंगलवार प्रधानमन्त्री सुशीला कार्कीसहित निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष रहनुभएका नवगठित दल नेकपाका संयोजक प्रचण्डबीच सघन वार्ता गराउनु भएको छ ।

सो छलफल निकै सकारात्मक रहेको र सबै दल सहमत भई निर्वाचन सफल बनाउने समझदारी जुटेको शीतलनिवासले जनाएको छ । यस्तै छलफलपछि अव प्रधानमन्त्री निवास बालुवाटारमा विस्तृत छलफल गरी ठोस निष्कर्ष निकाल्ने सहमति जुटेको छ । ‘राष्ट्रपतिले बोलाउनु भएको वार्तामा फागुन २१ गते नै निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ,’ शीतलनिवास स्रोतले जनताटाइम्स डटकमसँग भन्यो ।

स्रोतका अनुसार छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत चुनाव हुने वातावरण बन्दा आफूहरू चुनावमै जाने तर वर्तमान सरकारको वैधानिकताका लागि संसद् पुनःस्थापना गरी संविधानमै व्यवस्था गर्न उपयुक्त हुने धारणा राख्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपराह्न प्रधानमन्त्री कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री देउवा, नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा निर्वचनको विकल्प छैन भन्ने सहमति भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभएको छ ।

पोखरेलका अनुसार चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी बनेको छ । छलफलमा राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसहितको छलफलपछि तीन दलका शीर्ष नेतासँग पुनः छलफल गर्नुभएको छ । दलका नेताहरू सरकारको गतिविधि र अध्यादेशको विषयमा असन्तुष्ट बनेको बेला राष्ट्रपतिले छुट्टै छलफल गर्नुभएको स्रोतको भनाई छ । सोही कारण राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतासँग छलफल गर्नुभएको हो । सो छलफलमा राष्ट्रपति पौडेलले राजनीतिक दलहरू चुनावको विरुद्धमा जाने कुरा उचित नहुने भन्दै संविधानलाई लिकमा ल्याउन चुनाव नै अनिवार्य रहेको धारणा राख्नुभएको छ ।

शीतलनिवास स्रोतका अनुसार मंगलवारको वार्तामा सरकार र प्रमुख दलका नेताबिच कायम रहेको संवादहीनता तोडिएको छ । प्रधानमन्त्री कार्की नै अगाडि सरेर नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री ओलीलाई महाधिवेशनबाट भारी मतका साथ पुनः अध्यक्ष चयन हुनुभएकोमा बधाई दिएर संवादको थालनी गर्नुभएको थियो । उहाँले आफू कुनै आग्रह-पूर्वाग्रह बिना सहकार्यमार्फत निकासका लागि लागिपरेको र विगतमा आएका कतिपय विवादित कुरा आफूबाट नभएको प्रष्ट पार्नुभएको छ ।